रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा नेपालको संविधान २०७२ को रक्षा र लोकतन्त्रको संरक्षणका लागि विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले संविधानमाथि खतरा, विदेशी हस्तक्षेपको वृद्धि र देशलाई सैनिकीकरणतर्फ धकेल्ने प्रयास भएको भन्दै चन्द्रनिगाहपुरमा साझा विरोध प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेससँग निकट व्यक्तिहरूको नेतृत्वमा भएको यो प्रदर्शनमा संविधानको रक्षा, राष्ट्रपतिको सक्रियता, भ्रष्टाचार र बेथितिको अन्त्य, साथै लोकतन्त्रको पुनर्बहालीको माग राखिएको थियो । नेपाली कांग्रेसका नेता मुकेश रंजनले प्रदर्शनमा यी मागहरू प्रमुख रूपमा उठाइएको बताए ।
प्रदर्शनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति राम स्नेही यादवले वर्तमान संविधानभित्रै समस्याहरूको समाधान खोज्नुपर्नेमा जोड दिए । उनले विदेशी हस्तक्षेप र सैन्य गतिविधिहरू लोकतन्त्रका लागि हानिकारक भएको बताउँदै नेपाली कांग्रेसले लोकतन्त्रसँग कुनै सम्झौता नगर्ने अडान राखे । साथै, उनले भ्रष्टाचार र बेथितिको अन्त्य गरी देशको अवस्थामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरे । उनले संविधान र व्यवस्थामाथि कुनै आँच आए त्यो सह्य नहुने चेतावनी दिए ।