२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

मुटुको स्वास्थ्यमा खेलबाड नगरौं

shivam cement
२०८२ भदौ २ गते ०६:००
मुटुको स्वास्थ्यमा खेलबाड नगरौं

–डा. मिलनप्रकाश श्रेष्ठ

कुनै पनि व्यक्तिमा मुटुको कोठा, मुटुको भल्व र मुटुको रक्तनलीमा हुने समस्यालाई मुटुरोग भनिन्छ । मानिसमा जन्मजात मुटुको रोग हुने गर्दछ । यसबाहेक मुटुको वाथरोग हुने, मुटुमा ब्लक हुने समस्यासमेत हुने गर्दछ । कुनै व्यक्तिमा मुटुको चाल गढवढ हुने (एरीदमिया) समस्या, मुटुले पर्याप्तरूपमा काम गर्न नसक्ने अवस्था (हार्ट फ्लेयर) समेत हुने गरेको देखिन्छ । मुटुको ब्लकलाई वास्ता नगर्दा वा समयमा उपचार नगर्दा हृदयाघात समेत हुन्छ । पहिले भन्दा पछिल्लो समय सहरी क्षेत्रमा मुटुका बिरामीको दर बढेको छ । खानपानमा पर्याप्त ध्यान नदिँदा तथा योग, ध्यान र कसरत नगर्दा यस रोगका बिरामीहरू दिनानुदिन बढ्दै गएका हुन् । सँगै, दैनिक जीवन बढी तनावपूर्ण हुँदासमेत मुटुरोग हुने गरेको छ ।

ब्लड प्रेसर र सुगरको कारणले मुटुरोग बढ्ने गरेको पाइन्छ । सुगर र ब्लड प्रेसरका बिरामी बढी हुँदा मुटुरोगका बिरामी समेत बढ्ने गरेका छन् । खासगरी मानसिक तनावको समस्या, धुमपान र मद्यपानका कारणले पनि मुटुरोग हुने गर्दछ । ब्लड प्रेसर, सुगर र कोलेस्ट्रोलको समस्या भए पनि बिरामीले हेलचक्र्याइँ गरेको पाइन्छ । यसरी हेलचक्र्याइँ गर्दा मानिसलाई ह्दयघातको समस्या देखिन्छ ।

४० वर्ष उमेर कटेका बिरामी मुटुको समस्याका कारण बढी मात्रामा अस्पतालमा आउने गरेको पाइन्छ । उक्त उमेर समूहका मानिसमा पहिलेको तुलनामा बढी मात्रामा मुटुको रोग देखिएको पाइन्छ । नियमित रूपमा चेकजाँच नगर्दा समस्या देखिने गरेको पाइन्छ । पछिल्लो समय सामाजिक सञ्जालको बढी मात्रामा प्रयोगका कारण मुटुरोगसम्बन्धी जनचेतना बढेको पाइन्छ । अक्सर मानिसहरू मुटु दुख्नासाथ अस्पताल आएर डाक्टरको परामर्श लिने गरेको पाइन्छ ।

ब्लड प्रेसरको समस्या अहिले २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिलाई पनि देखिन थालेको पाइन्छ । उक्त उमेर समूहका मानिसलाई ब्लड प्रेसरको समस्या देखिने र औषधी सुरु गर्नुपर्ने अवस्था आएको छ । उक्त उमेर समूहका कतिपय ब्लड प्रेसरका बिरामीहरू औषधी खान मान्दैनन् । ब्लड प्रेसर भएका बिरामीले समयमै औषधी खाए दुर्घटना हुनबाट बच्न सकिन्छ ।

पछिल्लो समय अनावश्यक रूपमा तनाव लिने, धुमपान तथा मद्यपानको सेवन गर्ने, पर्याप्त मात्रामा नसुत्ने, मांसाहारी खाना अत्यधिक खाने, पर्याप्त रूपमा चिल्लो पदार्थ खान गर्नाले मुटुरोगको समस्या अत्यधिक मात्रामा देखिने गरेको पाइन्छ ।

मुटुरोग भएका मानिसहरूले नियमित रूपमा प्रेसर, सुगर र कोलेस्ट्रोल जाँच गर्नुपर्ने हुन्छ । कुनै समस्या देखिहाल्यो भने डाक्टरको परामर्श लिनुपर्ने हुन्छ । यस्तै, बिरामी हुन नदिनका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । सकेसम्म शाहकारी भोजनलाई प्रोत्साहन दिनुपर्छ । शाहकारी भोजन स्वास्थ्यका लागि राम्रो कुरा हो । कुनै पनि व्यक्तिले रोग लाग्न नदिनका लागि दैनिक आधा घण्टा (३० मिनेट)देखि एक घण्टासम्म नियमित रूपमा व्यायाम गर्नुपर्छ । यस्तै, रातको समयमा ६ देखि ८ घण्टासम्म नियमित सुत्नुपर्ने हुन्छ । बिरामी हुन नदिनका लागि तनावलाई व्यवस्थापन गर्नु उत्तम उपाय हो  ।

(डा. श्रेष्ठ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise