काठमाडौं : गत १०–१३ असोजमा परेको अविरल वर्षाका कारण २४ किलोमिटर भागमा क्षति भएको र कम्तीमा १३ किलोमिटर कटान भएको बीपी राजमार्ग बर्खा लागेपछि नियमित संचालन गर्ने कुरा चिन्ताको विषय बनेको छ ।
हिउँदमा खोलाबाटै अस्थायी सडक बनाएर यातायात संचालनमा ल्याइएको उक्त सडक खण्डमा बर्खायाममा यातायात संचालनमा अवरोध हुने पक्का छ ।
पूर्वी तराई तथा पूर्वी पहाड र काठमाडौंसम्मको यात्रा सहज गर्ने विषयमा यसको विकल्पको पूर्वतयारी गर्नुपर्ने नागरिकले चिन्ता व्यक्त गरेका छन् ।
धुलिखेल–बर्दिबास जोड्ने यो राजमार्गको २४ किलोमिटर भागमा क्षति पुगेको थियो । बाढीले कटान गरेको १३ किलोमिटरभन्दा बढी सडकको भाग डाइभर्सन गरेर अहिले अस्थायी रूपमा संचालन भइरहेको छ ।
जापान सरकारको सहयोगमा निर्माण भएको १५८ किलोमिटर लामो उक्त राजमार्ग झन्डै २ दशक लगाएर २०७१ सालमा सम्पन्न भएको थियो ।
नेपालमा मध्यजेठदेखि सुरु हुने मनसुन असोजसम्म रहने मौसम विज्ञहरूले बताएका छन् । यो अवधिमा नियमित यातायात आवतजावत गर्न प्रयोग हुने यो सडकखण्डमा फेरि कोशी पस्ने र अस्थायी संरचना बगाउने त्रास सबैलाई छ ।
उक्त अवधिभर राजमार्ग पूरै बन्द गर्नुभन्दा उच्च बाढी आएको समयमा मात्र बन्द गर्नेगरी अस्थायी संरचना तयार गरिएको सरकारी अधिकारीहरू बताउँछन् । बीपी राजमार्गलाई गत बाढीअघिको अवस्थामा ल्याउन कम्तीमा पनि २ वर्ष लाग्ने सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए ।
‘२ वर्षसम्म त्यो बाटो कसरी चलाउने भनेर हामीले अस्थायी संरचना निर्माण गरेका त छौं’, उनले भने, ‘तर, अहिले यातायात चलिरहेको कोशी किनारको सडकमा बर्खामा सवारी चल्दैनन् । केही ठाउँहरूमा पानीको बहावले नभेट्नेगरी अस्थायी संरचना पनि बनाएका छौं । सडक क्षति भएको करिब १३ किलोमिटरमै त्यो अवस्था छैन । त्यसैले, बर्खा लाग्नुअघि नै केही विकल्पको खोजी हुनुपर्छ भन्ने छलफल सम्बन्धित निकायमा चलेको पनि छ ।’
अहिले खोलाको सतहभन्दा २ देखि ५ मिटरसम्म पुरेर गाडी चलाउने काम भइरहेको र त्यो काम १५ जेठसम्म सक्नेगरी लागेको उनको भनाइ छ । ‘पहिलाको जस्तो विपद् आयो भने त लगिहाल्छ तर साधारण अवस्थामा बर्खामा पनि चलाउन मिल्नेगरी २ देखि ४ मिटरसम्म ग्याबिन पर्खाल उठाएर बनाइरहेका छौं’, उनले भने ।
बाढीले क्षति पु¥याएको खुर्कोट–भकुण्डेबेंसी खण्डको १३ किलोमिटर सवारी पार गर्न अहिले कम्तीमा डेढ घण्टा समय लाग्ने सवारी चालकहरू बताउँछन् ।
सडक विभागले बीपी राजमार्गबाहेक सडक स्तरोन्नतिको काम र भौतिक क्षतिका कारण अरनिको राजमार्ग, कान्ति राजमार्ग, गाईघाटबाट खोटाङ जाने सगरमाथा राजमार्ग, मेची राजमार्ग, पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड र पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन खण्डमा बर्खाको समयमा यात्रा प्रभावित हुन सक्ने जनाएको छ ।
विभागका अनुसार उक्त सडक खण्डको पुनर्निर्माणका लागि सडक विभागलाई सरकारले ८ दशमलव ५ अर्ब बराबरको ठेक्का लगाउन अनुमति दिएको छ । क्षतिग्रस्त सडकलाई विभिन्न खण्डमा विभाजन गरेर छुट्टाछुट्टै ठेक्काको प्रक्रिया अघि बढिरहेको विभागका उपमहानिर्देशक अर्यालको भनाइ छ ।
अहिले ५ किलोमिटरभन्दा बढी ठाउँमा खोला डाइभर्सन गर्ने, गहिर्याउने र सडकको ट्र्याक उचाल्ने काम भइसकेको छ । बीपी राजमार्गको बिग्रिएको भागलाई ४ खण्डमा विभाजन गरी ठेक्का आह्वान भएको छ ।
सिन्धुलीतर्फको १ खण्ड र काभ्रेतर्फको २ खण्डको ठेक्का आह्वान भइसकेको छ । काभ्रेतर्फको डालाबेंसीदेखि चारसयबेंसी र चारसयबेंसीदेखि भकुण्डेबेंसीसम्मको खण्डको ठेक्का आह्वान भइसकेको हो ।
जाइकाको सहयोग
पुननिर्माण गर्नुपर्ने यो सडकको केही भाग भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बनाइदिने भएको छ । बीपी राजमार्गअन्तर्गत बर्खे खोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किलोमिटर खण्ड जाइकाले बनाइदिने सुनिश्चित भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।
‘बर्खे खोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किलोमिटरसम्मको खण्ड जाइकाले बनाइदिन तयार भएको छ’, उनले भने, ‘नेपाल सरकारसँग सम्झौताको तयारी उनीहरूले गरिरहेका छन् । केही दिनभित्रै सम्झौता हुन्छ ।’
उक्त खण्डका लागि २ अर्ब ६३ करोड नेपाली रुपैयाँ बराबर अनुदान दिन जाइका तयार भएको शर्माको भनाइ छ । उक्त क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि नेपाल सरकारले पटक–पटक जाइकालाई आग्रह गरेको थियो ।
नेपाल सरकारको आग्रहअनुसार जाइकाले उक्त सडकखण्ड बनाउन राजी भएको र त्यसको निर्णय भई सम्झौताको तयारी भइरहेको सचिव शर्माले जानकारी दिए ।