
आज पनि हाम्रो देशमा खेतीपाती र पशुपालन नै सबैभन्दा बढी रोजगारी दिने क्षेत्र हो भन्दा अत्युक्ति नहोला । हाम्रो ग्रामीण अर्थतन्त्र केवल बालीनालीको खेतीकिसानीबाट मात्र होइन, पशुपालन र स–साना लघु तथा कुटीर उद्योग व्यवसायबाट परिचालित हुँदै आएको हो । त्यसैले हिजो पशुपंक्षीहरू एक किसिमले किसानहरूका लागि बैंकको ‘मुद्दती खाता’ जस्तै हुने गर्दथे, जसलाई अत्यन्तै जरुरी अवस्थामा मात्र बेच्ने गरिन्थ्यो ।
तर अहिले देशका किसानहरू अभूतपूर्व संकटबाट गुज्रिरहेका छन् । अब त यो किसानको संकटलाई जान्न बुझ्नका लागि कुनै विशेष अध्ययन गर्नुपर्ने आवश्यकता नै छैन । यो संकट रासायनिक खेतीसँग जोडिएको छ । जतिबेला परम्परागत प्राकृतिक खेतीपातीमा खेत र हलगोरुको घनिष्ठ सम्बन्ध थियो, किसानी र पशुपालनका बीच पनि उत्तिकै गहिरो सम्बन्ध थियो। तर अब ट्र्याक्टर आएपछि यो सम्बन्ध टुट्दै गएको छ । खेतबारी रासायनिकीकरणले उर्वराहीन बन्दै गएका छन् । त्यसैले आज यहाँ परम्परागत खेतीपातीको चर्चा गर्न लागिएको हो। यसबाट हिजो र आजको खेतीपातीको समग्रतालाई बुझ्न र सही बाटो लाग्न मद्दत पुग्नेछ भन्ने लाग्दछ । खेतीमा लाग्ने अत्यधिक लागत कम गर्न सकिन्छ र खेतीकिसानी तथा किसानहरूको आजीविका र बिग्रँदो पर्यावरणको स्थितिलाई बचाउन सहयोग गर्न पनि सकिनेछ ।
युगौँदेखि हाम्रो देशमा खेतीकिसानी हुँदै आएको छ । यो देशको हावापानी अनुकूल विकसित हुँदै आएको हो। यसका धेरै नै विविधताहरू पनि छन् । यो केवल बालीनाली या फसल उत्पादन मात्र पनि होइन। यो एउटा दिगो जीवन पद्धति र सभ्यता पनि थियो । मोटामोटी रूपमा स्वावलम्बी र आत्मनिर्भर खेतीपाती हुने गर्दै आएको थियो र यो श्रममा आधारित खेतीपाती थियो। किसानहरूसँग स्वयं उत्पादित स्वदेशी बीउबिजन हुन्थ्यो । पशुपालन हुन्थ्यो र घरगोठको गोबरले मलको काम गर्दथ्यो, जसले गर्दा माटोको उर्वरता कायम रहन मद्दत गर्दथ्यो । खेतीपातीसँग सम्बन्धित कयौँ प्रकारका रोजगारीहरू पनि प्रचलनमा थिए, जसमा ग्रामीण समुदायको आजीविका चल्ने गर्दथ्यो ।
पुरानो जमानामा गाउँमा बढईको काम कृषि यन्त्र बनाउनु थियो । उसले बयलगाडाका चक्काहरू, हलो, जुवा, जोतारो, हल्लुड आदि बनाउँदथ्यो, जसको बदलामा उसलाई किसानबाट अनाज मिल्दथ्यो । परम्परागत खेतीमा भिन्नै किसिमले बाहिरी लगानीको आवश्यकता पर्दैनथ्यो । न बालीनालीमा आधुनिक रासायनिक मलखाद हाल्ने आवश्यकता नै थियो, न कीटनाशक र रोगनाशक औषधिकै आवश्यकता पर्दथ्यो । पशुहरूको गोठालो गर्न पनि अतिरिक्त खर्च हुने नै गर्दैनथ्यो । बालीनालीको नल, पराल, ढोड या डाँठबाट तयार भुस्सा–भुस्सी र डाँले तथा भुइँघाँसबाट तिनको पेट भरिन्थ्यो । आवश्यक कुँडो र खोले पकाएर दिने चलन पनि थियो, जसका सामग्री खेतीबालीबाटै प्राप्त हुन्थे। बाहिर खोजी गर्नै पर्दैनथ्यो ।
