–ईश्वर बुढाथोकी
विश्वको राजनीतिक र सामाजिक संरचनामा कूटनीति एउटा अत्यन्त संवेदनशील र जटिल क्षेत्र हो । देश र देशबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय संस्थाहरूको आपसी तालमेल र बहुपक्षीय वार्ताहरूको सफलतामा कूटनीतिक भाषाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । कूटनीतिक भाषालाई सामान्य सञ्चारको भाषाभन्दा भिन्न मानिन्छ किनभने यसमा प्रयोग हुने शब्द, वाक्य संरचना, अभिव्यक्ति र हावभावले मात्र सम्बन्ध निर्माण गर्दैन, बरु भविष्यका घटनाक्रमलाई समेत निर्णायक ढंगले प्रभाव पार्न सक्छ । कूटनीति भनेको केवल सम्झौता गर्ने वा राजनीतिक लाभ लिने माध्यम मात्र होइन, यो भाव, इसारा र व्यवहारमार्फत आपसी विश्वास कायम गर्ने कला पनि हो । त्यसैले कूटनीतिक भाषाबारे गहन बुझाइ हुनु आजको अन्तर्राष्ट्रिय समाजमा आवश्यक देखिन्छ ।
कूटनीतिक भाषामा शब्दको छनोटदेखि लिएर स्वर, ताल र हावभावसम्म महत्वपूर्ण मानिन्छ । एउटा शब्द गलत तरिकाले प्रयोग भए वा अनावश्यक रूपमा कठोर भाषाशैली अपनाइयो भने सम्बन्धमै संकट आउन सक्छ । उदाहरणका लागि, ‘चासो’ र ‘चिन्ता’ भन्ने दुई शब्दलाई लिएर हेर्दा कूटनीतिक भाषामा ठुलो फरक पर्छ । कुनै राष्ट्रको आन्तरिक मामिलाबारे अर्को राष्ट्रले ‘चासो छ’ भन्यो भने त्यो अपेक्षाकृत सौम्य संकेत मानिन्छ तर ‘गहिरो चिन्ता व्यक्त गर्दछौं’ भनियो भने त्यसलाई आलोचनाको रूपमा ग्रहण गरिन्छ । यसरी सानो भाषिक भिन्नताले पनि ठुलोे मनोवैज्ञानिक प्रभाव पार्छ ।
यस्तैगरी, कूटनीतिक भाषामा प्रत्यक्ष आरोप लगाउने शैलीलाई असभ्य र अस्वीकार्य मानिन्छ । ‘तिमीले गल्ती गर्यौ’ भन्ने सीधा आरोपले वार्ता तनावपूर्ण बनाउँछ तर ‘हाम्रो बुझाइमा केही गलत भएको हुन सक्छ’ भन्ने वाक्यले वातावरणलाई सहज बनाउँछ । कूटनीतिमा नरम भाषाले द्वार खोल्छ भने कठोर भाषाले ढोका बन्द गरिदिन्छ भन्ने बुझाइ गहिरो छ । त्यसैले असहमतिका बाबजुद पनि सभ्य र विनम्र अभिव्यक्तिलाई उच्च मूल्य दिइन्छ ।
कूटनीतिक भाषामा हाउभाउको पनि ठुलोे भूमिका हुन्छ । नेताहरूबिचमा हात मिलाउने शैली, आँखाको सम्पर्क, शरीरको भंगीमा, समयमै उठ्ने–बस्ने अनि भेटघाटका क्रममा प्रयोग हुने अनुहारको भाव सबैलाई नजिकबाट नियालिन्छ । उदाहरणका लागि, कसैको स्वागत गर्दा मुस्कान दिनु सकारात्मक संकेत हो भने अनुहार कठोर बनाएर बस्नु अस्वीकृतिको संकेत मानिन्छ । वार्तामा बोल्नुपर्ने समयमा मौन बस्नु पनि सन्देश नै हो, जुन कूटनीतिक वृत्तमा ध्यानपूर्वक व्याख्या गरिन्छ ।
अर्कोतर्फ, कूटनीतिक भाषामा ‘सावधानी’ भन्नाले अत्यन्त महत्व राख्छ । यहाँ खुला रूपमा सबै कुरा भन्नु हुँदैन, बरु संकेत, सम्भावना र शब्दहरूको तहमा अर्थ दिनुपर्छ । प्रायः ‘हामी यसबारे विचार गर्दैछौं’, ‘हामी समयमै प्रतिक्रिया दिनेछौं’ वा ‘समाधान खोज्ने प्रयास भइरहेको छ’जस्ता वाक्य प्रयोग हुन्छन् । यी वाक्यहरूले प्रत्यक्ष जवाफ नदिए पनि सम्बन्धलाई खराब हुन नदिने किसिमले ढाकछोप गर्ने काम गर्छन् ।
राम्रो कूटनीतिक भाषा भन्नाले सम्मानजनक, सन्तुलित, स्पष्ट तर मितव्ययी अभिव्यक्ति हो । यसले आफ्नो पक्ष प्रस्तुत गर्दा अर्काको गौरवमा चोट पु¥याउँदैन । यसले असहमतिको अवस्थालाई पनि संवादतर्फ डो¥याउँछ । उदाहरणका लागि, कुनै विवादित मुद्दामा ‘हामी दुवै देशले साझा हितलाई प्राथमिकता दिनुपर्छ भन्ने विश्वासमा छौं’ भन्नु सकारात्मक मानिन्छ । यसमा असहमति पनि संकेत हुन्छ तर समाधानतर्फ उन्मुख भावनात्मक ऊर्जा पनि हुन्छ ।
