२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

विगतको ३१ बुँदे सहमति कार्यान्वयनमा एकता समितिको ध्यानाकर्षण

२०८२ वैशाख २७ गते ०६:४०
विगतको ३१ बुँदे सहमति कार्यान्वयनमा एकता समितिको ध्यानाकर्षण

काठमाडौं : नेपाल वैदेशिक रोजगार एकता समिति सामाखुसीले फेमिस समस्या समाधानसहित सामान्य उजुरीका आधारमा  व्यवसायीविरुद्ध जारी हुने पक्राउ पुर्जीले समस्या समाधान नगर्ने भन्दै मेलमिलाप प्रक्रियाबाट उजुरीको समाधान खोज्ने विषयलाई प्राथमिकतामा राख्न महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराएको छ ।

समितिका सल्लाहकारसमेत रहेका संघका पूर्वअध्यक्ष रोहन गुरुङले फ्रि भिसा फ्रि टिकट विरुद्धको आन्दोलनका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग संघले गरेको ३१ बुँदे सहमतिको दफा १६ मा विभागमा दिएका उजुरी एक वर्षभन्दा बढी अवधि भएमा ३५ दिने सूचना प्रकाशित गरेर छलफल गरी फरफारक गर्ने, निवेदक ३५ दिनभित्र नआएको अवस्थामा तामेलीमा राख्ने गरी भएको सहमतिअनुसार विभागले उजुरी फर्छ्यौटको प्रक्रिया अघि बढाउनुपर्ने र सहमतिको २० नम्बर बुँदामा उल्लेखित करार अवधि अगावै कामदार आफ्नो कारणले स्वदेश फिर्ता भए, रोजगारदाताको भिसा र अन्य खर्च क्षतिपूर्ति दिएर स्वदेश फर्के पश्चात् क्षतिपूर्तिको दाबी नगर्ने गरी भएको सहमति अक्षरशः कार्यान्वयनमा लैजानुपर्ने माग गरे ।

समितिका सल्लाहकार एवं नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रप्रसाद ढकालले सामान्य उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरेर समस्याको समाधान नहुने भन्दै व्यवसायीलाई पत्र काट्नु अघि विभागमा बोलाएर अनिवार्यरूपमा छलफल चलाएर कामदार तथा व्यवसायी दुवैलाई मर्का नपर्ने गरी छलफल चलाउनु पर्ने, कन्सल्ट्यान्सी वा भिजिट भिसामार्फत गएकालाई श्रम स्वीकृति प्रदान गर्दा समस्या सिर्जना भएकाले त्यस्तो प्रक्रिया रोक्न माग गरे ।

समितिका उपाध्यक्ष तारानाथ अर्यालले फेमिसको समस्या तुरुन्तै समाधान गर्नुपर्ने, निर्देशिका भन्दा बाहिर गएर वैदेशिक रोजगार प्रक्रियामा रहेका राहदानीसमेत जफत गरेर व्यवसायीलाई पुर्जी काटेर सास्ती दिने प्रवृत्ति रहेकाले त्यसको अन्त्य गरिनुपर्ने माग गरे । उनले हाल भारत र पाकिस्तानबीचको द्वन्द्व थप चर्किएर हवाई तथा स्थलमार्ग बन्द भएको अवस्थामा नेपाली कामदारको सुरक्षित आवागमनको विकल्पबारे समयमै छलफल भइ व्यवसायीलाई आश्वस्त गरिनुपर्नेमा महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराए ।

समितिका कार्यवाहक अध्यक्ष खड्कबहादुर क्षेत्रीको नेतृत्वमा गएको समितिको प्रतिनिधिमण्डलमा पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । समितिका महासचिव मधुकर रिजालले कार्यक्रम संचालन गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर