
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारका गतिविधि विपन्न नागरिक तथा राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसलाई रोक्न वामपन्थी शक्तिहरूबीच कार्यगत सहकार्य आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित २४औं बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् । उनले कार्यगत एकता गर्दा पार्टी नै एउटै हुन लाग्यो कि भन्ने भ्रम सिर्जना गरिएको भन्दै कार्यगत एकता हुँदैमा पार्टी एकता भइनहाल्ने स्पष्ट पारे ।
उनले सहकार्यलाई विषयगत र कार्यगत एकताको रूपमा व्याख्या गर्दै त्यसलाई पार्टी एकतासँग जोडेर भ्रम फैलाउन नहुने समेत बताए । संयोजक प्रचण्डले वामपन्थी एकताका लागि विचार, राजनीति, संगठन र सिद्धान्तलगायतका विषयमा पर्याप्त तयारी र साझा समझदारी बनाउन आवश्यक रहेको पनि बताए ।
उनले तत्कालीन नेकपा एकीकरणको समयमा पर्याप्त राजनीतिक तयारी नहुँदा पार्टी विभाजन भएको स्वीकार गरे । उनले तत्कालीन नेकपा विघटनका लागि सम्पूर्ण दोष नेतामाथि मात्रै थोपर्न नमिल्ने पनि बताए ।
देश र कम्युनिष्ट आन्दोलनको आन्दोलनको रक्षा गर्ने साझा एजेन्डामा विभिन्न कम्युनिष्ट शक्तिहरूबीच आवश्यकताअनुसार सहकार्य गर्नुपर्नेमा उनको जोड छ ।