२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

मनसुनजन्य रोगको जोखिम

Nada
प्रगति ढकाल
२०८३ साउन १८ गते १३:११
Shares
मनसुनजन्य रोगको जोखिम

यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । खेतबारीमा धान रोपाइँको चहलपहल बाँकी नै छ । नदी, खोलानाला, खहरेमा पानीको बहाव बढेको छ । वर्षाले वायुमण्डलमा रहेका धुलोका कण तथा अन्य प्रदूषण पखालेर वातावरणलाई स्वच्छ बनाएको छ । प्राकृतिक सौन्दर्यताका बीच बाढी, पहिरो, डुबानजस्ता विपद्सँगै फैलिने विभिन्न सरुवारोग भने वर्षायामका जोखिमयुक्त पक्ष हुन् । 

ncell

यस समयमा बाढी पहिरो र डुबानले खानेपानीलाई प्रदूषित बनाउँछ । वर्षायामसँगै विभिन्न सरुवा रोगको जोखिम पनि बढ्ने गरेको छ । डेंगु, झाडापखाला, हैजा, स्क्रब टाइफस, लेप्टोस्पाइरोसिस, फंगल संक्रमणलगायतका रोग प्रत्येक वर्ष मनसुनमा बढ्ने भएकाले स्वास्थ्य क्षेत्रको प्रमुख चिन्ताको विषय बनेको छ । नेपालमा स्क्रब टाइफस संक्रमण विज्ञान, क्लिनिकल विशेषता, निदान र जटिलताः एक व्यवस्थित समीक्षा (२०२३)ले मनसुन र त्यसपछिको समय स्क्रब टाइफसको उच्च जोखिम अवधि भएको निष्कर्ष निकालेको छ । 
उक्त अनुसन्धानले नेपालमा स्क्रब टाइफसलाई मनसुन र मनसुनपछिको समयमा बढ्ने महत्वपूर्ण सार्वजनिक स्वास्थ्य समस्याका रूपमा औंल्याएको छ । उक्त स्क्रब टाइफसको संक्रमणसँगै ज्वरो आउने, भोक नलाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, छालामा डाबर आउने, जन्डिस हुनेलगायतका समस्या आउने अध्ययनले देखाएको छ ।  

विशेषगरी यस समयमा रोगको निगरानी बढाउने, समुदायमा जनचेतना फैलाउने, छिटो परीक्षण गर्ने र समयमै उपचार उपलब्ध गराउने हो भने संक्रमण, जटिलता र मृत्युदर घटाउन सकिने अध्ययनको निष्कर्ष छ । अध्ययन अनुसार वर्षा र आद्र्रताले त्यस समयमा झाडी तथा घाँस बढी बढाउने, स्क्रब टाइफस सार्ने चिगर (लार्भा माइट)का लागि अनुकूल वातावरण बन्ने, किसान तथा खेतबारीमा काम गर्ने मानिससँग सम्पर्क बढ्ने भएकाले संक्रमणको जोखिम पनि बढ्छ । स्वास्थ्य विज्ञका अनुसार वर्षायामको वातावरण रोग फैलनका लागि अत्यन्त अनुकूल हुन्छ । 

मनसुन सुरु भएसँगै पानी तथा खानाजन्य रोगका बिरामी बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले जनाएको छ । अस्पतालका निर्देशक डा.अनुप बास्तोलाका अनुसार, वर्षायाममा दूषित पानी र अस्वस्थ खानाका कारण झाडा पखाला, आउँ (डिसेन्ट्री)लगायतका पानीजन्य रोगका बिरामी बढ्ने गरेको छ । यससँगै डेंगु र मलेरियाका बिरामी पनि अस्पतालमा आउने क्रम बढ्ने गरेको छ । मनसुनको समयमा झाडा पखाला, आउँ, डेंगु र मलेरियाका बिरामी अस्पतालमा नियमित रूपमा देखिने गर्छन् । यो मौसममा यस्ता रोगको जोखिम बढ्ने भएकाले खानपान र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

चिकित्सकहरूले यस्ता सरुवा रोगबाट जोगिन उमालेर वा सुरक्षित पानी  पिउन, ताजा तथा सफा खाना खान, हात धुने बानी बसाल्न र लामखुट्टेको टोकाइबाट जोगिन झुलको प्रयोगलगायतका उपाय अवलम्बन गर्न आग्रह गर्ने गरेका छन् । ज्वरो, पखाला वा अन्य संक्रमणका लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा उपचार गराउन पनि सुझाव दिन्छन् । 

सरुवा रोगको जोखिम

मनसुनको समयमा मानिसको जीवनशैली, दूषित पानीको प्रयोग र जलवायु परिवर्तनका कारण सरुवा तथा मौसमी रोगको जोखिम बढ्ने गरेको छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, वर्षायाममा मानिस बाहिर खाने, दूषित पानी पिउने तथा सरसफाइमा कमी हुने भएकाले पानी तथा खानाजन्य संक्रमण बढ्ने सम्भावना रहन्छ । मनसुनमा मानिसको व्यवहार पनि रोग फैलिने एउटा महत्वपूर्ण कारण हो । यो समयमा तिर्खा बढी लाग्ने भएकाले जहाँ पायो त्यहीँको पानी पिउने प्रवृत्ति हुन्छ । यदि पानी दूषित भयो भने विभिन्न सरुवारोग फैलिने जोखिम बढ्छ । 

मनसुनमा भाइरल संक्रमणका घटनासमेत बढ्ने सम्भावना रहन्छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि भइरहेकाले लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने र त्यसले डेंगुजस्ता रोग थप फैलिन सक्ने चिकित्सकहरू बताउँछन् । तापक्रम बढ्दै जाँदा डेंगुको जोखिम पनि बढ्न सक्छ । जलवायु परिवर्तन र मौसमी रोगबीचको सम्बन्धबारे थप अनुसन्धान आवश्यक छ । अनुसन्धानका आधारमा रोगको पहिचान, नियन्त्रण र नीतिगत व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । 

डेंगुको प्रारम्भिक लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, शरीरमा राता दाना देखिने तथा अत्यधिक कमजोरी महसुस हुने गर्छ । समयमै उपचार नपाए केही बिरामीमा रक्तस्राव र रक्तचाप घट्न गई ज्यानै जोखिममा पर्ने अवस्था आउन सक्ने उनले बताए । मनसुनजन्य रोग रोकथामका लागि प्रभावकारी अनुसन्धान र नीतिगत कार्यान्वयन आवश्यक रहेको छ । 

विशेषज्ञका अनुसार, डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको प्रजननस्थल नष्ट गर्नु हो । घरवरिपरि पानी जम्न नदिने, पानी राख्ने भाँडालाई छोपेर राख्ने, त्यस्ता भाँडाकुडा कम्तीमा हप्तामा एकपटक सफा गर्ने, झुलको प्रयोग गर्ने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउनुपर्छ । मनसुनको समयमा ज्वरो वा अन्य संक्रमणका लक्षण देखिएमा घरमै बसेर औषधि सेवन गर्नुको सट्टा स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनुपर्छ । 

सम्बन्धित खबर