२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

इरानमाथि आक्रमण रोक्न साउदी युवराजले दिएका थिए ट्रम्पलाई दबाब

Nada
२०८३ साउन १७ गते १४:५५
Shares
इरानमाथि आक्रमण रोक्न साउदी युवराजले दिएका थिए ट्रम्पलाई दबाब

काठमाडौं : इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान (एमबीएस) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दबाब दिएको खुलेको छ ।

ncell

उनले ट्रम्पसँग टेलिफोन वार्ता गर्दै इरानविरुद्ध प्रस्तावित ठूलो सैन्य आक्रमण नगर्न र मध्यपूर्वको तनाव संवादमार्फत् समाधान गर्न आग्रह गरेका खुलेको एक्सियोसले जनाएको छ ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार युवराज सलमानले ट्रम्पलाई तनाव थप बढाउने कदमबाट टाढा रहन र कूटनीतिक समाधानलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

ट्रम्प प्रशासनले इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा गरेको क्षेप्यास्त्र आक्रमण र होर्मुज जलडमरूमध्यमा जहाज आवागमन अवरुद्ध गरेको आरोप लगाउँदै इरानका ऊर्जा पूर्वाधारमाथि ठूलो सैन्य कारबाहीको विकल्पमाथि विचार गरिरहेको छ । यद्यपि ट्रम्पले हालसम्म अन्तिम आदेश भने जारी गरेका छैनन् ।

साउदी सरकारी समाचार एजेन्सी एसपीएका अनुसार युवराज सलमानले क्षेत्रीय तनाव कम गर्न संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले कूटनीतिक प्रयासमार्फत क्षेत्रीय सुरक्षा र स्थायित्व कायम राख्न तथा व्यापक युद्धको जोखिम रोक्न आवश्यक रहेको बताएका छन् ।

वार्ताका क्रममा अमेरिका र साउदी अरेबियाबीचको द्विपक्षीय सहकार्यका विषयमा पनि छलफल भएको थियो । यसअघि ट्रम्पले साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमानसँग पनि भेटवार्ता गरेका थिए। उक्त भेटमा साउदी पक्षले इरानसँगको तनाव घटाउने पक्षमा रहेको सन्देश दिएको बताइएको छ ।

उता इरानले अमेरिका वा इजरायलले आक्रमण गरे, वा त्यसमा क्षेत्रीय मुलुकहरूले सहयोग गरे, आफूले कडा र समानुपातिक जवाफ दिने चेतावनी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर तथा साउदी र टर्कीका विदेशमन्त्रीसँग छुट्टाछुट्टै वार्ता गर्दै सम्भावित अमेरिकी आक्रमणबारे छलफल गरेका छन् ।

यसैबीच कतारको मध्यस्थतामा इरान, अमेरिकी विशेष दूत स्टिभ विटकफ र ओमानका अधिकारीबीच होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा वार्ता भएको छ । स्रोतहरूका अनुसार वार्तामा केही प्रगति भए पनि त्यसले तत्काल संकट समाधान गर्ने वा नगर्ने अझै स्पष्ट भइसकेको छैन ।

मध्यपूर्व मामिलाका विश्लेषक रोस ह्यारिसनका अनुसार ट्रम्पले प्रस्तावित आक्रमण तत्काल स्थगित गरेपछि इरानले यसलाई अमेरिका सम्भावित व्यापक युद्धको जोखिमबाट पछि हटेको संकेतका रूपमा लिन सक्छ ।

उनका अनुसार होर्मुज जलडमरूमध्य पुनः सञ्चालनबारे अमेरिका र इरानबीच स्पष्ट सहमति नभएसम्म वास्तविक रूपमा तनाव कम भएको मान्न सकिँदैन ।

सम्बन्धित खबर