२०८३ कार्तिक २६ गते बिहिवार / Nov 12 , 2026 , Thursday
२०८३ कार्तिक २६ गते बिहिवार

चाडपर्वको रौनकभित्र हराउँदै गएको मौलिक पहिचान

Nada
बिन्द्र राई
२०८३ कार्तिक २६ गते ०९:११
Shares
चाडपर्वको रौनकभित्र हराउँदै गएको मौलिक पहिचान

चाडपर्व हाम्रा पुर्खा र पूर्वजहरूले पुस्तौँदेखि हस्तान्तरण गर्दै आएका परम्परागत संस्कार, संस्कृति र मौलिक पहिचान हुन् । यी केवल रमाइलो गर्ने वा उत्सव मनाउने अवसर मात्र होइनन्, समाजलाई जोड्ने महत्वपूर्ण माध्यम पनि हुन् । चाडपर्वले टाढाटाढा रहेका आफन्त, नातागोता, दाजुभाइ तथा दिदीबहिनीबीच भेटघाट र पुनर्मिलनको अवसर जुटाउँछन् । सुखदुःख साटासाट गर्ने, आपसी सूचना आदानप्रदान गर्ने, आत्मीयता बढाउने र सामाजिक सद्भाव तथा मेलमिलाप कायम राख्ने सेतुका रूपमा चाडपर्वले लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपाल कला, संस्कृति, भाषा, भेषभूषा र चाडपर्वका दृष्टिले अत्यन्त धनी देश हो । यहाँ मनाइने हरेक चाडपर्वको आफ्नै ऐतिहासिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक महत्व छ । हाम्रा चाडपर्वहरू जीवनशैली, प्रकृति, सामाजिक सम्बन्ध र सामूहिक भावनासँग जोडिएका छन् । तर पछिल्लो समय आधुनिकता र प्रविधिको विकाससँगै चाडपर्व मनाउने शैलीमा आएको परिवर्तनले तिनको मौलिकता र वास्तविक अपनत्वमाथि प्रश्न उठाउन थालेको छ । आधुनिकताको नाममा भित्रिएको देखासिकी, खर्चिलोपन र व्यापारीकरणले हाम्रा परम्परागत संस्कार तथा सांस्कृतिक पहिचानलाई क्रमशः ओझेलमा पार्दै लगेको छ ।

पहिले हाम्रा पुर्खाहरूले ‘घाँटी हेरेर हाड निल्नुपर्छ’ भन्ने उखानमार्फत आफ्नो आर्थिक अवस्था र क्षमताअनुसार चाडपर्व मनाउनुपर्छ भन्ने सन्देश दिने गर्थे । चाडपर्वको वास्तविक खुसी महँगो खानपान, लत्ताकपडा वा गरगहनामा नभई आपसी सद्भाव, आत्मीयता, श्रद्धा र पारिवारिक मिलनमा हुन्छ भन्ने मान्यता थियो । तर आजभोलि चाडपर्व मनाउने क्रममा आफ्नो गच्छेभन्दा बढी खर्च गर्ने, अरूको देखासिकी गर्ने र तडकभडक प्रदर्शन गर्ने प्रवृत्ति बढ्दो छ । कतिपय अवस्थामा चाडपर्व सामाजिक प्रतिष्ठा र आर्थिक हैसियत प्रदर्शन गर्ने माध्यमसमेत बन्न थालेका छन् । अक्कलभन्दा नक्कललाई प्राथमिकता दिने यस्तो प्रवृत्तिले खुसीका लागि मनाइने पर्वलाई कतिपय परिवारका लागि आर्थिक बोझ र तनावको कारण बनाइरहेको छ ।

चाडपर्वसँग जोडिएको हाम्रो खानपान र परम्परागत परिकारमा समेत परिवर्तन देखिन थालेको छ । दसैँ, तिहारलगायतका पर्वमा घरमै परिवार र आफन्त मिलेर बनाइने सेलरोटी, अनरसा, ठेकुवाजस्ता मौलिक परिकारको प्रचलन विस्तारै घट्दै गएको छ । तिनको स्थान बजारमा पाइने तयारी मिठाई, प्याकेटका खानेकुरा र अन्य महँगा खाद्य सामग्रीले लिन थालेका छन् । पहिले चाडपर्वको तयारी नै पारिवारिक जमघट, सामूहिक श्रम र रमाइलोको महत्वपूर्ण हिस्सा हुन्थ्यो । घरका सबै सदस्य मिलेर परिकार बनाउने, घर सजाउने र पर्वको तयारी गर्ने चलनले परिवारबीच आत्मीयता बढाउँथ्यो । अहिले बजारमा सबै कुरा तयारी अवस्थामा पाइने भएपछि त्यस्तो सामूहिक अभ्यास पनि कमजोर हुँदै गएको छ ।

