२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

जीवनको कठिन यात्रामा सहजै हिँडिरहेका यात्री

अस्मिता बम
२०८२ जेठ २४ गते ०६:३५
जीवनको कठिन यात्रामा सहजै हिँडिरहेका यात्री

चितवन : गैंडाकोटका सडकमा एउटा ह्वीलचेयर गुडिरहन्छ । जसको पछाडि पट्टीको भागमा छ ‘क्रेट’ । क्रेटमा राखिएका छन् फिनेल, हार्पिक, पिताम्बरी आदि आदि...। अगाडिको भागमा सानो डिग्गी । जसमा छन् प्लास्टिकका झोलाहरू । ह्वीलचेयर हाँकिरहेका छन् कृष्ण सुवेदी । कृष्ण नवलपुरकाे गैंडाकोट–६ मा बस्छन् ।

झट्ट हेर्दा असामान्य देखिने कृष्ण उमेरले ३१ वर्ष पुगे । कृष्ण उमेरअनुसारका भने लाग्दैनन् । बोली तोते, हिँडाइ १ वर्षका नानीबाबुसरह घिस्रिदैं ।

शारीरिक अवस्थाले उनलाई ‘अपाङ्ग’को उपमा दिएको छ । उनको कम्मर मुनिको शरीरले काम गर्दैन तर उनको चेतनाको स्तर भने कम छैन । त्यही चेतनाले गर्दा कृष्ण अहिले गैंडाकोट क्षेत्रका परिचित व्यावसायी बनेका छन् । उनले प्रायः बेच्ने भनेको फिनेल, हार्पिक, पिताम्बरी हो । तर कहिले बदाम त कहिले सागका मुठा पनि उनको क्रेटमा देख्न सकिन्छ । 

कृष्ण यो अवस्थासम्म पुग्छन् उनका अभिभावकलाई लागेको थिएन । २०४९ सालमा दोस्रो सन्तान, त्यहीमाथि छोरा भएर जन्मिदा बुबा गंगप्रसाद सुवेदी र आमा राधा सुवेदी खुसी त भएका थिए । तर उनीहरूको खुसीमा बज्रपात पर्‍यो । भारतको केरलाको एक अस्पतालमा जन्मिएका कृष्णकाे तौल साढे १ किलो थियाे । उनलाई २/३ महिना आइसीयूमा राखिएको थियो । उनी जन्मिँदा न रोएका थिए न हल्लिएका । सास मात्रै चलेको थियो । डाक्टरहरूले बाँच्ने सम्भावना कमै रहेको बताएकाे बुबा गंगप्रसाद अहिले पनि सम्झिनछन् ।

‘बाबु जन्मिदा जम्मा १ किलो ५ सय ग्रामको थियो । डाक्टरहरूले बचाउन गाह्रो छ भने । बाँचे हुन्थ्यो लागेर उपचार अगाडि बढाएँ', निराश स्वरमा गंगप्रसादले पीडा पाेखे । त्यो समयमा केरालाकै एउटा संस्थामा उनी कार्यरत थिए र श्रीमतीसँगै त्यही बस्दै आइरहेका थिए । त्यसकारण पनि राम्रो अस्पताल छानेर उनी त्यहीँ गएका थिए । 

अस्पतालमा कृष्णकै जस्तो अवस्था भएका अन्य ४० जना बालबालिका पनि थिए र ती सबैका बुबाआमाको अवस्था गंगप्रसाद र आमा राधाको जस्तै, निराश, निरीह, थोरै आश र डर । उपचार अगाडि बढाउनु अघि डाक्टरले भनेको एउटा वाक्यले गंगप्रसादलाई झन् बढी कमजोर बनाएको थियो । डाक्टरले भनेका थिए, ‘इन्जेक्सन लाउँदा बाबु रोयो भने बाच्छ, नभए बाँच्दैन ।’ आमालाई झन् पीडा हुन्छ भनेर यो कुरा गंगप्रसादले आफूसँग मात्र राखे । श्रीमती राधालाई भनेनन् ।

डाक्टरको कुराले गंगप्रसादमा छोरा बाँच्छ कि भन्ने थोरै आशा थियो । त्यही आशमा छोराको रुवाइ सुन्न उनी आतुर पनि थिए । पहिलो सुइ लाग्यो, छोरा रोए । गंगप्रसाद र राधा पनि । महिनौदेखि भारी भएको उनीहरूको मन छोराको रुवाइमा हलुङ्गो भयो । ‘बाबुलाई इन्जेक्सन लाउँदा पहिलो इन्जेक्सनमै रोयो, अस्पतालको हलै थर्काउने गरेर । उनले रुँदा त सबथोक पाए झैँ लाग्यो,’ त्यस बेलाको घटना सम्झदै उनले भने ।

