२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

ठाकुर बेलवासेले ल्याए ‘चोटहरूको उत्सव’

मध्यान्ह
२०८२ वैशाख १९ गते १९:१९
ठाकुर बेलवासेले ल्याए ‘चोटहरूको उत्सव’

काठमाडौं : सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासेको कविता संग्रह ‘चोटहरूको उत्सव’ सार्वजनिक गरिएको छ । शुक्रबार डिल्लीबजारस्थित भोजनगृहमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी, गायिका आनी छोइङ डोल्मा, भरत बस्नेतलगायतले बेलवासेको कृति ‘चोटहरूको उत्सव’ सार्वजनिक गरेका हुन् ।

सुनकोशी वाङ्मय प्रतिष्ठान, काभ्रेपलाञ्चोकले बजारमा ल्याएको कविता संग्रह ‘चोटहरूको उत्सव’मा ३८ वटा कविता संग्रहित छन् । जसमा ‘तिमी अर्थात् तिमी’, ‘एउटा हठात् घटना !’, ‘जिन्दगी एउटा अर्को नसा’, ‘सौन्दर्य शक्ति’लगायतका कविता संग्रहित छन् ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै वरिष्ठ साहित्यकार दिवसले ठाकुरका ‘चोटहरूको उत्सव’मा रहेका कविताहरूले प्रेम आफैंमा दर्शन हो भन्ने कुरालाई स्थापित गरेको बताए ।

उक्त कविता संग्रहमा प्रेम, सम्बन्ध, प्रकृतिप्रेम, सौन्दर्य शक्तिलगायतका विषयमा कविताहरू रहेको लेखक बेलवासेले जानकारी दिए । उनले कविता संग्रहमार्फत् संकटमा आफ्नो मान्छेको पहिचान हुन्छ भन्ने भावलाई जोड दिएका छन् भने बिछोडिनुपर्दाका पीडाहरू कवितामा अभिव्यक्त भएका छन् । गरिबीको स्पर्शमा रमाउने भुइँमान्छेका मनोदशापूर्ण भावहरूको चित्रण कविताहरूले गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको सभापतित्वमा भएको विमोचन कार्यक्रमको संचालन शुभारम्भ प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गरेका थिए भने विमोचनपश्चातको कार्यक्रम संचालन कवि वेलबासे आफैंले रोचक शैलीमा गरेका थिए ।

पूर्णबहादुर श्रेष्ठ हृदयंकृतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विमोचित कृतिका कविताहरू कवियत्री शोभा अधिकारी, कवि विश्व सिग्देल, मणि लोहनी, सोझो गाउँले र हेम प्रभासले वाचन गरेका थिए ।

१२४ पृष्ठको कविता संग्रहको मूल्य २५० रुपैयाँ रहेको छ भने यसको वितरकमा भुँडीपुराण प्रकाशन, बागबजार काठमाडौं रहेको छ ।

ADV

सम्बन्धित खबर