२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

यो वर्ष भारत-बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

Nada
२०८३ कार्तिक २० गते १६:०५
Shares
यो वर्ष भारत-बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

काठमाडौं : सरकारले चालु आवभित्र ३० अर्ब रुपैयाँ बराबरको विद्युत् भारत-बंगलादेशमा निर्यात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् निर्यातबाट गत वर्षको तुलनामा बढी विद्युत् बेच्ने योजना बनाएको हो । प्राधिकरणकाअनुसार यस वर्ष ३० अर्ब रुपैयाँको विजुली निर्यात गर्ने योजना छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालसम्म करिव २४-२५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको यो वर्ष ३० अर्बको विद्युत् निर्यात हुने जानकारी दिए । पछिल्ला तीन–चार महिनामा प्रत्येक महिना करिब ५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको उनले बताए ।

उनकाअनुसार गत आर्थिक वर्षमा नेपालले करिव २९ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो । यस वर्ष भोटेकोसी बाडीले केही क्षति पुर्याएपनि वर्षा राम्रो भएकाले नदीमा पानीको बहाव बढेको र त्यसले विद्युत् उत्पादनमा समेत सहयोग पुर्‍याएको श्रेष्ठको भनाइ छ । विद्युत् उत्पादन बढ्दा निर्यातको परिमाण र आम्दानीसमेत गत वर्षभन्दा बढ्ने उनको भनाइ छ । नेपालले गत वर्ष २९ अर्बको बिजुली बेचेकोमा यसवर्ष ३० अर्ब पुर्‍याइने उनको भनाइ छ ।

नेपालले देशभित्रको विद्युत् माग पूरा गरी वचत भएको वर्षायामको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । भारततर्फ विद्युत् निर्यात दुई माध्यमबाट हुँदै आएको छ । द्विपक्षीय विद्युत् विक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् विक्री गरिन्छ भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे–अहेड तथा रियल टाइम बजारमा प्रतिष्पर्धी दरमा विक्री हुँदै आएको छ ।

द्विपक्षीय मध्यकालीन विद्युत् विक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ । यसरी भारतमा हुने विद्युत् व्यापारसँगै बंगलादेशमा समेत नेपालले वर्षायामको अतिरिक्त विद्युत् निर्यात गर्दै आएको छ ।

तर गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौताअनुसार स्वीकृति प्राप्त जलविद्युत् केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत् निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो ।

बाढीबाट प्रभावित आयोजनाको सट्टामा अन्य जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्ने व्यवस्था मिलाइएको प्राधिकरण श्रेष्ठले जानकारी दिए । भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य आयोजनाको विद्युत् बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि केही दिनअघिदेखि पुनः निर्यात शुरु गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । नयाँ व्यवस्थाअनुसार यसअघि स्वीकृति प्राप्त त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ । र सोहीअनुसार विजुली बेच्न थालिसकिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि ठुलो उपलब्धि भएको बताए । यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्‌को बजार व्यवस्थापन र क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ ।

laxmi recruitement

सम्बन्धित खबर