
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय संयोजन समितिको बैठक आह्वान गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बोलाइएको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था, तराई-मधेस क्षेत्रमा देखिएका घटनाक्रम तथा प्रदेश सरकार गठनसँग सम्बन्धित विषयमा छलफल हुने छ ।
बैठकमा प्रदेश तहमा नेकपा एमालेसँग सत्ता सहकार्यका लागि भएको तीनबुँदे सहमतिका विषयमा समेत समीक्षा हुने जनाइएको छ । समसामयिक राजनीतिक परिस्थितिका आधारमा पार्टीको आगामी रणनीति र समन्वयका विषयमा पनि छलफल हुने बताइएको छ ।