त्यस्तै, तिहारजस्ता पर्वमा हाम्रो आफ्नै माटोको पहिचान र सुगन्ध बोकेको माटोको दियो बाल्ने परम्पराभन्दा बहुराष्ट्रिय कम्पनीका विद्युतीय बत्तीको प्रयोगप्रति आकर्षण बढेको छ । घर सजाउन तथा पूजाआजामा प्रयोग गरिने प्राकृतिक फूलको सट्टा प्लास्टिकका फूल र कृत्रिम सजावटका सामग्रीको प्रयोग बढ्दै गएको छ । पटका पड्काउने र आयातित सामग्रीमा खर्च गर्ने प्रवृत्तिले पनि बजारमा बाह्य वस्तुको निर्भरता बढाएको छ । यसले स्थानीय उत्पादन, सीप र परम्परागत सामग्रीको प्रयोगलाई क्रमशः कमजोर बनाउँदै लगेको छ ।

पर्वलाई संस्कृतिसँग जोडेर मनाउनेभन्दा महँगा कपडा, गहना र सजावट प्रदर्शन गर्ने अवसरका रूपमा लिने प्रवृत्तिसमेत बढिरहेको छ । प्रविधिले मानिसहरूलाई भौगोलिक रूपमा नजिक ल्याए पनि चाडपर्वमा हुने प्रत्यक्ष भेटघाट र आत्मीयताको अभ्यास भने कमजोर बनाउँदै लगेको छ । विदेशमा रहेका आफन्त वा व्यस्त जीवनशैलीका कारण भेटघाट सम्भव नभएका व्यक्तिहरूका लागि डिजिटल माध्यम उपयोगी भए पनि यसको अत्यधिक प्रयोगले परम्परागत भेटघाटको महत्वलाई विस्थापित गर्न थालेको छ ।

पहिले चाडपर्वमा आफन्त तथा नातागोताको घरमै पुगेर आशीर्वाद लिने, दुःखसुख साटासाट गर्ने र सम्बन्धलाई नवीकरण गर्ने चलन थियो । अहिले फेसबुक, ह्वाट्सएप र टिकटकजस्ता सामाजिक सञ्जालमा शुभकामना सन्देश वा स्टाटस राखेर औपचारिकता पूरा गर्ने प्रवृत्ति बढेको छ । पूजाआजा र चाडपर्वका विधिविधानको मर्म बुझ्नुभन्दा फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने कुराले प्राथमिकता पाउन थालेको देखिन्छ । प्रविधिको प्रयोग आफैँमा नराम्रो होइन, तर त्यसले मानवीय सम्बन्ध र सांस्कृतिक अभ्यासलाई नै विस्थापित गर्न थाल्नु चिन्ताको विषय हो ।

हाम्रा चाडपर्व र संस्कृतिसँग गाउँघरका मौलिक खेल, कला, भाषा र भेषभूषा पनि अभिन्न रूपमा जोडिएका छन् । दसैँमा खेलिने रोटेपिङ र लिङ्गेपिङ, साउन महिनाभरि खेतबारीमा धान रोपाइँ गरेर साउने सङ्क्रान्तिमा आगोको अगुल्टो बाल्ने, राँको घुमाउने र नाङ्लो ठटाउँदै लुतो फाल्ने परम्पराजस्ता सांस्कृतिक अभ्यास हाम्रो मौलिक जीवनशैलीका उदाहरण हुन् । डोरी तान्ने तथा अन्य रैथाने खेलहरूले पनि समुदायबीच एकता र सामूहिकताको भावना विकास गर्थे । तर यस्ता परम्परा र अभ्यास अहिले क्रमशः हराउँदै गएका छन् ।

तिहारमा गाउँघरका आँगन र बस्तीमा घुमेर खेलिने देउसी–भैलोको मौलिक स्वरूपमा समेत परिवर्तन आएको छ । पहिले देउसी–भैलोमा परम्परागत भट्याइँ, लोकलय, मौलिक गीत र आशीर्वादको विशेष महत्व हुन्थ्यो । घरघरमा पुगेर शुभकामना दिने, घरपरिवारको सुख, समृद्धि र उन्नतिको कामना गर्ने चलन थियो । अहिले कतिपय ठाउँमा परम्परागत देउसी–भैलोको सट्टा डिजे, आधुनिक पप तथा हिन्दी र अंग्रेजी गीत बजाएर नाच्ने र रकम संकलन गर्ने प्रवृत्ति बढेको छ । समयअनुसार परिवर्तन हुनु स्वाभाविक भए पनि त्यस क्रममा देउसी–भैलोको मौलिक सांस्कृतिक सुगन्ध र यसको मूल उद्देश्य हराउँदै जानु चिन्ताको विषय हो ।

