
कोही छन् महलमा कोही छन् खेतबारीमा पसिना चुहाउँदै,
कोही रुन्छन् सडक गल्लीमा त कोही सवार आलिसान गाडीमा,
न त पेट भर्ने अन्न छ कसैको, न त आड र भरोसा यो जीवनमा,
सधैँ पटुकी र गुन्यु चोली अनि भरोसा उही धरती अनि गगनमा
हरेक पल छटपटाहट अनि चञ्चल मन, उत्पीडन र जलन,
गरिबको आखिर बोल्ने को रहेछ र, यस्तै छ यहाँको चलन !
नेताको मन बदलिने नीति उही तर भाषणमा शब्द बहाउँदै,
विकासको नारा गुन्जिन्छन् तर मेटिँदैन भोक सपनाले,
विदेशीको दैलो चाहर्दा गर्व हराइसक्यो आत्मसम्मानले,
स्वाधीनताको यो देशमा विदेशी हुकुम यही छ शासन विधान,
जनताको आँसु संसदमा हाँसो, दलदलमा हरायो यो मन
मातृभूमिमा लात हान्दै अझ कराउँछन्, यस्तै छ यहाँको चलन !
युवा बिदेसिए पेटको लागि आमा र बाबाको मन कुँडाउँदै,
बगाए पसिनाको धारा मनभरी सुन्दर भविष्यको सपना सजाउँदै,
तर मौन भएर पनि चर्को चिच्याहट विवेकको छैन सुनुवाइ,
नीति र नैतिकता हराएको देशमा धर्म पनि भयो व्यापारको कमाई,
एक दिन यी आँसुहरूले बाटो देखाउने छन् बदलिने छ यो जीवन,
तर विवेकहीन यो समाजको कर्तुत हेर्दा लाग्छ यस्तै छ यहाँको चलन !
उज्यालो सहर अन्धकार ती मनहरू कपटको जालमा रुमलिएका छन्,
सत्य बोल्न डराउनुपर्ने यो समाजमा झुटको सम्मान पचाएका छन्,
मौन भएर पनि चर्को चिच्याहट विवेकको छैन सुनुवाइ,
नीति र नियम हराएको देशमा धर्ममा पनि हुने व्यापारको कमाई,
एक दिन यी आँसुहरूले बाटो देखाउने छन् र बदलिने छ जीवन,
तर आशाको घाममा लाग्ने छ झड्का, यस्तै छ यहाँको चलन !
यस्तै छ यहाँको चलन !