क्वालालम्पुर (मलेसिया) : नेपालमा जेनजी आन्दोलनका कारण उत्पन्न असहज अवस्थाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान बन्द हुँदा मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआईए) मा झन्डै दुई सय नेपाली स्वदेश फर्किनबाट रोकिएका छन् ।
मलेसियाको अध्यागमन पार गरिसकेका तथा विभिन्न देशबाट ट्रान्जिट हुँदै आएका नेपाली यात्रुहरू विमानस्थलभित्रै अड्किनुपरेको नेपाली राजदूतावास, क्वालालम्पुरका जनसम्पर्क अधिकृत जयप्रकाश गिरीले जानकारी दिए ।
राजदूतावासका अनुसार स्वदेश पर्खाइमा बसेका ती नेपालीहरूलाई खानाको व्यवस्था तथा आवश्यक सहजीकरण गरिएको छ । खानाको व्यवस्था गर्न राजदूतावासको समन्वयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, व्यवसायी तथा विभिन्न संघसंगठनले सहयोग गरेका छन् ।
दूतावासका कर्मचारीहरू स्वयं विमानस्थलभित्र प्रवेश गरेर भोकभोकै रहेका यात्रुहरूलाई खाना वितरण गरेका थिए । दुई दिन बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल आंशिक रूपमा सञ्चालनमा आइसकेको छ । नेपालमा पूर्ण रूपमा उडान पुनःस्थापना नभए पनि छुटपुट हवाई उडानहरू सुचारु हुन थालेका छन् ।