काठमाडौं : मोरङमा कोशी प्रदेशका चार जना सांसद सवार गाडी दुर्घटनामा परेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ खण्डमा पूर्व–पश्चिम राजमार्गको बेलबारीबाट झापातर्फ गइरहेको बा. ५ च ३५३० नम्बरको निजी कार र विपरीत दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको अर्को कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
बा. ५ च ३५३० नम्बरको कार जिल्ला प्रहरी कार्यालय, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्र खड्का आफैंले चलाइरहेका थिए । उनी एक्लै सवार थिए भने अर्को बीएई १४०६ नम्बरको कारमा कोशी प्रदेशका चार जना सांसदहरू सवार थिए । सांसदहरूमा मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ रहेका छन् । उनीहरू सबै विराटनगरमा हुन गइरहेको कोशी प्रदेशसभा बैठकमा सहभागी हुन यात्रा गरिरहेका थिए ।
सांसदहरू सवार कार चालक भेशराज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार, दुर्घटनामा संलग्न दुवै गाडीमा सवार व्यक्तिहरूको अवस्था सामान्य रहेको छ । उनीहरूलाई तत्काल उद्धार गरी प्राथमिक उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।