काठमाडौँ : सप्तरीको खड्क नगरपालिका-६ मा श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। खड्क नगरपालिका-७ का १८ वर्षीय राजा चौधरीको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार जन्माष्टमीका अवसरमा गाउँमा बनाइएको मूर्ति सेलाउन सार्वजनिक पोखरीमा जाँदा उनको डुबेर मृत्यु भएको हो । डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरूले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
त्यस्तै घोँघी टिप्न गएका बेला वडा नं २ सीतापुरका स्थानीय सजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको छ । सदा घरबाट करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोँघी टिप्न गएका बेला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।