अर्कोतिर देशमा बालीनालीका डाँठ, पराल आदि कुहिएर जैविक मलखाद बन्दथ्यो र पशुहरूको गोबरबाट अत्यन्तै मलिलो मलखाद प्राप्त हुन्थ्यो । गोबर मलले खेतबारीको उर्वरता बढ्दै जान्थ्यो। बालीनालीका मित्रकिरा पतङ्गले नै कीटनाशकको काम गर्दथे । पक्षीहरूले पनि कीटनाशकको भूमिका राम्रैसँग निभाउँदथे। गाईगोरुलाई खुवाउनका निम्ति पहिला खेतमा विभिन्न किसिमका घाँस या चारो उपलब्ध हुन्थ्यो । खरुकी, बन्सो, रत्नाउलो, सिरु, दुबो, काँस, बथुवा लगायतका झारघाँस तथा असारे, दुधिलो, खन्यु, पटपटे, बाँस, काब्रो, निभारा, टाँकी, सिरिस, सउर, वर आदि अनेक डाँलेघाँसहरू उपलब्ध हुन्थे ।
नेपाल लगायत कयौँ देशहरूमा आज पनि खेतीपाती र पशुपंक्षी पालन नै सबैभन्दा बढी रोजगारी दिने क्षेत्र रहेकै छन् । ग्रामीण अर्थतन्त्र केवल बालीनालीबाट मात्र होइन, पशुपंक्षी पालन, स–साना कुटीर तथा लघु उद्योग व्यवसाय पनि सञ्चालित हुँदै आएका हुन् । पशुपंक्षीहरू एक किसिमले किसानहरूका लागि बैंकको फिक्स्ड डिपोजिट जस्तै हुन्थे र किसानहरूले अति आवश्यक परेको बेला तिनलाई बेचेर काम चलाउँदथे ।
त्यसमा पनि गाउँघरमा गाईवस्तु र मानिसका बीचमा एकदमै प्यारो र परस्पर स्नेही सम्बन्ध हुन्थ्यो। त्यस बारेमा अनेक रमाइला कथाकुथुङ्गीहरू पनि सुन्न पाइन्थ्यो । वास्तवमा गाई, भैँसी, गोरु, बाख्राहरूलाई बडो लाड–प्यार गरेर पालिन्थ्यो । ग्रामीण मानिसहरू अहिले पनि भन्ने गर्दछन् कि पशुपंक्षीहरूलाई बच्चालाई स्याहारसुसार गरेजस्तै गरेर पालनपोषण गरी हुर्काइन्थ्यो । गाईवस्तुको उमेर गुज्रिएर बूढा भए पनि तिनलाई किलामा बाँधेर घाँसपात, कुँडो–खोले दिने गरिन्थ्यो । यी सबै कुराले मानिस पशुपंक्षी तथा बालीनालीप्रति अर्थात् ग्रामीण किसानहरू यसरी निकै भावनात्मक रूपमा संवेदनशील रहन्थे भन्ने स्पष्ट हुन्छ ।
अहिले पनि गोरु तिहारका बेला गोरुप्रतिको विशेष सम्मान या प्रेम दर्शाउने गरेको देखिन्छ । त्यतिबेला गोरुलाई माला–टीका लगाएर सेलरोटी लगायतका पक्वान्न, मिष्ठान्न खुवाउने गरेको देखिन्छ । तराईमा कुनै मेला–पर्व, विवाह या उत्सवहरूमा जाँदा गोरुगाढामा चढेर जाने गरिन्थ्यो। गाईवस्तुहरू र मानिसका बीचमा यस्तो गाढा सम्बन्ध बनिसकेको या बनिरहेको देखिन्छ कि जङ्गलमा चर्न छोडेका गाईवस्तुहरू पनि साँझ फर्केर घर आउँदछन्, आउँदथे; उनीहरूलाई लिन जानु पर्दैनथ्यो । तिनीहरू कतै टाढै पुगेको भए पनि उनीहरूको गलामा लगाइदिएको घण्टीको आवाज सुनेर खोज्न सजिलो हुन्थ्यो ।
गाउँका किसानहरू चाहे ती महिला हुन् पुरुष, गाई, गोरु, भैँसी जे पालेको भए पनि तिनलाई बडो संवेदनशील भएर बेलाबेलामा नुहाइदिने, भकारो सोहोरेर बस्ने थलो सफा बनाइदिने र घाँस, कुँडो, खोले दिने जस्ता कार्यहरू नियमित रूपमा गर्ने गरिन्थ्यो । साना भर्खर जन्मेका बाच्छा, पाडा, पाठापाठीहरूको विशेष हेरचाह गरिन्थ्यो। तिनलाई गोठ या ग्वालीमा लगेर बाँध्ने या टाट्नामा बाँधेर राख्ने काम धेरैजसो महिलाहरूले गर्ने गर्दथे । बाख्रापाठाहरू, भेडाहरूको हेरचाह या चराउने काममा केटाकेटीहरूले पनि सहयोग पु¥याउने गर्दथे। यसरी ग्रामीण किसान र पशुपंक्षीहरूका बीच एउटा आत्मीय सम्बन्ध बन्दथ्यो। सधैँ आफूलाई हेरचाह गर्ने मानिस छेउमा पुग्दा गाईवस्तुहरूले पनि विशेष किसिमले कराएर आफू सुरक्षित र ढुक्क भएजस्तो कुरा अभिव्यक्त गर्ने गर्दथे ।
