२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

श्रमिकलाई नछोएको श्रमिक दिवस

दिवाकर अधिकारी
२०८२ वैशाख १८ गते ०६:३०
श्रमिकलाई नछोएको श्रमिक दिवस

काठमाडौं : आज १ मे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिकहरूले आफूले प्राप्त गरेको अधिकारको समीक्षा गर्ने र थप अधिकारका लागि प्रयास गर्न प्रण गर्ने दिन । ‘८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम’ भन्ने नारासहित सन् १८८६ मा अमेरिकाको सिकागोबाट सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा नेपाली श्रमिकहरूको अवस्था कस्तो छ त ?

नेपालको संविधान, २०७२ को धारा ३३ ले रोजगारीको हक र धारा ३४ ले श्रमको हक सुनिश्चित गरेको छ । अर्थात्, प्रत्येक नागरिकलाई रोजगारीको हक संवैधानिक रूपमा प्राप्त छ । तर, यसको कार्यान्वयन पक्ष अत्यन्त फितलो छ ।

सरकारले देशभित्रै पर्याप्त रोजगारीको अवसर सिर्जना गर्न सकेको छैन । परिणाममा नेपालका लाखौं युवा–युवती विदेशी भूमिमा विदेशीका लागि आफ्नो श्रम र पसिना खर्चन बाध्य छन् ।

विदेशमा रहेका नेपाली श्रमिकको अवस्था कस्तो छ त ? 

एमनेस्टी इन्टरनेसनलका अनुसार विदेशमा नेपाली कामदारहरूको मानवअधिकारको अवस्था सन्तोषजनक छैन । नेपालबाट जाँदादेखि नै उनीहरूमाथि शोषण हुने गरेको छ । 

‘अवैध भर्ना शुल्क तिर्दै र उचित श्रम सुरक्षाबिना हजारौं नेपाली युवाहरू खाडी देशहरू, मलेसिया र अन्य मुलुकहरूमा कठिन र जोखिमपूर्ण कामका लागि रोजगारीमा छन्’, सन् २०२४ मा आप्रवासी श्रमिकहरूको अधिकारबारे एमनेस्टी इन्टरनेसनलले आफ्नो प्रतिवेदनमा लेखेको छ । 

नेपालभित्रकै श्रमिक र आप्रवासी श्रमिकका विषयमा नीति निर्माण तहमा रहेकाहरू लामो समयदेखि छलफलमा छन् । संसद्मा समेत यो विषय उठ्ने गरेको छ । तर, व्यवहारमा नेपाली श्रमिकमाथि र कामदारको हितमा धेरै काम गर्नुपर्ने संसदीय अध्ययनहरूले नै देखाउँछन् । 

यसअघि प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाडी मुलुकमा रहेका नेपाली कामदारहरूको अवस्थाको स्थलगत अध्ययन गरेका थिए । १२ दिनसम्म खाडी मुलुकमा रहेर गरेको अध्ययनबाट फर्किएपछि उनीहरूले अध्ययनका क्रममा देखिएका दृश्य समितिको बैठकमा ब्रिफिङ गरेका थिए । 

उनीहरूका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई)को अजमान सिटीमा एउटा एरिया छ, जहाँ बंगलादेशी, अफ्रिकी र नेपाली घरेलु कामदार आपूर्ति गर्ने एजेन्सीहरु छन् । एजेन्सीमा ग्राहक आउँछन्, युवक–युवती हेर्छन्, छान्छन् र मनपरेकालाई लैजान मोलमोलाई गर्छन् । 

कुनै पशुको खरिद–विक्री गरेझैं लाग्ने यो दृश्य अजमान सिटीमा मान्छेकै हकमा देख्न सकिन्छ, जहाँ १ जनाको ५ लाखदेखि ६ लाख रुपैयाँमा लैजाने विषयमा बार्गेनिङ हुन्छ । 

कामदार लैजाने दलालले प्रतिव्यक्ति नेपाली डेढ लाखदेखि २ लाखसम्म कमिसन पाउँछन् । यस्तो कार्य यति कडा हुन्छ कि उक्त एरियाका एजेन्सीहरुले कामदार कारोबारमा निकै सतर्कता अपनाउँछन् ।

वास्तविक ग्राहक हो भनेर विश्वस्त नभई कार्यालयमा बोलाउँदैनन् । बाहिर पनि सीसीटीभी निगरानीका साथै बाउन्सर परिचालित हुन्छन् । कसैले फोटो, भिडियो खिचे बाउन्सरहरू लगाएर डिलिट गराउँछन् ।

संसदीय समितिको प्रतिवेदनअनुसार मध्यम तथा अर्धशिक्षित परिवारका श्रमिकहरू मलेसिया, साउदी अरब, कतार, कुवेत, यूएई पुग्ने गरेका छन् । यी देशहरूको भाषा, धर्म, संस्कृति, रीति–रिवाज, चालचलन तथा शासन व्यवस्था एकै प्रकारको छ । सबै मुलुकहरूमा इस्लामिक धर्मअनुसारको कानुनी व्यवस्था छ ।

तर, साउदी अरबमा अत्यन्त कठोर पुरातनपन्थी कानुन रहेकाले त्यहाँका कतिपय नेपाली श्रमिकको अवस्था अन्य मुलुकमा भन्दा धेरै दयनीय छ । 
संसदीय समितिको अध्ययन प्रतिवेदनअनुसार नेपाल सरकारले रोक्दारोक्दै अवैध बाटोबाट जानेहरूमा सम्बन्धित देशको भाषा, चालचलन, ट्राफिक नियम जस्ता सामान्य विषयमा समेत ज्ञान नहुँदा बढ्ता समस्या भोग्ने गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘अधिकांश घरेलु श्रमिक कुन ठाउँमा छु भनेरसमेत बताउन नसक्ने अवस्थामा भएकाले दूतावासबाट उद्धार गरेर ल्याउन पनि कठिनाइ भएको पाइयो ।’ 

साउदीमा घरेलुबाहेक निर्माण तथा उद्योग क्षेत्रमा धेरै नेपाली कामदार छन् । प्रतिवेदनअनुसार उनीहरू पनि समस्यामा छन् । ‘एउटै कोठामा धेरै श्रमिकहरू राख्ने, स्वस्थ र वातावरणमैत्री कोठा नहुने, खानपिनको राम्रो प्रबन्ध नहुने, पर्याप्त आराम गर्न नदिने, सानो कमजोरीमा ठूलो सजाय दिनेजस्ता समस्या रहेका पाइयो’, प्रतिवेदनमा उल्लेख छ ।

नेपालले श्रमिक दिवस मनाइरहँदा स्वदेशभित्रै रोजगारीको अवसर सिर्जनामा जोड दिनुपर्ने, विदेशमा रोजगारीमा जानेका लागि मर्यादित व्यवहार र वातावरणका निम्ति राज्यले पहल लिनुपर्ने, तब मात्र श्रमिक दिवस मनाउनुको सार्थकता झल्किने सरोकारवालाहरू बताउँछन् ।

ADV

सम्बन्धित खबर