२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

युवाको नेतृत्व किन ?

shivam cement
२०८२ भदौ २७ गते ०६:००
युवाको नेतृत्व किन ?

–खगेन्द्र पौडेल

नेतृत्व कुनै पनि समाज, संस्था वा राष्ट्रको विकासको मेरुदण्ड हो । नेतृत्वले दिशा मात्र देखाउँदैन, उसले साथ पनि दिन्छ र परिवर्तनको खाका तयार गर्छ । इतिहासले देखाएको छ, जब नेतृत्व प्रभावकारी र समयानुकूल हुन्छ, समाजमा क्रान्तिकारी परिवर्तन सम्भव हुन्छ । आजको सन्दर्भमा, जब विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ, नेतृत्वको ढाँचा पनि परिवर्तन हुनु अपरिहार्य छ । यस्तो परिवर्तनशील समयमा युवाको भूमिका अत्यन्तै महत्वपूर्ण बन्न पुगेको छ ।

युवा शक्तिमा असीम सम्भावना लुकेको हुन्छ । उनीहरूमा जोस, ऊर्जा, सृजनशीलता र परिवर्तनको भावना बलियो हुन्छ । समाजका यथास्थितिवादी ढाँचालाई तोडेर नयाँ सोच र नवीन दृष्टिकोण ल्याउने सामथ्र्य युवामा हुन्छ । नेतृत्वको क्षेत्रमा पनि यिनै विशेषता आवश्यक हुन्छन् । त्यसैले आजको युगमा नेतृत्वमा युवाको उपस्थिति मात्र चाहिँदैन, त्यो अनिवार्य छ ।

नेतृत्व भन्ने बित्तिकै धेरैले राजनीतिक नेतृत्वको मात्र कुरा गर्छन् । तर नेतृत्व विभिन्न तह र क्षेत्रका लागि आवश्यक हुन्छ– शैक्षिक, सामाजिक, आर्थिक, प्रविधि, वातावरणीय, सांस्कृतिक सबै क्षेत्रमा नेतृत्वको आवश्यकता उत्तिकै छ । यी सबै क्षेत्रमा युवा नेतृत्वले नवीन दृष्टिकोण ल्याउन सक्छ, जसले दीर्घकालीन र समावेशी समाधानहरू प्रदान गर्न सक्छ ।

युवामा नेतृत्व क्षमताको विकास गरिनु आवश्यक छ, किनभने नेतृत्व जन्मसिद्ध गुण मात्र होइन, सिकिने प्रक्रिया पनि हो । विद्यालय, विश्वविद्यालय, सामाजिक संस्था वा अनौपचारिक समूहहरू मार्फत युवा नेतृत्वको विकास सम्भव छ । जब युवालाई जिम्मेवारी दिइन्छ, उनीहरूले नेतृत्व गर्ने क्षमता विकास गर्छन् । समाजले उनीहरूको विचारलाई सम्मान र स्वीकार्यता दिनुपर्छ, ताकि उनीहरू स्वतन्त्र रूपले सोच्न, निर्णय गर्न र कार्यान्वयन गर्न प्रेरित हुन सकुन् ।

नेपालको सन्दर्भमा हेर्दा, युवा जनसंख्या देशको ठूलो हिस्सा हो । तथापि, निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सीमित देखिन्छ । परम्परागत सोच, अनुभवको नाममा गरिएको बहिष्कार र संरचनात्मक बाधाहरूले गर्दा युवा नेतृत्वको विकासमा अवरोध आएको छ । यस्तो अवस्थामा युवाले मात्र होइन, सम्पूर्ण समाजले सोच बदल्न आवश्यक छ । अनुभवी पुस्ताले युवालाई प्रतिस्पर्धी होइन, सहयात्रीका रूपमा लिन सक्नुपर्छ । तब मात्र पुस्तान्तरण सन्तुलित हुन्छ र नेतृत्व निरन्तरता पाउँछ ।

