
काठमाडौं : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् ।
प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनका लागि मंगलबारसम्म ६८ वटा दल दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रवक्ता भट्टराईका अनुसार हाल आयोगमा दर्ता कायम रहेका दलहरुको संख्या १ सय ३२ पुगेको छ ।
आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । उनले बाँकी सबै राजनीतिक दलहरूलाई समेत निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता हुन आह्वान गरे ।
प्रवक्ता भट्टराईले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि बताए ।
उनले विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानुन बनिसकेपछि निश्चित हुने पनि बताए । उनले स्वच्छ, निष्पक्ष र भयरहति वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताए ।