
काठमाडौं : साहुजी ! ‘चुरोट तान्दिम् त’ साथमा चिया पनि है । कलेजको पोसाकमा आएका एक हुल ‘टिनएजर’ले यसरी नै अर्डर गरे । अनि पुस्तक र नोटबुकले भरिएको ब्याग साइड लगाउँदै क्याफेमा बसे । क्याफेमा अन्य पाका मानिस थिए तर उनीहरूका लागि कलेज पोसाकमै चुरोट मागाउनु, पिउनु सामान्य भइसकेको थियो ।
क्याफेका साहुले चुरोट दिए, साथमा चिया पनि टेबलमा राखिदिए । चुरोटको सर्को तान्दै गफिन थाले । उनले साथीहरूलाई भन्दै थिए, ‘के गर्नु देशमा भविष्य छैन ।’ चुरोटको धुवाँ सबैतिर फैलियो । त्यहाँ बसेका मानिस कोही नाक खुम्चाउन थाले त कसैले हातले चुरोटको धुवाँ पन्छाउन थाले । तर उनीहरू बिनामतलब चुरोटको सर्को तान्दै धुवाँ फाल्दै गए ।
त्यसैक्रममा एक टिनएजरले भने, ‘चुरोट तानेको बाउले थाहा पाए भने मार्छन् ।’ उनले आफ्नो नाम खुलाउन चाहेनन् । व्यवस्थापक संकाय लिएर कक्षा ११ मा अध्यनरत छन् उनी । घरमा बुबा र दाइले चुरोट तान्ने गरेकाले आफूले पनि रहरले चुरोट पिउने गरेको बताए । ‘चियासँगै चुरोट पिउन आनन्द लाग्छ अहिले त बानी लागिसक्यो,’ उनले भने ।
सँगै व्यस्थापन संकायमा कक्षा १२ मा अध्यनरत अर्का विद्यार्थी छन् । उनी भने साथीहरूले चुरोट तानेको देखेर रहर लागेपछि आफूले पनि चुरोट तान्न सिकेको बताउँछन् । साथीहरूसँग भेटघाट गर्ने चुरोट तान्ने र टाइम पास गर्ने गरेको बताए । घरपरिवारमा कसैले चुरोटको नतानेको तर साथीको लहलहैमा लागेर चुरोट तान्ने गरेको उनले बताए । सुरुसुरुमा चुरोट तान्न लाज लागे पनि हिजोआज कुनै अफ्ठेरो नलाग्ने गरेको उनले बताए । ‘घर परिवार र आफन्त अनि शिक्षकहरूले पनि चुरोट तानेको देखिसक्नुभएको छ, अरूको मतलब छैन,’ उनले भने ।
पछिल्लो समय यसरी नै चुरोटको लतमा फसेका छन् टिनएजरहरू । सामान्य चिया होटल, क्याफे,सम्म टिन एजरहरू नै चुरोटको धुवाँमा मस्त देखिन्छन् । दैनिक २५ बट्टाको हाराहारीमा शिखर चुरोट बेच्ने गरेको बागबजारस्थित चिया क्याफे सञ्चालक अशोक न्यौपानेले बताउँछन् । त्यसै हाराहारीमा सूर्य चुरोट पनि बेच्ने गरेको उनको भनाइ छ । अधिकांश विद्यालय तहका विद्यार्थीहरू क्याफेमा चुरोट माग्न आउने गरेको उनले बताए ।
दरबारमार्गस्थित लुम्बिनी खाजा घरका सञ्चालक महेश श्रेष्ठले त झनै १७/१८ वर्षका विद्यार्थी नै बढी चुरोट माग्न आएको देखेर पसलमा नै कुनै समय चुरोट नराखेको किस्सा सुनाए । स्कुल कलेजका पोसाकमा नै टिनएजर चुरोट माग्न आउन थालेपछि केही समय त मैले चुरोट नै राख्न बन्द गरे,’ उनले भने ।
वरपरका क्याफेहरूमा चुरोट बिक्री भइरहेपछि आफ्नो होटल सुक्न थालेपछि पुनः चुरोट बेच्न थालेको उनले बताए । स्कुले विद्यार्थीहरूले चुरोट तानेको देख्दा दुःख त लाग्छ तर के गर्नु एउटाले मात्रै चुरोट बेच्न बन्द गरेर मात्र नहुँदो रहेछ,’ उनी दुःख पोख्छन् ।
पछिल्लो समय टिनएजमा धुम्रपान गर्नेहरूको एउटा लहड नै छ । चुरोटको प्याकेटमै तस्बिरसहित लेखिएको हुन्छ– ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’ तर पनि त्यसलाई ख्यालै नगरी चुरोट तानिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो आर्थिक वर्षमा २९ हजार २ जनाले धुम्रपान सेवनवाट ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले धुम्रपान गर्ने व्यक्तिमा मस्तिष्क घात, श्वासप्रश्वासमा समस्यालगायत रोग बढिरहेको बताउँछन् ।