कृष्णको बाँकी उपचार सोही अस्पतालमा चलिरह्यो । तर १ वर्षको हुँदासम्म पनि उनले हातखुट्टा नचलाउँदा डाक्टरहरूले उनको हड्डीको परीक्षण गरे । परीक्षणबाट कृष्णलाई गर्भबाटै पोलियो लागेको खुल्यो । यो कुरा गंगले आजसम्म कसैलाई भनेका थिएनन् । राधाले पनि कृष्णलाई गर्भबाटै पोलियो भएको कुरा आफ्ना श्रीमानले मध्यान्हसँग कुरा गरिरहँदा मात्र थाहा पाएकी हुन् । ‘बाबु ४ वर्षमा हिड्छ, ५ वर्षमा हिड्छ’ भन्दै गंगले राधालाई सान्त्वना दिइरहे । तर उनी कहिल्यै हिँडेनन् । 

उपचार हुन्छ भनि उनीहरूले कृष्णलाई केरलाबाट काठमाडौं ल्याए । सम्भव भएन । अपाङ्गता केन्द्रमा राख्ने कुरा पनि भयो तर राधाले मानिनन् । त्यसपछि उनीहरू गैंडाकोट फर्किए । १ वर्षसम्म घरमै डाक्टर बोलाएर कृष्णको उपचार पनि गरे । फरक नपरेपछि उपचार रोकियो र घरेलु स्याहार–सुसारमा उनी हुर्किन थाले । राधालाई भने लागिरह्यो, ‘मेरो छोरा पनि अरुका छोराछोरी जस्तै गरी हिडिँदिए, दौडिदिए, खाइदिए, पढिदिए ।’ तर कृष्ण कहिल्यै सामान्य बालबच्चा जस्ता भएनन् । यसैलाई स्वीकारे गंग र राधाले । 

शरीरले गर्ने काम सामान्य मानिस जसरी कृष्णले गर्न नसक्लान् । तर अहिले उनको चेतना र चलाखीले गरिरहेको काम कतिपय सामान्य मानिसले पनि गर्न सक्दैनन् । 

२०७२ देखि ह्वीलचेयरमै राखेर पुराना पत्रिका, बदाम, फर्सीका मुन्टा, मकै बेच्दै कृष्णले जिविकोपार्जन गरिरहेको छन् । भन्छन्, ‘अपाङ्गले समान्य मानिस जस्तै काम गरेर खानुपर्छ भनेर मैले व्यवसाय थालेको हुँ ।’

सुरुका दिनमा भने ‘अपाङ्गले के गर्ला, कति दिन बेच्दो रैछ हेरौंला’, लगायतका कुरा पनि कृष्णले सुने । तर कसैको कुराको परवाह नगरेर उनी आफ्नो काममा निरन्तर लागि रहे । उनको सहजताका लागि गंगले इलेक्ट्रिक ह्वीलचेयर पनि किनिदिएका छन् भने फिनेल हार्पिकहरू पनि उनले नै राखिदिएका हुन् । कृष्णले आफ्नो खर्च आफै जुटाउँछन् र दैनिक बचत पनि गर्छन् । अपाङ्ग छ भनेर कसैले सित्तैमा पैसा दिन खोज्दा उनी लिँदैनन् । बरु आग्रह गर्छन्, ‘म मागेर खान्न, सामान किन्नु, त्यसको पर्ने पैसा दिनु, एउटै सामान लगेर भएपनि मलाई सहयोग गर्नु ।’

एउटा आँटिलो सन्तानको रूपमा कृष्ण चिनिन्छन् । यही आँटले कृष्ण अहिले नगरस्तरीय अपाङ्ग संघको अध्यक्ष पनि भएका छन् । मैत्री सामुदायिक विकास प्रतिष्ठानको उपाध्यक्ष पदमा पनि उनी छन् । योसँगै गैंडाकोटबाटै साप्ताहिक रूपमा प्रकाशित हुने ‘विजय खबर’को वितरकको पनि काम गर्छन् । अपाङ्ग हुँ भन्दै आफूलाई कमजोर सोचेर घरमै थन्केर नबस्न र मागेर पनि नहिँड्न उनको सुझाव छ । हिम्मतका साथ केही गर्न खोजे सामान्य मानिस जस्तै बाँच्न सकिन्छ भन्ने उदाहरण पनि उनी बनेका छन् । आगामी दिनमा अझै प्रयास गरेर समाज सेवा गर्ने उनको विचार छ । उनको यो स्वभाव र जीवन भोगाइ हेर्दा अप्ठ्यारो छ । तर उनी यसलाई सरल यात्राको रूपमा लिएर अनवरत हिँडिरहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर