काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘सीप मेला २०८२’ मा संस्थागत साझेदारको रूपमा सहभागिता जनाएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा साझेदारी गर्दै युवालाई सीपमार्फत् सक्षम बनाउने अभियानलाई सहयोग पुर्याएको हो ।
महानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त मेला सीप नभएकालाई सीप सिकाउने र आधारभूत सीप भएका व्यक्तिलाई अझ दक्ष बनाउने लक्ष्यका साथ सञ्चालन भइरहेको छ । मेला अन्तर्गत १० विधामा ३७ पेशासँग सम्बन्धित तालिमहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिँदै छन् । मेलाको मूल उद्देश्य रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौं महानगर क्षेत्रको समृद्धि सुनिश्चित गर्नु हो ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ‘सीप मेला २०८२’ लाई अवसर मात्र नभई युवाको भविष्य निर्माण गर्ने अभियानका रूपमा लिएको बताए । उनले भने, ‘यो मेला युवालाई मार्गदर्शन, सीप र सुरक्षा दिने मात्र होइन, स्वरोजगारको बाटो खोल्ने सम्भावनाको ढोका पनि हो ।’
मेलामा नेपालभरिका युवाहरू सहभागी भइरहेका छन् । कसैले पहिलोपटक सीप सिक्ने अवसर पाएका छन् भने कसैले जीवनलाई नयाँ दिशा दिँदै छन् । मेलामा सहभागीहरूले रोजगार र आत्मनिर्भरताका लागि आवश्यक सीप, अवसर र हौसला पाइरहेका छन् । तालिम हरेक दिन तीन सिफ्टमा सञ्चालन भइरहेको छ, जसमा प्रत्येक कक्षामा २५ जना सहभागी रहने व्यवस्था गरिएको छ ।