नराम्रो कूटनीतिक भाषा भनेको आरोप, धम्की, उपहास वा असभ्य शब्द प्रयोग गर्नु हो । यस्तो भाषाले सम्बन्धमा दरार ल्याउँछ र द्विपक्षीय वा बहुपक्षीय संवादलाई अविश्वसनीय बनाउँछ । उदाहरणका लागि, ‘यदि तपाईंहरूले हाम्रो कुरा मान्नु भएन भने हामी सम्बन्ध तोड्छौं’ भन्ने चेतावनीलाई सकारात्मक कूटनीति मानिँदैन । बरु ‘यदि हाम्रो चिन्ताहरू सम्बोधन भएनन् भने भविष्यमा चुनौती उत्पन्न हुन सक्छ’ भन्ने शैलीलाई बढी कूटनीतिक मानिन्छ ।
द्विपक्षीय सम्बन्ध बिगार्ने प्रमुख व्यवहारहरूमा घमण्डपूर्ण बोली, अर्काे पक्षलाई सानो देखाउने संकेत, अनुचित समयमा कठोर प्रतिक्रिया दिनु र कूटनीतिक प्रोटोकलको बेवास्ता गर्नु हो । कुनै राष्ट्रको राष्ट्रिय प्रतीक, धर्म वा संवेदनशील विषयमा अनावश्यक टिप्पणी गर्नु कूटनीतिक दृष्टिले ठुलोे गल्ती मानिन्छ । त्यस्तै, सहमतिमा पुगेको कुराबाट पछि हट्ने, वा गोप्य वार्ताको कुरा बाहिर ल्याउने व्यवहार पनि विश्वासको संकट निम्त्याउने कारक हुन्छन् ।
कूटनीतिक भाषाले सधैं बहुस्तरीय अर्थ बोकेको हुन्छ । बाह्य रूपमा साधारण देखिने वाक्य वा शब्दले आन्तरिकरूपमा ठुलोे संकेत गर्न सक्छ । उदाहरणका लागि, ‘हामी सहयोगको अपेक्षा गर्छौं’ भन्ने वाक्य केवल अनुरोध मात्र होइन, कहिलेकाहीँ दबाबको संकेत पनि हुन सक्छ । त्यसैले कूटनीतिक वार्ताकारहरूलाई भाषाको तह र छायालाई छुट्याउने दक्षता आवश्यक हुन्छ ।
आजको विश्वमा कूटनीतिक भाषाको आवश्यकता अझै बढेको छ । युद्ध, व्यापार विवाद, पर्यावरणीय संकट, आप्रवासन समस्या, प्रविधि नियन्त्रण र मानवअधिकार जस्ता जटिल विषयमा समाधान खोज्दा भाषाको महत्व अझ बढी देखिन्छ । छोटो, भावनात्मक वा कठोर अभिव्यक्तिले सम्बन्धलाई जटिल बनाउन सक्छ भने धैर्य, विवेक र सूक्ष्मतापूर्ण भाषाले समस्या समाधानतर्फ मार्ग खोल्छ ।
कूटनीतिक भाषामा एक अर्को पक्षको संवेदनशीलतालाई बुझेर बोल्न सक्नु नै सफलता हो । यसले केवल तत्कालीन वार्तालाई मात्र सहज बनाउँदैन, दीर्घकालीन सम्बन्धलाई स्थिर र मित्रवत बनाउँछ । यसको अभावमा भने सम्बन्ध कमजोर हुन्छ, आपसी विश्वास हराउँछ र सानो विवाद पनि ठुलोे संकटमा परिणत हुन सक्छ ।
नेपालजस्ता साना मुलुकका लागि कूटनीतिक भाषाको महत्व झन् गहिरो छ । यदि कूटनीतिक सम्बन्धलाई सन्तुलनमा राख्न सके बहुआयामिकरूपमा फाइदा लिन सकिन्छ । यदि नेपालले दक्षिणी छिमेकी देश भारत र उत्तरी छिमेकी देश चीनसँग सन्तुलनको सम्बन्ध राख्न सकेमा आफ्नो बृहत्तर हित सुरक्षित गर्न सक्छ । नेपालले कुटनीतिक रूपबाटै आफ्ना स्वार्थलाई सुरक्षित गर्दै देशको विकास गर्न सक्छ । बाह्य सम्बन्ध मात्रै होइन, आन्तरिक विषयलाई पनि सन्तुलन कायम राख्न सक्छ । नेपालको सन्दर्भमा कूटनीतिक विषयले बहुआयामिक महत्व राख्छ ।
यसरी कूटनीतिक भाषा केवल शब्दहरूको खेल होइन, यो रणनीति, कला र अन्तर्राष्ट्रिय सम्बन्धको मेरुदण्ड हो । कूटनीतिमा भाव र हरकतलाई सूक्ष्म दृष्टिले नियाल्ने, कस्तो भाषा राम्रो मानिन्छ र कस्तो हानिकारक ठहर्छ भन्ने बुझाइले मात्र मुलुकको हैसियत सुरक्षित रहन्छ । सम्मान, धैर्य, विवेक र सूक्ष्मताको साथ प्रयोग गरिने कूटनीतिक भाषाले मित्रता र सहयोगको मार्ग खोल्छ भने असभ्यता, घमण्ड र हतारको भाषाले द्विपक्षीय सम्बन्धलाई नोक्सान पु¥याउँछ । त्यसैले कूटनीतिक भाषालाई शुद्ध, सभ्य र संतुलित बनाउन सक्नु नै अन्तर्राष्ट्रिय समाजमा दिगो प्रतिष्ठाको आधार हो ।