चितवन : चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ ।
नेपाल अण्डा उत्पादक संघले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुनेगरी ठुलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५ सय ४५ र मझौला अण्डाको ५ सय ३० कायम गरिएको छ । यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा २३ कायम गरिएको छ ।
नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६ दशमलव ५६ रुपैयाँ रहेको छ भने नयाँ मूल्यअनुसार किसानले ठुलो अण्डाको प्रतिगोटा १८ दशमलव १६ रुपैयाँमा पाउने भएका छन् । लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गरेका छन् ।
यसवर्ष साउन महिनामा समेत माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने अध्यक्ष पोखरेलले बताए । अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइसकेका छन् । उनले हाल कुखुरा पालिरहेका किसानसमेत विगतको नोक्सानका कारण संकटमा रहेको बताए ।
नेपाल अण्डा उत्पादक संघका पूर्वकेन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा हाल २२ लाखको हाराहारीमा झरेको जानकारी दिए ।