२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कांग्रेसइतर समूहको नेतृत्वमा शशांक

Nada
जीवन शर्मा
२०८३ साउन १७ गते ०६:२०
Shares
कांग्रेसइतर समूहको नेतृत्वमा शशांक

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरूले अन्ततः विभाजनउन्मुख बाटो रोजेका छन् । विशेष महाधिवेशनबाट पारित नीति र नेतृत्वलाई अस्वीकार गर्दै समानान्तर राजनीतिक गतिविधि गर्दै आएको यो समूहले शनिबार पूर्वमहामन्त्री डा.शशांक कोइरालालाई भेला आयोजक समितिको नेतृत्वमा चयन गर्‍यो । पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूले राष्ट्रिय भेलाका नाममा छुट्टै समिति बनाएका हुन् ।   

ncell

कसलाई नेता मानेर जाने भन्ने अन्योलबीच समानान्तर राजनीतिक कार्यक्रम चलाउँदै आएको यो समूहले शनिबार औपचारिक रूपमा समिति गठन गरेको हो । उक्त समितिको नेतृत्व पूर्वमहामन्त्री डा.शशांक कोइरालाले गर्ने भएका छन् । लामो समयदेखि यो समूह नेतृत्वका विषयमा अलमलमा थियो ।  

शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयबाट कांग्रेसको असन्तुष्ट समूहले कोइरालाको संयोजकत्वमा समिति बनाएसँगै कांग्रेस संस्थापनइतरका नेता डा.शशांक कोइराला नै बने । यसअघि यो समूहको नेतृत्व गर्दै आएका पूर्णबहादुर खड्का भने छायामा परेका छन् । नेता बन्ने दौडमा पूर्वउपसभापति प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत तयार थिए । तर, बिपी कोइरालाले जन्माएको नेपाली कांग्रेस बिपीपुत्र शशांकको हातमा पुर्‍याएर कांग्रेसको नेतृत्व कोइरालालाई नै सुम्पेको सन्देश दिन खोजिएको नेताहरूले बताएका छन् । 

पूर्वउपसभापति पूर्णबहादुर खड्काकै नेतृत्वमा समिति बनाउने प्रयास पनि नभएको होइन । ‘नेता पूर्णबहादुर खड्काकै पहलमा धेरै राजनीतिक गतिविधि गरियो,’ सो समूहका नेताले एनपी साउदले भने, ‘उहाँकै नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाउने विषयमा पनि छलफल भएका थिए । तर, अहिलेसम्म कुनै समूहकेन्द्रित कार्यक्रममा नेतृत्वदायी भूमिकामा नरहेका नेता डा.शशांकलाई कोइरालालाई आगामी राष्ट्रिय भेलाको नेता बनाउने सहमति जुट्यो ।’ डा.कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको साउदले बताए । यो समूहले आगामी साउन २९ गते राष्ट्रिय भेलाको आयोजना गरेको छ । कोइरालाको नेतृत्वमा जाँदा अर्को पक्षका नेता कार्यकर्तासमेत समेटिन सक्ने यो समूहको आकलन छ । 

शीर्ष नेताहरूले डा.शेखर कोइरालालाई सभापति मानेर नयाँ पार्टी दर्ता गर्ने विषयमा इतर समूहका नेताहरूबीच निरन्तर छलफल भए पनि शेखरले पार्टी विभाजन गराउनेगरी आफूले नेतृत्व नलिने बताउँदै आएका छन् । उनले मानेका भए शनिबार गठन गरिएको राष्ट्रिय भेला आयोजक समितिको नेतृत्व समेत डा.शेखरले नै गर्ने थिए ।  

इतर समूहले गर्न लागेको राष्ट्रिय भेलालाई व्यवस्थित गर्न मूल समितिसहित विभिन्न उपसमितिसमेत बनाइएको छ । भेला आयोजक समितिमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारी, महानगर तथा नगर सभापति समावेश गरिएको छ । त्यस्तै, संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको नेता मीन विश्वकर्माले बताए । ‘हामी साउन २९मा राष्ट्रिय भेलाको तयारीमा छौं,’ उनले मध्यान्हसँग भने, ‘उक्त भेलालाई थप व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा मूल समिति र अन्य उपसमितिहरू निर्माण गरेका छौं ।’ 

राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समिति गठन गरिएको नेता विश्वकर्माले बताए । जसअन्तर्गत राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति छन् । व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन र स्वास्थ्य समितिलगायत निर्माण गरिएको छ । शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि प्राथमिकता दिइएको नेताहरूले बताएका छन् ।  

मूल आयोजक समितिसहित १६ वटा समिति गठन भएको र यी समितिहरूलाई केन्द्रीय कार्यसमितिको बैठकबाट पूर्णता दिइने नेता विश्वकर्माले बताए । मूल आयोजक समितिबाहेकका अन्य विषयगत समितिको नेतृत्व र सदस्यहरूको चयन आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट यथाशीघ्र टुंगो लगाइने उनको भनाइ छ ।  

‘आन्तरिक चुनौतीलाई सम्बोधन गर्न छुट्टै भेला’ 

संस्थापनइतर समूहका नेता डा.शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको बताए । पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिनुपर्ने उनको भनाइ छ । नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भुमरीमा रुमल्लिएको भन्दै उनले यसको प्रत्यक्ष असर कांग्रेसमा परेको दाबी गरे । उनले ०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणामाथि सांघातिक आक्रमण र कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थालाई समेत स्मरण गरे । त्यस्तो संकटका बेला एकताको आवश्यकता रहे पनि वर्तमान नेतृत्वबाट त्यसो हुन नसकेको उनले आरोप छ । ‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसंग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन,’ नेता कोइरालाले भने ।  देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले पछिल्लो समय नागरिक स्वतन्त्रता र मानव अधिकार संकुचित हुँदै गएको र लोकतान्त्रिक संविधानमाथि प्रहार भइरहेकोसमेत टिप्पणी गरेका छन् ।

पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टता कायम गर्न आयोजना गरिएको राष्ट्रिय भेलामा वर्तमान तथा पूर्वपदाधिकारीहरू, सांसदहरू, प्रदेश तथा जिल्ला सभापतिहरू, भ्रातृसंगठनका प्रतिनिधिहरू र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीहरूलाई निमन्त्रणा गरिएको डा.कोइरालाले बताएका छन् । यो अभियानमा पार्टीका अर्का नेता डा.शेखर कोइरालाको पूर्ण समर्थन रहे पनि व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेको उनले दाबी गरेका छन् । 

सम्बन्धित खबर