युवा नेतृत्वले केवल परम्परा तोड्दैन, उसले नयाँ दिशा पनि दिन सक्छ । आजको डिजिटल युगमा युवाहरू प्रविधिमा दक्ष छन्, उनीहरू वैश्विक सोच राख्छन् र स्थानीय समस्यालाई पनि अन्तर्राष्ट्रिय सन्दर्भमा बुझ्न सक्षम छन् । यस्तो क्षमता भएको नेतृत्वले नीति निर्माणदेखि कार्यान्वयनसम्म परिवर्तन ल्याउन सक्छ । विशेषतः जलवायु परिवर्तन, लैङ्गिक समानता, समावेशिता, नवप्रवर्तन जस्ता मुद्दाहरूमा युवा नेतृत्व अत्यन्तै प्रभावकारी हुन सक्छ ।

नेतृत्वमा युवा हुनुको अर्को महत्वपूर्ण पक्ष हो नैतिकता र पारदर्शिता । धेरैजसो युवा भ्रष्ट संरचनाबाट आजित छन्, उनीहरू परिवर्तन चाहन्छन् र त्यसका लागि उनीहरू तयार छन् । जब नेतृत्वमा नैतिकता र जबाफदेहिता आउँछ, जनता र नेतृत्वबिचको दूरी घट्छ । युवाले यो दूरी घटाउन सक्छन्, किनभने उनीहरू जनताबिचकै हिस्सा हुन् र उनीहरू जनताको आवाजलाई सिधा प्रतिनिधित्व गर्न सक्षम छन् ।

युवाको नेतृत्व क्षमता विकासमा शिक्षा प्रणालीको भूमिका पनि उल्लेखनीय हुन्छ । पाठ्यक्रमले नेतृत्व सीप, आलोचनात्मक सोच, समस्या समाधान गर्ने क्षमता र समावेशी दृष्टिकोण विकास गर्न सहयोग पु¥याउनुपर्छ । त्यस्तै, राजनीतिक दलहरू, समाजसेवी संस्था, निजी क्षेत्र र राज्यका नीतिहरूले युवालाई निर्णय प्रक्रियामा समेट्न विशेष पहल गर्नुपर्छ । उदाहरणका लागि, युवा नीति बनाउँदा वा बजेट निर्माण प्रक्रियामा युवाको प्रतिनिधित्व सुनिश्चित गर्नु, स्थानीय तहमा युवा परिषद्हरूको प्रभावकारिता बढाउनु आदि ।

युवा नेतृत्वले समाजमा विश्वास जगाउन सक्छ । जब कुनै समुदाय वा संस्था युवा नेतृत्वतर्फ आकर्षित हुन्छ, त्यो समुदायले भविष्यप्रति आशा राख्न थाल्छ । किनभने युवा नेतृत्व परिवर्तनको प्रतीक हो– उनीहरू नयाँ कुरा ल्याउँछन्, संवाद गर्छन्, लचिलो हुन्छन् र जोखिम लिन तयार हुन्छन् । यस्तो नेतृत्वले समाजलाई गतिशील बनाउँछ ।

तर, यो पनि सम्झनु आवश्यक छ कि केवल युवा हुनु नेतृत्वको पर्याप्त शर्त होइन । नेतृत्वमा दृढता, दूरदृष्टि, सहनशीलता, निरन्तर प्रयास र समर्पण आवश्यक हुन्छ । युवा नेतृत्वले सफल हुन, उसले सिक्न तयार हुनुपर्छ, आलोचना ग्रहण गर्न सक्नुपर्छ र निरन्तर आत्ममूल्यांकनमा रहनुपर्छ । समाजले युवालाई अवसर दिँदा, युवाले पनि त्यसलाई जिम्मेवारीपूर्वक लिनुपर्छ ।

नेतृत्वमा युवाको चाहना मात्र होइन, आवश्यकता हो । जब युवालाई अवसर दिइन्छ, उनीहरू भविष्य निर्माण गर्छन् । उनीहरूले मात्र वर्तमानको समस्यालाई बुझेर समाधान दिन सक्ने होइन, उनीहरूले नै भविष्यका चुनौतीहरूको पूर्व तयारी गर्न सक्ने सामथ्र्य राख्छन् । त्यसैले नेतृत्वमा युवा चाहिन्छ, आजको लागि होइन मात्र, भोलिको सुनिश्चित भविष्यको लागि ।

ADV

सम्बन्धित खबर

Advertise