२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

धनतेरस : भाडाबर्तनदेखि गाडीसम्मको व्यापार

Nada
सपना बोहरा
२०८३ कार्तिक २० गते ०६:३०
Shares
धनतेरस : भाडाबर्तनदेखि गाडीसम्मको व्यापार

काठमाडौं : कालीमाटीकी सुन्धरा अधिकारी बिहीबार खाना तताउने ओभन किन्न असन पुगिन् । धनतेरसको अवसर पारेर केही नयाँ वस्तु घरमा भित्र्याउँदा समृद्धि बढ्ने उनको विश्वास छ । त्यसैले उनी हरेक वर्ष यस अवसरमा घरका लागि आवश्यक सामग्री किन्ने गर्छिन् । ‘घरमा अति आवश्यक पर्ने सामान यही अवसरमा किन्ने गरेका छौं,’ उनले भनिन्, ‘यसले घरको आवश्यकता पनि पूरा हुन्छ र धार्मिक परम्परा पनि जोगिन्छ ।’

अधिकारीजस्तै धनतेरसका लागि सामान किन्न बजार पुग्ने उपभोक्ताको चहलपहल बिहीबार काठमाडौंका विभिन्न बजारमा देखियो । आफ्नो आर्थिक क्षमता र आवश्यकताअनुसार कसैले भाँडाकुँडा किने त कसैले सुनचाँदीका गरगहना र सिक्का । घरायसी सामग्रीदेखि इलेक्ट्रोनिक्ससम्मका पसलमा ग्राहकको उपस्थिति बाक्लिएको थियो ।

हिन्दु धर्मावलम्बीले धन, स्वास्थ्य र समृद्धिको कामना गर्दै मनाउने धनतेरसमा नयाँ वस्तु घरमा भित्र्याउने परम्परा छ । विशेषगरी सुन, चाँदी, तामा र पित्तलका सामग्री तथा भाँडाकुँडा किन्ने चलन रहँदै आएको छ । नयाँ वस्तु खरिद गर्दा घरमा सुख, समृद्धि र सौभाग्य भित्रिने धार्मिक विश्वासले यस दिन बजारमा विशेष चहलपहल हुने गरेको हो ।

तर, धनतेरसको किनमेल संस्कृति पछिल्ला वर्षमा परम्परागत सामग्रीमा मात्र सीमित छैन । बदलिँदो जीवनशैली र प्रविधिको विस्तारसँगै उपभोक्ताको रोजाइ पनि फराकिलो भएको छ । सुनचाँदी र भाँडाकुँडासँगै मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोटरसाइकल र कारसम्म धनतेरसको खरिद सूचीमा पर्न थालेका छन् ।

विशेषगरी सहरी क्षेत्रमा वर्षभरि किन्ने योजना बनाएका सामग्री चाडपर्वको अवसर पारेर खरिद गर्ने प्रवृत्ति बढेको छ । युवापुस्ता नयाँ मोबाइल र ल्यापटप किन्न धनतेरसलाई अवसरका रूपमा लिन्छन् भने परिवारले घरका लागि आवश्यक विद्युतीय उपकरण खरिद गर्ने गरेका छन् । सवारीसाधन खरिद गर्ने उपभोक्ताले पनि चाडपर्वमा उपलब्ध हुने छुट र सुविधालाई ध्यान दिन थालेका छन् ।

धनतेरसको धार्मिक महत्त्व भगवान् धन्वन्तरिको कथासँग जोडिएको छ । पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरि अमृतको कलश लिएर प्रकट भएका थिए । आयुर्वेदका प्रवर्तक मानिने धन्वन्तरिको यस दिन पूजा गरिन्छ । धनकी देवी लक्ष्मी र धनका देवता कुबेरको आराधना गर्ने परम्परा पनि छ । त्यसैले धनतेरसलाई धनसम्पत्तिसँगै स्वास्थ्य र आरोग्यको कामना गर्ने पर्वका रूपमा लिइन्छ ।

फराकिलो व्यापार 

धनतेरसको बदलिँदो स्वरूपले व्यापारिक क्षेत्रलाई पनि नयाँ अवसर दिएको छ । पहिले यो पर्वमा सुनचाँदी तथा भाँडाकुँडा व्यवसायीको कारोबार बढी केन्द्रित हुन्थ्यो । अहिले मोबाइल, इलेक्ट्रोनिक्स र अटोमोबाइल व्यवसायीसमेत ग्राहक आकर्षित गर्न सक्रिय हुने गरेका छन् ।

व्यापारीले चाडपर्वलाई लक्षित गरी छुट, उपहार, नगद फिर्ता र किस्ताबन्दीजस्ता सुविधा उपलब्ध गराउने गरेका छन् । इलेक्ट्रोनिक्स व्यवसायीले नयाँ मोडल सार्वजनिक गर्ने र पुराना मोडलमा छुट दिने रणनीति अपनाउँछन् । मोटरसाइकल तथा कारका सोरुमले पनि विभिन्न अफरमार्फत ग्राहक आकर्षित गर्ने प्रयास गर्छन् ।

विशेषगरी महँगा सामग्री खरिद गर्दा उपभोक्ताले चाडपर्वमा पाइने छुट र अतिरिक्त सुविधालाई महत्त्व दिने गरेका छन् । यसले धनतेरसलाई परम्परागत सुनचाँदी र भाँडाकुँडाको कारोबारबाट विस्तार गर्दै विभिन्न व्यापारिक क्षेत्रको बिक्री प्रवर्धनको अवसर बनाएको छ ।

धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको धनतेरस अहिले उपभोक्ताको बदलिँदो आवश्यकता र बजारको विस्तारसँगै नयाँ स्वरूपमा देखिन थालेको छ । घरमा नयाँ वस्तु भित्र्याउने पुरानो विश्वास कायम रहे पनि त्यसको सूची भने समयसँगै फेरिएको छ । भाँडाकुँडाबाट सुरु भएको धनतेरसको किनमेल अब प्रविधि र सवारीसाधनसम्म फैलिएको छ ।

laxmi recruitement

सम्बन्धित खबर