
काठमाडौँ : नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि तय गरिएको पार्टी सचिवालय बैठक ३ बजेसम्मका लागि सरेको छ ।
एमाले प्रचार प्रमुख नीरज आचार्यका अनुसार कार्यदलको बैठक सम्पन्न भएपछि मात्रै सचिवालय बैठक बस्ने भएकाले समय सारिएको हो । कार्यदलको बैठक बिहान ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा जारी छ ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा कार्यदलमा तीनवटा प्रतिवेदनमाथि छलफल भइरहेको छ । कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमाथि अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि थप छलफल र परिमार्जनको प्रक्रिया अघि बढेको थियो ।
यसक्रममा अध्यक्ष ओलीको निर्देशनमा बादलले अर्को प्रतिवेदन तयार गरेका थिए । त्यसपछि आज तीनवटै प्रतिवेदनको निष्कर्ष निकाल्ने गरी छलफल अघि बढाउने तयारी गरिएको थियो ।
तर, त्यसअघि नै पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले समेत छुट्टै प्रतिवेदन पेस गरेपछि कार्यदलमा तीन प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
कार्यदलका एक पदाधिकारीका अनुसार तीनवटै प्रतिवेदनका निष्कर्षलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने विषयमा अहिले छलफल केन्द्रित छ । कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि मात्रै सचिवालय बैठक बस्ने तयारी एमालेले गरेको छ ।
यसअघि दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक अब ३ बजेका लागि सारिएको प्रचार प्रमुख आचार्यले जानकारी दिएका छन् ।