
काठमाडाैं - मृत्यु भएको भनिएको व्यक्तिको शव छैन । हत्या भएको स्थानबाट शव बरामद भएको छैन । न त शवको परीक्षणबाट मृत्युको कारण पुष्टि गर्न सकिएको छ । तर, अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । शव नभेटिएको अवस्थामा पनि अदालतले कसरी हत्याको निष्कर्षमा पुग्यो ? यो प्रश्नको उत्तर अभियोजन पक्षले पेस गरेका प्रमाण र जुरीले गरेको मूल्याङ्कनमा भेटिन्छ ।
करिब छ हप्तासम्म चलेको सुनुवाइमा अभियोजन पक्षले नरेशका बयान, घरभित्र भेटिएका भौतिक प्रमाण, निगरानी क्यामेराका दृश्य, डिजिटल गतिविधि र साक्षीका बयान प्रस्तुत गरेको थियो । नरेशले ममताको शव व्यवस्थापन गरेको स्वीकारे पनि हत्या गरेको अस्वीकार गरेका थिए । उनले ममताले आफैँ विष सेवन गरेर ज्यान गुमाएको दाबी गरेका थिए । तर, प्रमाणहरूको समग्र मूल्याङ्कनपछि १० नोभेम्बरमा जुरीले उनलाई प्रथम तहको हत्या, शव लुकाएको र शवको अपमान गरेको तीनवटै अभियोगमा दोषी ठहर गर्यो ।
यस फैसलामा निर्णायक बनेका प्रमाणका मुख्य छ पक्ष के हुन् ?
पहिलो प्रमाण : नरेश आफैँले शव व्यवस्थापन गरेको स्वीकार्नु
यो मुद्दाको सबैभन्दा निर्णायक मोड नरेशको आफ्नै बयान बन्यो । उनले अदालतमा ममताको शव काटेर टुक्रा पारेको र विभिन्न फोहोर फाल्ने ठाउँमा लगेर फालेको स्वीकार गरे ।
तर उनको दाबी थियो—ममता आफैँले विष सेवन गरेर ज्यान गुमाएकी थिइन् । आफूले हत्या नगरेको र डर तथा आत्तिएका कारण शव व्यवस्थापन गरेको उनको भनाइ थियो ।
अर्थात्, शव कहाँ छ भन्ने प्रश्नको उत्तर नरेशको बयानबाट केही हदसम्म खुल्यो । तर उनले दिएको आत्महत्याको व्याख्या नै अभियोजन पक्षले चुनौती दियो । नरेशले शव व्यवस्थापन गरेको स्वीकार्नु र हत्या गरेको अस्वीकार्नुबीचको यही विरोधाभास मुद्दाको केन्द्रमा रह्यो ।
दोस्रो प्रमाण : पटक–पटक फेरिएको बयान
ममता हराएपछि सुरुमा नरेशले आफूलाई उनको अवस्थाबारे थाहा नभएको बताएका थिए । ममता घर छाडेर गएको हुन सक्ने र न्यूयोर्क वा टेक्सास पुगेको हुन सक्ने उनको भनाइ थियो ।
तर अदालतमा उनले ममता घरमै अचेत अवस्थामा भेटिएको, आफूले बचाउने प्रयास गरेको र पछि शव व्यवस्थापन गरेको बयान दिए ।
पहिले आफूलाई केही थाहा नभएको बताउने व्यक्ति पछि शव व्यवस्थापन गरेको स्वीकार्ने अवस्थामा पुगे । अभियोजन पक्षले यही फरक बयानलाई उनको विश्वसनीयतामाथि प्रश्न उठाउने आधार बनायो ।
तेस्रो प्रमाण : घरभित्रको रगत र आराको परीक्षण
अदालतमा घरभित्र भेटिएको रगतसम्बन्धी प्रमाण पनि प्रस्तुत गरिएको थियो । त्यस्तै, नरेशले एक व्यक्तिलाई दिएको आरामा रगत भेटिएको विषय पनि सुनुवाइमा आयो ।
अभियोजन पक्षले यी प्रमाणलाई घटनास्थल र शव व्यवस्थापनसँग जोडेर व्याख्या गर्यो । घरभित्रको रगत र आरामा भेटिएको रगतले नरेशको आत्महत्याको दाबीलाई प्रश्न गर्ने आधार दिएको अभियोजन पक्षको तर्क थियो ।
तर एउटा कुरा स्पष्ट हुनुपर्छ—यी प्रमाणलाई मात्र हेरेर ममताको मृत्यु कसरी भयो भन्ने निष्कर्ष निकालिएको होइन । अन्य प्रमाणसँग जोडेर तिनको अर्थ लगाइएको थियो ।
चौथो प्रमाण : फोहोरका झोला फाल्दै गरेको निगरानी भिडियो
अभियोजन पक्षले अदालतमा विभिन्न स्थानका निगरानी क्यामेराका भिडियो प्रस्तुत गर्यो । ती भिडियोमा नरेशले घटनाको दिन विभिन्न फोहोर फाल्ने ठाउँमा पटक–पटक झोला लगेर फालेको देखिएको थियो ।
केही भिडियोमा उनी पञ्जा लगाएर भारी झोला फालिरहेको देखिन्थे । अभियोजन पक्षका अनुसार ती झोलामा ममताको शवका अवशेष वा घटनास्थल सफा गर्न प्रयोग गरिएका सामग्री हुन सक्थे ।
