
कविता लेख्दै छु म;
पर्खालमाथिको बन्दी भएर होइन,
मानवताको घोषणापत्रको सास्ट्रा भएर ।
शब्दहरू अब गहना होइनन्;
यो युगमा कविता हतियार हो,
औजार हो, चेतना हो ।
धर्मको खोल फुकालेर
मानवताको स्वर
उनेको छु; तिमीले रचेका देवीदेवता
किन मौन छन् बलात्कृत चेलीको चीत्कारमा ?
किन निदाउँछन्
कुपोषित टुहुराको रोदनमा ?
सहर उज्यालो छ;
अन्धविश्वासले टल्किएको ।
तर गोठ, गल्ली र गौँथली
अझै अन्धकारमा डुबेका छन् ।
अब कविता फूलेको फूल होइन,
घुस पैठिएको झ्यालबाट छिरेर
अन्धकार चिर्ने बिजुली हो ।
म अब लेख्छु; जहाँ मन्दिर ठड्याउँथ्यौँ,
त्यहाँ विद्यालय बनोस् ।
जहाँ चर्च थियो, अस्पताल होस् ।
जहाँ मस्जिद थियो,
विज्ञान प्रयोगशाला उठोस् ।
जहाँ धर्मगुरुहरू बस्थे,
त्यहाँ श्रमिकका उद्योगहरू फस्टाउँछन् ।
अब सन्देश गुन्जनुपर्छ;
विद्यालयको ढोकाबाट,
श्रमिकको पाखुराबाट,
महिलाको आँसुबाट,
र दलितको रगतबाट ।
अब कविता वियोगी छैन,
न श्रृंगारको पुलिन्दा;
अब कविता चर्को भाषण होइन,
धारिलो संगीन हो;
सत्ताको कर्कश नशा चिर्ने,
अन्धविश्वासको महल भत्काउने ।
कविता अब
कान्ति पथको भीड होइन,
कृषकको सुस्केरो हो;
श्रमिकको झोलामा थन्किएको भोक,
र त्यही भोकबाट फुटेको विवेक हो ।
म लेख्दै छु आज;
सत्यलाई, विज्ञानलाई, विद्रोहलाई ।
तिमीले बिर्सिएको विवेकलाई
फेरि सम्झाउने प्रयत्न गरिरहेछु ।
कविता अब श्रृंगार होइन;
युग बदल्ने उत्तरदायित्व हो ।
शब्द अब अस्त्र हो न्यायको;
सम्बोधन हो क्रान्तिको बिगुल,
र भावनाको जागरण हो !