
२०८२ भदौ २३ गते ‘नयाँपुस्ता आन्दोलन’का नाममा सुरु भएको प्रदर्शनका क्रममा कलिला विद्यार्थीको ज्यान गयो । त्यसको भोलिपल्ट २४ गते देशका मुख्य संरचना जले । भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खुलाउने उद्देश्यका साथ सुरु गरिएको शान्तिपूर्ण भनिएको आन्दोलन पछि गएर देशका प्रमुख अड्डा जलाउनेसम्मका विध्वंसमा परिणत भयो । यसअघि पनि विभिन्न स्वार्थमा क्रीडास्थल बन्न बाध्य देशलाई यसपटक पनि प्रयोग गरियो । घटना कसले र किन गर्यो भन्नेमा कसैले पनि स्पष्ट नेतृत्व लिने आँट गरेनन् । तर, २४ गतेको विध्वंसपछि देश सरकारविहीन बन्न पुग्यो ।
देशभर हिंसा भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ दिउँसो राजीनामा दिएपछि देशको परिस्थिति सम्हाल्नै कठिन भएको थियो । उत्पन्न अन्योल र कहालीलाग्दो परिस्थितिबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । गोली चलाउने र देश जलाउने घटनालाई लिएर अनेकौं बहस चलिरहँदा यो घटना भएको पनि एक वर्ष पूरा भइसकेको छ ।
सरकारले भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोहीअनुसार गत साता भदौ २३ गते बानेश्वरस्थित पुरानो संसद् भवनअगाडि सहिदको स्मृति सभा आयोजना गरियो । सहिद परिवारका सदस्यहरू सहभागी उक्त कार्यक्रममा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद, गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम, पूर्वाधारमन्त्री सुनील लम्साल, मन्त्री महावीर पुन र पूर्वगृहमन्त्री ओमप्रकाश अर्याललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । सोही कार्यक्रममा धर्मगुरु बालयोगेश्वर विजयकृष्ण मूर्तिजी महाराज र आचार्य श्रीनिवास पनि मञ्चमा देखिए । रास्वपा नेतादेखि, विपक्षी र मिडियाको तारोमा भने यी दुई धर्मगुरु मात्र परे ।
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित यस कार्यक्रममा उपस्थित अधिकांश अतिथि कुनै न कुनै समय विवादमा परेका पात्र नै थिए । यदि कुनै समयको विवादलाई नै मापदण्ड बनाएर प्रश्न उठाउने हो भने गेरुवस्त्रधारी धर्मगुरुहरूमाथि मात्रै प्रश्न किन ? मञ्चमा उपस्थित अन्य राजनीतिक तथा प्रशासनिक अनुहारहरू के सबै निर्विवाद थिए ? हिजोका विवादित कार्यशैलीप्रति असन्तुष्टि हुन सक्छ, तर यदि उनीहरू आज पनि कानुनी रूपमा विवादित नै थिए भने गृहमन्त्री सुधन गुरुङले उनीहरूसँग एउटै मञ्च सेयर गर्थे ?
विभिन्न बहानामा धार्मिक क्षेत्र दूषित बनाउने खेल नेपालका लागि नयाँ होइन । गेरुवस्त्रधारीलाई मात्र विवादित देख्ने र अन्य पात्रलाई नदेख्ने नजर पक्कै पनि सन्तुलित हुन सक्दैन । यदि ती धर्मगुरुहरू आज पनि दोषी नै हुन् भने कानुनअनुसार कारबाही गर्न किन नसकिएको ? समस्या पात्रसँग होइन, दोहोरो दृष्टिकोण राख्ने प्रवृत्तिसँग हो । यहाँ कुनै विवादित पात्रको बचाउ गर्न खोजिएको होइन । कोही पनि कानुनभन्दा माथि हुनुहुँदैन र गलत गर्नेलाई कानुनी सजाय हुनैपर्छ । तर, विगतका विषय कोट्याएर वर्तमान धमिल्याउन खोज्नु र धार्मिक पहिचानकै आधारमा सनातन धर्मको अवमूल्यन गर्न खोज्नु किमार्थ स्वीकार्य हुन सक्दैन । प्रश्न सबैमाथि समान र निष्पक्ष हुनुपर्छ ।
राजनीति होस् वा सामाजिक अनि धार्मिक क्षेत्र, जुनसुकै क्षेत्रमा चर्चामा आएका व्यक्तिको पृष्ठभूमि विवादित हुन सक्छ । हिजो को के थियो होइन, आज ऊ के हो र ऊ कस्तो मान्छे हो भन्नेमा आधारित भएर विचार बन्नुपर्छ । अहिले मन्त्रीदेखि प्रधानमन्त्रीसम्म, हिजोका दलका मुख्य नेताहरू कोही पनि विवादरहित छैनन् । तर, धार्मिक अगुवा वा धर्मगुरुलाई मात्र विवादित देख्ने र उनीहरूविरुद्ध खनिने प्रवृत्ति छ, जुन गलत हो । आयोजक सहिद परिवारले बोलाएरै धर्मगुरुहरू मञ्चमा पुगेका हुन् । त्यहाँ उनीहरू मात्र विवादित थिएनन्, सोविता गौतमदेखि गृहमन्त्री सुधन गुरुङ स्वयं विवादमा छन् । तसर्थ, पात्रलाई अघि सारेर सनातन धर्मप्रति द्वेष बढाउने प्रवृत्ति रोकिनुपर्छ ।
(लेखक सुवेदी डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।)