
काठमाडौं : सिंहदरबार क्षेत्रमा आज जेनजी आन्दोलनकारी र प्रहरीबीच धरपकड तथा धकेलाधकेल भएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्दा स्थिति तनावपूर्ण बनेको हो ।
विकेश साह र मिराज ढुंगानासहितका दर्जनौं युवा टोली सिंहदरबार पुगेर मागपत्र बुझाउन खोजेका थिए । तर सुरक्षाकर्मीले गेटमै रोकेपछि उनीहरूले नाराबाजी सुरु गरेका थिए । प्रहरीको रोकावटपछि बिजुलीबजार पुल हुँदै विभिन्न प्रवेशबिन्दाबाट सिंहदरबार छिर्न प्रयास गर्दा अनामनगर, हनुमानस्थान, बिजुलीबजार र सिंहदरबार क्षेत्रमै धकेलाधकेली भएको प्रहरी स्रोतले जनाएको छ ।
प्रदर्शन लामो समयसम्म जारी रहँदा आन्दोलनकारीहरूले कालो पट्टी बाँधेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई “जेनजी हत्यारा” भन्दै कारबाहीको माग गरे । साथै भ्रष्टाचार विरुद्ध कारबाही गर्न सरकार अनिच्छुक रहेको आरोप समेत लगाए ।
जेनजी नेपालका अध्यक्ष विकेश साहले सरकार विदेशी प्रभावमा चलेको दाबी गर्दै भने, “हामी शान्तिपूर्ण रूपमा मागपत्र बुझाउन आएका हौं, तर प्रवेश नै दिइएन ।”
साहले जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्ने, आन्दोलनका मूल माग सम्बोधन गर्नुपर्ने र वर्तमान संविधान तथा व्यवस्थाले समस्या समाधान गर्न नसक्ने हुँदा अन्तरिम संविधान र अन्तरिम सरकारको बाटो अपनाउनुपर्ने धारणा राखे ।
त्यसैगरी, मिराज ढुंगाना नेतृत्वको ‘गरिखान देऊ’ समूहले सरकारले निष्पक्ष रूपमा काम नगरेकाले तत्काल राजीनामा दिनुपर्ने टिप्पणी गरेको छ । ढुंगानाले भने, “माग सम्बोधन गर्ने इच्छा छैन, संवादमा बस्दैन, उल्टै दमन गर्छ । यदी भ्रष्टाचारी र जेनजी हत्यारामाथि कारबाही गर्न सक्दैन भने प्रधानमन्त्रीले पदमा बसिरहनु भएन ।”
जेनजी युवाहरू सोमबार पनि सिंहदरबार प्रवेश गर्न खोजेका थिए । प्रवेश नपाएपछि उनीहरूले गेटमै मागपत्र टाँसेर फर्किएका थिए । माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ ।