२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

भुइँ तहमा विद्याको दौड

shivam cement
जीवन शर्मा
२०८२ भदौ ३ गते ०६:३०
भुइँ तहमा विद्याको दौड

काठमाडौं : नेकपा एमालेकी पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर दिनेगरी सक्रियता बढाएकी छन् । सोमबार कोशी प्रदेशको राजधानी विराटनगर पुगेकी उनले एमालेसँग आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गराउँदै एमालेकै नीति–कार्यक्रमअनुसार अघि बढ्ने दाबी गरेकी हुन् ।  

तर एमाले पार्टीले भण्डारीको संगठित सदस्यता स्थगत गर्ने निर्णय गरिसकेको छ । एमालेको साउन ५–६ मा बसेको नवौं केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सदस्यता नवीकरण नगरेर पार्टीमा आउन निषेध गरेको उनीनिकटका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । उनको सदस्यतासमेत खारेज गरेर अध्यक्ष ओलीले पार्टीका कुनै पनि गतिविधिमा सहभागी हुन नदिन केन्द्र, प्रदेश तथा जिल्लास्तरका नेता कार्यकर्तालाई कडा निर्देशन नै दिएका थिए । 

एक वर्षअघि नै पार्टी सदस्यता नवीकरण गरे पनि आगामी पार्टी नेतृत्वको सोच बनाएर राजनीतिक यात्रालाई थप सक्रिय बनाउने घोषणा गरेपछि एमालेले उनको सदस्यतामै रोक लगाएर अपमान गरेको भन्दै भण्डारीनिकट नेता विनोद ढकालले बताए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको योजना र निर्देशनअनुसार नवीकरण गरिएको सदस्यतासमेत स्थगन गरिएको ढकालको भनाइ छ । 

तर भण्डारीले पार्टीको निर्णयलाई आधिकारिक नमानेको दाबी गरेकी छन् । आफूलाई सदस्यता नदिने भन्ने पार्टीको आधिकारी निर्णयबारे थाहा नभएको भन्दै आफू अहिले पनि एमालेकै कार्यर्ता भएकाले एमाले हितमा अभियान चलाउने दाबी गरिन । ‘एमालेले आफूलाई स्वीकार नगरे पनि आफू एमाले नै हुँ,’ उनले भनिन् ‘मैले राष्ट्रपतिको पदावधि सक्किएपछि पार्टीको सदस्यता नवीकरण गरेको हो । अहिले एउटा संगठित सदस्यको हैसियतले काम गरिरहेको छु ।’

यता पार्टीका अधिकांश पदाधिकारी र केन्द्रीय सदस्य ओलीकै पक्षमा खुलेर लागेका छन् । उनीहरूले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताप्रति कटाक्ष गर्दै आएका छन् । पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकबाट भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय भएकाले फेरि सदस्यता कायमै छ भनेर हिँड्नुको औचित्य नरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘पार्टी बैठकबाटै सर्वसहमतिले गरेको उहाँको सदस्यता स्थगन गर्ने विषयलाई उचालिरहनु आवश्यक छैन,’ उनले भने, ‘पार्टीले सेनाको परामाधिपतिको सम्मान दिएको व्यक्ति फेरि पार्टी सदस्यताका नाममा राजनीतिक गतिविधि गर्नु उचित हुँदैन । पूर्वराष्ट्रपति भण्डारी अहिले एमालेको सदस्य हुनुहुन्न ।’

विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन सोमबार विराटनगर पुगेकी भण्डारीले भने ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै आफ्नो सदस्यता सजिलै खोस्न नसक्ने दृढता व्यक्त गरिन् । ‘एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएकाले अहिले पनि एमालेकै कार्यकर्ता रहिरहेको छु । मेरो ४५ वर्ष लामो एमालेसँगको आबद्धता कसैले व्यक्तिगत आवेग वा लहडका भरमा खोस्न सक्छ भन्ने मलाई लागेकै छैन ।’ भण्डारीले यसअघि नै बानेश्वरस्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयलाई आफ्नो सम्पर्क कार्यालय बनाएर पार्टीका गतिविधि अघि बढाउन थालेकी छन् । २०४८ सालमा मदन भण्डारीले काठमाडौंबाट चुनाव लड्दा सम्पर्क कार्यालय राखेकै घरमा अहिले विद्याले राजनीतिक सम्पर्क कार्यालय स्थापना गरेर देशव्यापी राजनीतिक अभियान थालेको उनीनिकट नेताहरूले बताएका छन् ।   

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भण्डारीलाई पार्टीका कुनै राजनीतिक कार्यक्रममा जान रोक्ने आदेश दिए पनि विराटनगरमा एमाले नेता कार्यकर्ताले उनलाई स्वागत गरेपछि पार्टीभित्र उनको राजनीतिक ओज थप बढ्दै गएको संकेत देखिएको छ । पार्टी नेतृत्वको निर्देशनविपरीत भण्डारीलाई स्वागत गर्न कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरू विराटनर विमानस्थलमा लाइन लागेका थिए । उनको स्वागतमा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना, एमाले नेता विनोद ढकाल, एमाले मोरङ जिल्ला सचिव सोमराज थापासमेत भण्डारीको स्वागतका लागि ‘बुके’ बोकेर विमानस्थलमा पुगेका थिए । पार्टी नेतृत्वको निर्देशनविपरीत सयौं नेता कार्यकर्ता भण्डारीको स्वागतका लागि विमानस्थल पुग्दा उनले पार्टीभित्र आफ्नो आवश्यकता ठानेको महसुस गरेकी छन् । 

भण्डारीको पछिल्लो राजनीतिक सक्रियतालाई एमालेले मन पराएको छैन । विगत ६ महिनाअघिसम्म अध्यक्ष ओलीको सबैभन्दा विश्वास पात्रका रूपमा रहेकी भण्डारीले एकाएक मूलधारको राजनीतिमा आएर भविष्यमा पार्टी नेतृत्वको दाबी गर्न थालेपछि ओली रुष्ट बनेका थिए । त्यसपछि ओलीले भण्डारीलाई पार्टीको जरोबाटै उखेल्नेगरी सदस्यता नदिने कदमलाई बैठकबाटै पारित गराएका हुन् । 

ADV

सम्बन्धित खबर

Advertise