प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई बुधबारको बैठकमा सांसद कल्पना मियाँ कुसारीले माइक प्रहार गरिन् । संसदीय समितिको बैठकमा ढिलोगरी पुगेकी कुसारीले समय नलिइ बोल्न थालेकी थिइन् । उनलाई रोक्न खोज्दा सभापति साहमाथि माइक प्रहार सहित केही आरोप समेत लगाइन् । सभापति साहमाथि आफ्नो नेम प्लेट र माइक प्रहार गर्ने कुसारी नेकपा माओवादी केन्द्रका सांसद हुन् । उनको व्यवहार र शैली सही होइन । लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने सचेत व्यक्तिले मात्र नभएर सामान्य सामाजिक दृष्टिले पनि हातपातमा उत्रनु आपत्तिजनक कुरा हो । अझ सांसद जस्तो व्यक्ति संयम् नबन्नु दुखद् छ । यद्यपि यस्ता गतिविधि थुप्रै पटक संसद बैठकहरुमा देखिदै आएको छ ।
तर सभापति साहलाई सांसद कुसारीले माइक प्रहारका पछाडि उनीहरुको राजनीतिक पृष्ठभूमिले काम गरेको देखिन्छ । किनकि साह माओवादी छोडेर स्वतन्त्र हुँदै नेकपा एमाले पुगेका नेता हुन् । एमालेकै कोटाबाट उनी संसदीय समितिको सभापति निर्वाचित भएका थिए । एमाले पृष्ठभूमिका सभापति साह हुनु र सांसद कुसारी माओवादी हुनुको परिणाम् बुधबारको संसद् बैठकमा देखियो । सार्वजनिक लेखा समितिको बुधबारकै बैठकको दृष्यले अझ प्रष्ट हुन सकिन्छ । लेखा समितिका सभापति पनि एमालेकै नेता ऋषिकेश पोखरेल छन् । माओवादी सांसद अमनलाल मोदीले एमालेबारे टिप्पणी गर्दा बुधबारको संसदीय समिति बैठक चर्काचर्कीमै परिणत भएको थियो । एमाले सांसदहरु योगेश भट्टराई र गोकुल बाँस्कोटा सभापति पोखरेलको बचाउमा उत्रिएका थिए भने मोदीलाई सघाउन माओवादी सांसद राजन दाहाल बोलेका थिए । एकअर्का पार्टीविरुद्ध भनाभन नै भएको थियो ।
यी दुई समिति बैठकको दृष्यले संसदीय समिति अन्तर्वस्तुमा नभएर दलगत प्रतिष्ठाको बन्धक बनिरहेको सहज अनुमान लगाउन सकिन्छ । जबकि संसदीय प्रणालीमा संसदीय समितिहरुलाई महत्वूर्ण रुपमा लिइने गर्छ । मुलुकको समसामयिक एजेण्डादेखि दीर्घकालीन नीति निर्माणबारे सम्म यस्तै समितिमा गहिरिएर विमर्श गरिने मान्यता राखिन्छ । फुल हाउससम्म एजेण्डा लैजाने र त्यहाँ टुंगिन नसकेका कुरा संसदीय समितिहरुमा लामो छलफल मार्फत् टुंग्याउन गरिन्छ । तर हाम्रोमा संसदीय समितिहरु दलगत उपस्थितिको प्रभावमा रहेको भाष्यलाई बुधबारका दुई दृष्यबाट पुष्टि गर्न सकिन्छ । जुन प्रवृत्ति सच्याउन जरुरी छ ।