वास्तवमा खेतीपाती र पशुपालन एक अर्काका परिपूरक र सहयोगी गतिविधि हुन् । पहिला–पहिला भेडीगोठ, गाईभैँसीको थलो सार्ने, किला सार्ने गरेर खेतबारीमा तिनको मलमूत्र प्रयोग गरिने पनि चलन थियो। तर अब भने पशुपालनको त्यो पुरानो महत्त्वपूर्ण चलन समाप्त भएर गएको छ । रासायनिक मलको चलनले गर्दा खेतबारी रासायनिकीकरण भएर माटोको उर्वराशक्ति र माटोको बनावटमा पनि आज फरक आइसकेको छ । त्यो कडा ढिस्को जस्तो भएर गएको छ र त्यसमा मैत्री जीव–किरा हुर्कने र खेतीपातीलाई मलिलो र उर्वर राखिराख्ने स्थिति नै लोप भएर गएको छ ।
आज त जङ्गल पनि मासियो। चरिचरन पनि हरायो । पशुपालन पनि सीमित र कृत्रिम भएर गयो। अर्गानिक र प्राकृतिक खेतीपाती तथा पशुपालनको अभावले गर्दा खेतीपाती, पशुपंक्षी पालन नै आज अप्राकृतिक र रासायनिक बनेर गएको छ, जुन एकदमै अस्वस्थकर र रोगव्याधी निम्त्याउने खालको बनेको छ । जसले गर्दा मानव स्वास्थ्य, माटोको स्वास्थ्य र समग्रमा प्रकृति सबैको स्वास्थ्य बिग्रिएर गएको छ। यसलाई पुनः पुनरुत्थान गर्नुपर्ने आवश्यकता छ ।
आज यान्त्रीकरणको जमाना आएको छ । त्यसले गर्दा समेत विश्वव्यापी उष्णता (ग्लोबल वार्मिङ) को समस्या पैदा भएको छ र यो विश्वकै ठूलो चिन्ताको विषय पनि बनेको छ । यी समस्याहरूसँगै ऊर्जा संकट, विद्युत् संकट तथा मानव श्रमको बहुलतालाई ध्यानमा राखेर हाम्रो जस्ता देशहरूले यी सबै कुरालाई मध्यनजर राखेर सही किसिमले खेतीकिसानीतर्फ बढ्नुपर्ने स्थिति विकसित भएको छ यसका लागि पशु ऊर्जाको महत्त्वपूर्ण भूमिका रहन जान्छ। यसबाट माटो र पानीको संरक्षण त हुन्छ नै, जैविक विविधता र पर्यावरणको पनि रक्षा हुन्छ । किसान र पशुपालनको आजीविका पनि बच्ने र चल्नेछ। खेतीपातीसँग जोडिएको रोजगारी तथा सीप र कौशल पनि विकसित हुने र कायम रहनेछ । तर प्रश्न के भने, हामी प्रकृति–मैत्री, पर्यावरण–मैत्री खेतीपाती र पशुपालनतिर लाग्न तयार हुनुपर्दछ । पर्यावरण र प्रकृतिको सन्तुलन कायम गर्न सकिएन भने जैविक खेती पनि कायम रहन पाउनेछैन भन्ने कुरालाई राम्रोसँग मनन र कार्यान्वयन गर्न तयार हुनुपर्दछ ।
यसमा अतिरिक्त प्रकृतिका अधिशासित नियमलाई सन्तुलनमा राख्न नसकेर या नजानेर प्रकृतिमाथि जथाभावी गर्दा बाढी–पहिरो, हिमपहिरो आदिका कारणले पनि जनधन र खेतीपातीमा ठूलो क्षति भइरहेको छ । त्यसैले विकास निर्माणहरू प्रकृति–मैत्री र मानव–मैत्री हुनुपर्ने आवश्यकता आज अझ बढ्न गएको छ । अहिले हामी भोटेकोशी–हिमपहिरोको महाविनाशकारी चपेटामा परेर ठूलो जनधनको क्षति भइरहेको स्थितिबाट गुज्रिरहेको अवस्थामा अब भविष्यमा यस्ता घटनाबाट कसरी जोगिने भन्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय चिन्ता र चासो बढिरहेको छ । त्यसैले प्रकृति–मैत्री र मानव–मैत्री खेतीपाती र विकास निर्माणको सही बाटो लाग्न थप चिन्तनशील र संवेदनशील हुनुपर्ने आवश्यकता अझ बढेको छ । प्रकृतिलाई जोगाउँदै र आफू पनि जोगिँदै अघि बढ्ने सही र वैज्ञानिक बाटोमा सघनताका साथ लाग्नु नै आजको सर्वोपरि आवश्यकता बनेको छ ।