काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सकारात्मक भए पनि यसको सफल कार्यान्वयनमा चुनौती रहेको सरोकारवालाहरूले बताएका छन् ।
शुक्रबार एभिन्यूज एचडी खबर टेलिभिजनद्वारा आयोजित ‘एभिन्यूज एजेण्डाः बजेट प्रभाव’ शीर्षकको बहस कार्यक्रममा राजनीतिक दलका नेतादेखि पूर्व गभर्नर, व्यवसायी र सांसदहरू सम्मले बजेटको प्रभाव र कार्यान्वयनका पक्षमा धारणा राखेका हुन् ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट विगतका वर्षहरूभन्दा तुलनात्मक रूपमा राम्रो देखिए पनि कार्यान्वयनमै सबैभन्दा ठूलो चुनौती रहेको बताए ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटले कुनै नयाँ नीति वा कार्यक्रम प्रस्तुत नगरेको, बरु अघिल्ला कार्यक्रमकै निरन्तरतामा केन्द्रित रहेको टिप्पणी गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सीमित स्रोतका बीचमा परियोजनाहरू प्राथमिकता निर्धारण गरेर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले बजेट राम्रो आएको प्रतिक्रिया दिँदै सरकारलाई कार्यान्वयनमा बढी ध्यान दिन सुझाव दिए ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले बजेटले संसदीय समितिको अपेक्षा पूरा गर्न नसकेको बताए । यद्यपि, उनले केही सकारात्मक पक्षहरू रहेको स्वीकार गर्दै कार्यान्वयनमा गम्भीरता देखाउन सरकारलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बजेटले निजी क्षेत्रलाई उत्साहित बनाएपनि कतिपय विषय कार्यान्वयनमा कसरी आउँछ भन्नेबारे निजी क्षेत्रले हेरिरहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बजेटमा निजी क्षेत्रका कतिपय मागहरू सम्बोधन हुने प्रयास भएपनि निजी क्षेत्रहरूलाई राहत पुग्नेगरी ऐन, नियमहरू आउनुपर्ने बताए । उनले कतिपय ऐन, नियमहरू निजी क्षेत्रलाई अघि बढ्नका लागि अवरोधात्मक किसिमका भएको पनि बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष रत्नबहादुर खड्काले ठूला आयोजनाहरुको ठेक्का निजी क्षेत्रले लिएको भएपनि बजेट समयमै प्राप्त नहुँदा कार्यान्वयनमा ठूलो चुनौती आएको बताउँदै त्यसको अपजस भने निर्माण व्यवसायीहरुले मात्र पाउने गरेको बताए । उनले यस्तो स्थितिले निर्माण व्यवसायीहरूले आफू घाटामा भएर पनि काम गरिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले अस्थिर राजनीतिका कारण प्रायः सबै बजेट असफल हुने गरेको बताए ।
कार्यक्रममा सहभागी अन्य उद्योगी तथा व्यवसायीहरूले बजेटले निजी क्षेत्रका अपेक्षाअनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उक्त बहस कार्यक्रमअघि एभिन्यूज एचडी टेलिभिजनको औपचारिक शुभारम्भ पनि गरिएको थियो । कार्यक्रम एभिन्यूज एचडी टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा भएको थियो ।