जुम्ला : वि.सं २०७३ सालमा बिहान झिसमिसेमा ट्याक्टर लिएर बालुवा लिन गएका जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ७ निवासी हरिचन्द्र रावल दुर्घटनामा परे । सो ट्याक्टरमा बसेका एक जनाको मृत्यु भयो भने एक अर्का साथीको खुट्टा भाँचियो ।
हरिचन्द्र रावललाई भने नसामा समस्या भएपछि उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, नेपालगन्ज मेडिकल कलेज,हुँदै भारतको लखनऊसम्म पुर्याइयो ।
उपचारका लागि महंगो खर्च भयो । तर पूर्ण रुपमा सन्चो भने भएन ।
दुर्घटनापछि घरखेत बेचेर काठमाडौं, बनेपासहितका विभिन्न अस्पतालमा परिवारले उपचारका लागि लग्यो । तर सन्चो नभएपछि घर फिर्ता भए ।
झण्डै ८ वर्षदेखि उनको घरमै स्याहार सुसार भइरहेको छ । अहिले पनि उपचार गर्न लखनऊ जाने योजना रहेको छ ।
प्राकृतिक वा दुर्घटनाको कारणले धेरै व्यक्ति अपाङ्गता भएका छन् । तर हरिचन्द्रको फरक छ । उनकोे स्याहार सुसारमा दिनरात लागेकी आमा कर्मकाली रावल भन्छिन्, ‘अहिले दिसापिसाब गर्न सक्दैन । दुवै खुट्टा चल्दैनन्, दाया हात चन्दैन, दिसापिसाव गर्न पेटमा पाइप राखिएको छ । डाक्टरले दिसा पिसावका लागि पहिले एक ठाउँबाट पाइप हालेका थिए । त्यहाँ घाउ बल्झिएपछि अर्को ठाउँबाट पाईप जोडिएको छ । अहिले त्यहाँ पनि घाउ बल्झियो । घाउ सफा गर्ने, औषधी खाने पैसा छैन् ।’
हरिचन्द्र पूर्ण अशक्त भएर ओछ्यानमा थन्किएपछि आफु पनि उसैको स्याहार सुसारमा ९ वर्षदेखि लागेको आमा कर्मकलीले बताइन् ।
‘घरमा आम्दानी छैन, भएको उसको नामको सम्पत्ति समेत बिक्रि गरेर बस्ने घर पनि उपचारका लागि धितो राखिएको छ । आम्दानी केही छैन, छोराको दिसापिसाव स्याहार्न मात्रै मासिक २,३ हजारको पञ्जा चाहिन्छ, २० हजारको औषधि चाहिन्छ । घाउ बल्झिदै गयो । अहिले त ह्विल चेयर पनि छैन । बोेकेर अस्पताल घाउ सफा गर्नका लागि ल्याउन कठिन छ । मासिक खाना जुटाउन समेत कठिन भएको छ’ उनले भनिन् ।
हरिचन्द्रका बुबा कर्मसिंह रावल पनि बिरामीले थलिएका छन् । पेट र पाइल्सको शल्यक्रियापछि झन् बिग्रेर दैनिक जीवनयापन गर्न कठिन भइरहेको उनले बताइन् । आमा कर्मकलाले कोही दयालु महानुभाव भएमा छोराको उपचारका लागि सहयोग गर्न अपिल गरिन् ।
हरिचन्द्र पूर्ण अशक्त भएपछि श्रीमतिले पनि अर्कै विवाह गरेकी परिवारले बताएका छन् ।
आमाले अर्कै विवाह गरेर गएपनि छोरी भने हरिचन्द्रको साथमा जेनतेन पढिरहेकी छन् ।
कमाउने छोरा दुर्घटना परेर पिडैपिडा खेपेको परिवारले स्थानीय सरकारसँग पनि उपचार खर्च माग गरेपनि नपुगेको बताउँछन् । अघिल्लो कार्यकाल कान्तिका सेजुवाल नगरप्रमुख हुँदा २५ हजार रुपैयाँ उपचारका लागि चन्दननाथ नगरपालिकामा माग गरेका थियौं । तर अहिले पाएका छैनौं । शरिरमै दिसापिसाव गर्ने, घाउ बल्झिरहेका व्यक्तिलाई राज्यले यथाशिघ्र उपचार गर्नुपर्ने हुन्छ ।
यता चन्दननाथ नगरपालिकाका महिला तथा बालबालिका शाखा महिला विकास निरीक्षक पुष्पा थापाले उनको उपचारका लागि पहल गरिने बताइन् ।
यता अपाङ्गता भएका व्यक्तिलाई सरकारले निःशुल्क उपचार गर्ने भएपनि हुन नसकेको राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपानेले बताए ।