
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय पपुलिजम, अवसरवाद र अराजकताको जगमा भएको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय शक्तिको रूपमा उदय भएको छ, यसको पतनको सम्भावना पनि उत्तिकै रहेको दाबी गरेका हुन् ।
उनले रास्वपा नेपाली राजनीतिको लागि दीर्घकालीन चुनौती नभएको उल्लेख गर्दै यसलाई सहजै सामना गर्न सकिने बताए ।
रास्वपाजस्ता शक्तिलाई सामना गर्न एमालेले आफूलाई वैचारिक र सांगठनिक रूपमा तयार पार्नुपर्नेमा उनले जोड दिए । महासचिव पोखरेलले पार्टीबाट टाढिएको नयाँ पुस्ता, आधारभूत वर्ग र मध्यम वर्गको भरोसा पुनः जित्न आवश्यक रहेको औंल्याए ।
समाजमा रहेका विभिन्न भाषा, संस्कृति र समुदायलाई पार्टीसँग जोड्नका लागि नीतिहरू अद्यावधिक गर्नुपर्ने, कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने र सांगठनिक ढाँचामा सुधार गर्दै पार्टीलाई पुनर्गठित गर्नुपर्ने उनको भनाइ छ । महासचिव पोखरेलले पार्टी अहिले सोही दिशामा अगाडि बढिरहेको समेत स्पष्ट पारे ।