
चितवन : जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३ सय ८६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । यही मंगलबारसम्म यहाँका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच हजार ४५३ जनाको नमुना परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्ये २९० जना चितवनका हुन भने ९६ जना चितवन बाहिरका रहेका छन् । चितवनका १९५ जना महिला र ९५ जना पुरुषमा यो रोगको संक्रमण देखिएको हो । साउनयता अस्पतालमा उपचारका लागि आएकामध्ये यो रोगको संक्रमण जिल्ला बाहिरका २४ जना पुरुष र ७२ जना महिलामा देखिएको छ ।
संक्रमितमध्ये सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका रहेका छन् । यस पालिकामा १०८ जनामा स्क्रब टाइफस देखिएको हो । यस्तै, खैरहनी नगरपालिकामा ६८ जना, राप्ती नगरपालिकामा ३७ जना, कालिका नगरपालिकामा ३६ जना, भरतपुर महानगरपालिकामा २९ जना, माडी नगरपालिकामा पाँच जना र इच्छाकामना गाउँपालिकामा सात जनामा यो रोग देखिएको कार्यालयले जनाएको छ ।
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गरेको केसीले बताए ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने उनले बताए ।