रौतहट : गौर हत्याकाण्डका फाइल खोल्न अदालतले आदेश दिए लगत्तै रौतहटसहित मधेशका बिभिन्न क्षेत्रमा पक्ष र विपक्षमा विरोध प्रदर्शन भएको छ ।
सोमबार साँझ जसपाका कार्यकर्ताहरुले गौरको मधेशी क्रान्ति चौकमा टायर बालेर विरोध गरे । नेताहरुले राजनीतिबाट प्रेरित रहेर विषय अगाडि बढेको भनेर खबरदारी गरे ।
लोसपा नेपालका नेता अनिल सिंह अदालतको आदेश सुनियोजित रहेको आरोप लगाउँछन् । ‘हामी गजेन्द्र नारायण सिंहको स्कुलिङबाट आएको शान्तिमा बिस्वास राख्ने राजनितिक व्यक्ति हौ । अधिकार पहिचानको लडाई चलिरहन्छ’ उनले भनेका छन् ।
अर्का नेता बबन सिंह नेपाललाई अस्थिर गराउन र द्वन्द बढाउन देशी बिदेशीहरूले दुस्साहस गरिरहेको बताउँछन् ।
जसपा नेपालका नेता योगेन्द्र यादव मधेशालाई पुनः द्वन्दमा धकेल्ने प्रयास भएको बताउँछन् । मधेशवादी शक्तिलाई कमजोर बनाउने प्रयास भएको उनको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी उपरीक्षक नेत्रमणि गिरि ‘संचार माध्यमहरुबाट खबर पाएको’ बताउँछन् । उनको जवाफ छ, ‘अदालतले पत्र पठाएपछि त्यसको अध्ययन गरेर आवश्यक प्रक्रिया थालिन्छ ।’
आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साह भने ‘सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन गरेको आदेशबाट न्यायको जीत भएको’ प्रतिक्रिया दिन्छन् ।
तत्कालिन माओवादी नेता तथा हाल आम जनता पार्टीका नेता अमर साह पनि ‘सर्वोच्चको निर्णयले पीडितले न्याय पाउने वातावरण बनेको’ बताउँछन् ।
प्रतिक्रिया जस्तै मधेशका बिभिन्न जिल्लामा सर्वोच्च अदालतको आदेशको पक्ष र विपक्षमा प्रदर्शन भएका छन् ।