अर्कोतर्फ, आफ्नो मौलिक परम्परालाई पुरानो विचार ठान्ने र आधुनिक देखिने होडमा पश्चिमा शैलीको अन्धानुकरण गर्ने प्रवृत्ति पनि बढिरहेको छ । आफ्नै मौलिक चाडपर्व, संस्कृति र परम्परा हुँदाहुँदै आयातित संस्कृतिप्रति युवा पुस्ताको आकर्षण बढ्नु र आफ्ना पर्वलाई समेत त्यही शैलीमा ढाल्न खोज्नुले सांस्कृतिक पहिचानमाथि चुनौती थपेको छ । आधुनिकता अपनाउनु गलत होइन, तर आधुनिक बन्ने नाममा आफ्नो इतिहास, पहिचान र परम्परालाई बिर्सनु उचित हुँदैन ।

सहरी व्यस्तता, बदलिँदो जीवनशैली र एकल परिवारको बढ्दो अभ्यासले पनि चाडपर्वको परम्परागत स्वरूपमा प्रभाव पारेको छ । परिवारका सदस्यसँगै बसेर चाडपर्वको तयारी गर्ने, परम्परागत विधि पूरा गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने समय तथा चाहना दुवै घट्दै गएको छ । बजारमुखी जीवनशैलीले मानिसलाई सुविधाभोगी बनाउँदै लगेको छ भने सामूहिक श्रम, पारिवारिक सहकार्य र सामाजिक सहभागिताका अभ्यास कमजोर हुँदै गएका छन् ।

निश्चय नै समयसँगै चाडपर्व मनाउने शैलीमा परिवर्तन आउनु स्वाभाविक हो । नयाँ पुस्ताले आफ्नो रुचि र समयअनुसार परम्परालाई परिमार्जन गर्नु पनि अस्वाभाविक होइन । तर परिवर्तनका नाममा चाडपर्वको मूल मर्म, सांस्कृतिक पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिकता नै समाप्त हुनु हुँदैन । चाडपर्व केवल बिदा मनाउने, नयाँ लुगा लगाउने, मिठो खाने वा रमाइलो गर्ने अवसर मात्र होइनन् । यी हाम्रो इतिहास, सभ्यता, सामाजिक सम्बन्ध र राष्ट्रिय पहिचानका आधार हुन् । यिनको संरक्षण गर्नु भनेको आफ्नो अस्तित्व र पहिचानको संरक्षण गर्नु पनि हो ।

यसका लागि सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, सामाजिक सङ्घसंस्था, संस्कृतिविद्, अभिभावक र विशेषगरी युवा पुस्ताको सक्रिय भूमिका आवश्यक छ । नयाँ पुस्तालाई चाडपर्वको धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा वैज्ञानिक महत्वबारे जानकारी गराउनुपर्छ । चाडपर्वमा तडकभडक र देखासिकीभन्दा सद्भाव, भाइचारा, आत्मीयता र सरलतालाई प्राथमिकता दिने संस्कार विकास गर्नुपर्छ । स्थानीयस्तरमा परम्परागत कला, रैथाने खेल, भाषा, भेषभूषा, लोकगीत, लोकनृत्य तथा विभिन्न समुदायका मौलिक परिकारको संरक्षण र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्थानीय उत्पादन र परम्परागत सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई यस्ता अभ्याससँग जोड्न सके मौलिकता जोगाउन सहज हुनेछ ।

अन्ततः चाडपर्वको सुन्दरता त्यसमा गरिने खर्च, देखाइने तडकभडक र प्रयोग गरिने महँगा सामग्रीमा होइन, त्यसले जोड्ने सम्बन्ध, जगाउने आत्मीयता र पुस्तौँदेखि बोकेको संस्कृतिमा हुन्छ । हामीले आधुनिकतालाई आत्मसात् गरौँ, तर आफ्नोपन नबिर्सौँ । परिवर्तनलाई स्वीकार गरौँ, तर मौलिकतालाई विस्थापित नगरौँ । किनकि चाडपर्वको रौनक क्षणिक हुन्छ, तर त्यसले बोकेको संस्कृति, संस्कार र पहिचान हाम्रो पुस्तौँपुस्ताको सम्पत्ति हो । त्यसैले चाडपर्व मनाउने नाममा आफ्नै मौलिकता गुमाउँदै जाने होइन, आधुनिकतासँगै आफ्नो पहिचानलाई पनि जीवन्त राख्ने जिम्मेवारी हामी सबैको हो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर