
लण्डन : बेलायतका राजकुमार एन्ड्रूको आफ्नो ‘राजकुमार’ उपाधि खोसिएको छ ।
बकिङ्गम प्यालेसले बिहीवार बेलुका एक विज्ञप्ति जारी गर्दै राजा चाल्र्सका भाइ अब एन्ड्रू माउन्टब्याटन विन्ड्जर नामले मात्रै चिनिने जनाएको छ ।
एक नाबालिगलाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा दोषी ठहर भएका जेफ्री एप्स्टीनसँग घनिष्ठता भएको देखिएपछि छानबिनमा परेका उनले राजकीय आवास ‘रोयल लज’ पनि छाड्नुपर्ने भएको छ ।
उनको निजी जीवनबारे अनेकौँ प्रश्न उठेपछि एन्ड्रूले ’ड्यूक अफ योर्क’सहितका अन्य राजकीय उपाधिहरू यसअघि नै परित्याग गरेका थिए ।
यही महिनाको आरम्भमा प्रकाशित संस्मरणमूलक पुस्तकमा भर्जिनिया जूफ्रेले आफूले किशोरावस्थामा राजकुमार एन्ड्रूसँग तीन पटक यौन सम्बन्ध राखेको दाबी दोहोर्याएकी छन् । उक्त पुस्तक मरणोपरान्त प्रकाशित भएको हो । एन्ड्रूले उक्त आरोप सधैँ खण्डन गर्दै आएका छन् ।
अहिले विकसित घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै जूफ्रेको परिवारले उनले ‘आफ्नो सत्य र असाधारण आँटका कारण बेलायतका राजकुमारलाई उपाधिविहीन बनाएको’ बताएको छ । जूफ्रेले यसै वर्षको आरम्भमा आत्महत्या गरेकी थिइन् ।
औपचारिक प्रक्रिया सुरु
राजाबाट ‘राजकुमार एन्ड्रूका राजकीय पद, उपाधि र सम्मानहरू हटाउने औपचारिक प्रक्रिया’ सुरु भएको राजदरबारले जनाएको छ ।
उनको राजकीय उपाधिसँगै राजकीय आवास ‘छोड्नका लागि औपचारिक सूचना पनि दिइएको’ दरबारले जनाएको छ ।
उनी राजा चाल्र्सले किनिदिएको ठानिएको सान्ड्रिङ्गम इस्टेटस्थित निजी आवासमा सर्ने छन् ।
एन्ड्रूले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका भए पनि यस्ता कारबाही आवश्यक भएको राजदरबारले जनाएको छ ।
राजदरबारले ‘सबै प्रकारका दुर्व्यवहारका’ पीडितमाथि आफ्नो साथ रहने जनाएको छ ।
एन्ड्रूका दुई छोरी यूजनी र बीट्रिसको राजकुमारी उपाधि यथावत् रहने छ ।
जूफ्रेको संस्मरणमा यौन दुर्व्यवहारको आरोप प्रकाशित भएपछि राजकुमारको जेफ्री एप्स्टीनसँगको सम्बन्धको विषय पुनः बहसको विषय बनेको थियो ।
एन्ड्रूले जूफ्रेसँग दुर्व्यवहार गरेको आरोप अस्वीकार गर्दै आएका थिए । एन्ड्रूले एप्स्टीनसँग आफ्नो सम्बन्ध पहिल्यै अन्त्य भएको दाबी गरेका थिए । सन् २०११ का इमेलहरू फेरि बाहिरिएपछि उनी एप्स्टीनसँग सम्पर्कमा रहेको पुष्टि आधार बनेको थियो ।