बर्दिया : बर्दियाको राजापुरमा आधारभूत र माध्यमिक तहका शिक्षकहरुलाई ‘समावेशी शिक्षण सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम’ सञ्चालन गरिएको छ ।
गुड नेर्वस इन्टरनेशनल नेपाल÷यूकेको प्राविधिक सहयोग, एजुकेशन अपरचुनिटी फाउण्डेशनको आर्थिक सहयोगमा तथा दिगो उद्यम तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र (सेवक नेपाल) कैलालीको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिममा समावेशी शिक्षा सम्बन्धी नीतिगत व्यवस्था, प्रारम्भिक पहिचान प्रक्रिया, वैयक्तिक शैक्षिक योजना निर्माण, समावेशी शिक्षण विधि, समावेशी शैक्षिक सामग्री निर्माण र प्रयोग, समावेशी विद्यार्थी मूल्यांकन, विद्यालयमा समावेशी सिकाइ वातावरण निर्माण लगायतका विषयवस्तुहरु सहजीकरण गरिएको गुड नेर्वस इन्टरनेशनल नेपालका कलस्टर संयोजक अरुण कुमार चौधरीले बताए । जेठ २ गतेसम्म संचालन भएको तालिममा मधुवन,राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पन्ध्र विद्यालयका तीस जना शिक्षकहरुको सहभागिता थियो ।
तालिम सीपमूलक र विद्यालय उपयोगी रहेको सहभागी शिक्षकहरुले बुझाइ छ । विद्यालयमा हुने शैक्षिक गतिविधिहरुलाई समावेशी नजरबाट हेर्न र अभ्यास गर्न अवसर प्रदान गरेको बताउँदै उनीहरुले भने ‘तालिमले कक्षा शिक्षण गर्दा बहुमाध्यममा आधारित विधिहरु तथा बहुमाध्यमका सामग्रीहरु प्रयोग गर्न सिकाएको छ । जसले एउटै कक्षामा फरक–फरक क्षमता र अपाङ्गता भएका बालबालिकाहरुलाई पनि सजिलै सिकाउन सकिन्छ भन्ने सीप सिकाएको छ ।’