
काठमाडौं : दक्षिण कोरियाका राष्ट्रपति ली जे म्यङले कोरियामा कार्यरत बिदेशी श्रमिकहरूलाई जाडोका पर्याप्त कपडा दिनुपर्ने बताएका छन् । आप्रवासी श्रमिकरहरू देशको औद्योगिक विकास र स्थानीय समुदाय निर्माणमा योगदान पुर्याउने सहकर्मीको संज्ञा दिँदै उनीहरूलाई सम्मानपूर्वक व्यवहार गरिनुपर्ने बताएका छन् ।
राष्ट्रपति लीले मंगलबार सामाजिक सञ्जालमार्फत आगामी नोभेम्बर १५ तारिख उल्सान क्षेत्रमा विभिन्न संस्था तथा संगठनको सहकार्यमा आप्रवासी श्रमिकलाई जाडोका कपडा र काम गर्ने पोसाक वितरण गरिने जानकारी दिएका हुन् । उक्त अभियानमा आफूले पनि व्यक्तिगत रूपमा जाडोका कपडा पठाएर सानो सहयोग गर्ने उनले बताएका छन् ।
उनले लेखेका छन्, “आप्रवासी श्रमिकहरू हामीसँगै औद्योगिक क्षेत्र र स्थानीय समुदाय निर्माणमा सहयोग गर्ने सहकर्मी तथा छिमेकी हुन। हाम्रो राष्ट्रियता र भाषा फरक हुन सक्छ, तर श्रमको मूल्य समान हुन्छ।”
त्यसैगरी, सरकारले सबै श्रमिकले सुरक्षित वातावरणमा काम गर्न पाउने र कार्यस्थलमा सम्मानजनक व्यवहार प्राप्त गर्ने सुनिश्चितताका लागि विशेष ध्यान दिने पनि उनले आव्हान गरेका छन।
आफ्नो घरपरिवार र देशबाट टाढा अपरिचित भूमिमा बस्दा जाडो अझ बढी कठोर महसुस हुने उल्लेख गर्दै राष्ट्रपति लीले एउटा जोर कपडाले चिसो पूर्ण रूपमा रोक्न नसके पनि त्यसपछाडिको सद्भाव र आत्मीयताले लामो समयसम्म न्यानोपन दिने विश्वास व्यक्त गरेका छन् ।