२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

‘टाइम्ड आउट’ विवादपछि क्यानले माग्यो माफी

Nada
२०८३ जेठ २१ गते १६:३२
Shares
‘टाइम्ड आउट’ विवादपछि क्यानले माग्यो माफी

काठमाडौं : एसिसी महिला प्रिमियर कप अन्तर्गत नेपाल र भुटानबीच बिहीबार सम्पन्न खेलमा भएको ‘टाइम्ड आउट’ घटनाले क्रिकेट वृत्तमा व्यापक चर्चा पाएको छ । खेलका क्रममा भुटानकी ब्याटर रिट्सी छोडेनलाई ‘टाइम्ड आउट’ गरिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक रूपमा माफी माग्दै उक्त घटना क्रिकेटको मूल्यमान्यता र खेलभावनाअनुकूल नभएको स्वीकार गरेको छ ।

ncell

नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले इनिङ्सको पहिलो बलमै पहिलो विकेट गुमाएको थियो । नेपाली बलर कविता कुँवरले ओपनर नगवान छोडेनलाई पहिलो बलमै बोल्ड गरेपछि भुटान दबाबमा परेको थियो ।

पहिलो विकेट पतनपछि तेस्रो नम्बरमा ब्याटिङका लागि आउनुपर्ने रिट्सी छोडेन निर्धारित ९० सेकेन्डभित्र क्रिजमा उपस्थित हुन सकिनन् । त्यसपछि नेपाली खेलाडीहरूले नियमअनुसार अम्पायरसमक्ष ‘टाइम्ड आउट’को अपिल गरे। अपिलपछि अम्पायरले रिट्सीलाई आउट घोषणा गरेका थिए ।

क्रिकेटको नियमअनुसार कुनै ब्याटर आउट भएपछि अर्को खेलाडी विशेष वा प्राविधिक कारणबाहेक ९० सेकेन्डभित्र क्रिजमा आइपुग्नुपर्छ । निर्धारित समयभित्र खेलाडी नआए विपक्षी टोलीले ‘टाइम्ड आउट’को अपिल गर्न सक्ने व्यवस्था छ। अपिल स्वीकृत भएमा सम्बन्धित खेलाडी आउट मानिन्छ ।

रिट्सी छोडेन यही नियमको शिकार बन्ने विश्व क्रिकेट इतिहासकै तेस्रो खेलाडी बनेकी छन् । यद्यपि, विपक्षी टोलीले अपिल नगरेको भए उनी आउट हुने अवस्था रहने थिएन ।

घटनापछि सामाजिक सञ्जाल र क्रिकेट समुदायमा नेपालले खेलभावनाविपरीत व्यवहार गरेको भन्दै आलोचना सुरु भएको थियो । त्यसलगत्तै क्यानले विज्ञप्ति जारी गर्दै संस्थाको धारणा सार्वजनिक गरेको हो ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भुटानी ब्याटरलाई ‘टाइम्ड आउट’ गराइएको घटनाले नेपाल क्रिकेट संघले जोगाउन र प्रवर्द्धन गर्न खोजेको क्रिकेटको मूल्य र खेलभावनालाई प्रतिबिम्बित नगर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उक्त आउट क्रिकेटका नियमअनुसार भएको भए पनि खेलको भावना केवल लिखित नियममा सीमित हुँदैन । खेलभावना सधैं हाम्रो आचरणको केन्द्रमा रहनुपर्छ भन्ने हामी स्वीकार गर्छौं ।”

क्यानले नेपालको महिला राष्ट्रिय टोलीको उक्त कदमप्रति संस्थाका तर्फबाट हार्दिक क्षमायाचना व्यक्त गर्दै क्रिकेट विकासको चरणमा रहेको राष्ट्रका रूपमा खेलभावना, पारस्परिक सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याएको छ ।

संघले घटनाले अपेक्षित मापदण्ड पूरा गर्न नसकेको स्वीकार गर्दै त्यसबाट कसैलाई निराशा पुगेको भए दुःख व्यक्त गरेको छ । साथै भुटान क्रिकेट, सम्बन्धित खेलाडी तथा सम्पूर्ण सरोकारवालाप्रति पनि क्यानले औपचारिक रूपमा क्षमा मागेको छ ।

क्यानले मैदानभित्र र बाहिर दुवै स्थानमा इमान्दारिता, उच्च नैतिक मापदण्ड तथा क्रिकेटको भावनालाई कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।

सम्बन्धित खबर