
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले देशको राजनीतिक तथा ऐतिहासिक विकासमा योगदान पुर्याएका अग्रज व्यक्तित्वप्रति सम्मानको भावना विकास गर्नुपर्ने बताएका छन् ।
उनले विशेष गरी युवा पुस्ताले इतिहास, त्यससँग जोडिएका व्यक्तित्व र उनीहरूको योगदानलाई बुझ्ने तथा सम्मान गर्ने संस्कार आवश्यक रहेको उल्लेख गरे ।
तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले जेन जेड आन्दोलनका क्रममा सरकारी संरचना, महत्वपूर्ण अभिलेख, विभिन्न राजनीतिक नेताका निवास तथा ऐतिहासिक महत्वका सामग्रीमा आगजनी भएको उल्लेख गरे । यस्ता घटनाले राजनीतिक र बौद्धिक सम्पदा मात्र नभई सम्बन्धित संस्थाहरूले समेत दीर्घकालीन क्षति व्यहोर्नुपरेको उनको भनाइ थियो ।
उनका अनुसार आगलागीका कारण नेकपा एमालेको पुस्तकालयमा सुरक्षित रहेका बहुमूल्य पुस्तक र सामग्रीसमेत नष्ट भएका थिए ।
नेपालले पछिल्लो समय समाजमा हिंसा र आगजनीका घटनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले व्यक्ति, परिवार र सम्पत्तिमाथि गम्भीर असर पार्ने बताए । अरूमाथि हुने क्षतिलाई आफ्नै जीवनसँग जोडेर सोच्ने संस्कार विकास गर्न आवश्यक रहेको उनको धारणा थियो ।
उनले समाजमा सहिष्णुता, आपसी सम्मान र जिम्मेवारीबोधलाई सुदृढ बनाउँदै हिंसात्मक प्रवृत्तिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरे ।
कार्यक्रममा नेपालले प्रत्येक व्यक्तिले आफ्ना कामको समीक्षा गर्दै सही र गलत व्यवहारको मूल्यांकन गर्नुपर्ने उल्लेख गरे । समाजमा विनाश र हिंसालाई प्रोत्साहन गर्ने प्रवृत्तिभन्दा संवाद, संयम र उत्तरदायित्वको संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।