तर भिडियोले झोलाभित्र के थियो भन्ने प्रत्यक्ष प्रमाणित गर्दैनथ्यो । त्यसैले अभियोजन पक्षले यसलाई नरेशको स्वीकारोक्ति र अन्य प्रमाणसँग जोडेर प्रस्तुत गरेको थियो ।
पाँचौँ प्रमाण : इन्टरनेट खोजी र डिजिटल गतिविधि
नरेशको इन्टरनेट खोजी र डिजिटल गतिविधि पनि सुनुवाइमा महत्त्वपूर्ण बन्यो । अमेरिकी सञ्चारमाध्यमका अनुसार, पत्नी हराएको अवस्थामा के गर्ने भन्ने विषयसँग सम्बन्धित खोजीहरूलाई अभियोजन पक्षले प्रमाणका रूपमा प्रस्तुत गरेको थियो ।
पूर्वसंघीय अभियोजक नेमा रहमानीले पनि नरेशका बदलिएका बयान, घरभित्रको रगत र हराएकी पत्नीसम्बन्धी इन्टरनेट खोजीलाई जुरीले विचार गर्न सक्ने प्रमाणका रूपमा उल्लेख गरेका थिए ।
डिजिटल खोजी आफैँमा हत्याको प्रत्यक्ष प्रमाण होइन । तर घटनापछिको व्यवहार र अन्य प्रमाणसँग जोडिँदा यसले अभियोजन पक्षको तर्कलाई बल पुर्याएको थियो ।
छैटौँ प्रमाण : ममताका नजिकका व्यक्तिको बयान र विष सेवनको दाबी
ममताकी आमा, दाजु, साथी तथा सहकर्मीले अदालतमा बयान दिएका थिए । उनीहरूले ममता आत्महत्या गर्ने स्वभावकी नभएको बताएका थिए । नजिकका व्यक्तिले ममताले वैवाहिक सम्बन्धमा समस्या भोगिरहेको र नरेशसँग डराएको कुरा आफूहरूलाई बताएको पनि सुनाएका थिए ।
अर्कोतर्फ, नरेशले ममताले ‘सेल्फोस’ नामको कृषि विष सेवन गरेको दाबी गरेका थिए । त्यसबारे अभियोजन पक्षले विषविज्ञ डा. अबिगेल केर्न्सलाई साक्षीका रूपमा प्रस्तुत गर्यो ।
उनले उक्त पदार्थले शरीरमा गम्भीर असर पार्न सक्ने र त्यसबाट निस्कने विषाक्त ग्यासले श्वासप्रश्वास तथा रक्तसञ्चार प्रणालीमा समस्या ल्याउन सक्ने बताइन् । यस्तो अवस्थामा उद्धार गर्न खोज्ने व्यक्तिसमेत जोखिममा पर्न सक्ने उनको भनाइ थियो ।
तर विषविज्ञको बयानले ममताले वास्तवमै उक्त पदार्थ सेवन गरेकी थिइन् वा त्यसकै कारण उनको मृत्यु भएको थियो भन्ने प्रमाणित गरेको थिएन । बरु नरेशले दिएको आत्महत्याको व्याख्यालाई वैज्ञानिक आधारबाट परीक्षण गर्ने काम गरेको थियो ।
यी प्रमाणले कसरी बनायो दोषी ठहरको आधार ?
अब मुख्य प्रश्न- यीमध्ये कुन प्रमाणले नरेशले नै हत्या गरेको पुष्टि गर्यो ?
यसको उत्तर एउटै प्रमाणमा छैन । नरेशले शव व्यवस्थापन गरेको स्वीकार्नु, प्रहरीसमक्ष दिएको र अदालतमा दिएको बयानबीचको अन्तर, घरभित्रको रगत र आरासम्बन्धी प्रमाण, निगरानी भिडियो, डिजिटल गतिविधि तथा ममताका नजिकका व्यक्तिका बयान- यी सबैलाई एकसाथ राखेर जुरीले मूल्याङ्कन गरेको हो ।
अमेरिकी कानुनअनुसार हत्या प्रमाणित गर्न शव फेला पार्नैपर्छ भन्ने छैन । प्रत्यक्षदर्शी वा शवजस्तो भौतिक प्रमाण नभए पनि परिस्थितिजन्य प्रमाणको शृङ्खलाले अभियुक्तको अपराध उचित शङ्काभन्दा बाहिर पुष्टि गर्न सक्छ ।
नरेशका वकिलले ममताको मृत्यु आत्महत्याबाट भएको हुन सक्ने र अभियोजन पक्षले हत्या प्रमाणित गर्न नसकेको तर्क गरेका थिए । तर जुरीले त्यो दाबी स्वीकार गरेन ।
करिब चार घण्टाको विचारविमर्शपछि जुरीले नरेशलाई तीनवटै अभियोगमा दोषी ठहर गर्यो । पहिलो तहको हत्यामा उनलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ । सजाय निर्धारणको सुनुवाइ १२ मार्च २०२७ का लागि तोकिएको छ ।
तर फैसला आए पनि एउटा प्रश्न अझै अनुत्तरित छ- ममता कहाँ छिन् ?
नरेश दोषी ठहर भए पनि ममताको शव फेला परेको छैन । परिवारले अन्तिम संस्कार गर्न पाएको छैन । त्यसैले यो फैसला परिवारका लागि न्यायको महत्त्वपूर्ण कदम भए पनि ममताको खोजी र शव प्राप्तिको प्रतीक्षा भने अझै सकिएकाे छैन । (एजेन्सीहरूकाे सहयाेगमा)