नेकपा माओवादी केन्द्र यतिबेला मध्य पहाडी लोकमार्ग केन्द्रीत ‘जनतासँग माओवादीः जागरण अभियान’मा छ । गत २ जेठमा बैतडीको पाटनबाट उद्घाटन भएको अभियान आइतबार कर्णालीको दैलेख पुगेको हो । पोखरासम्मको अभियान तालिका सार्वजनिक छन् भने त्यसपूर्वको कार्यक्रम तालिका तय हुन बाँकी छ । यो अभियान कोशी प्रदेशको सोलुखम्बु पुगेर टुंगिनेछ । माओवादीको हुलाकी राजमार्ग केन्द्रीत अभियान झापाको कचनकवलबाट सुरु भइ कञ्चनपुर पुगेर टुंगिएको थियो । अर्थात् सबभन्दा होचो भूमि कचनकवलबाट सुरु भएर संसारको सर्वोच्च शिखर सगरमाथाको जिल्लामा पुगेर माओवादी अभियान टुंगिदैछ । पार्टी सच्चिएको सन्देश दिने प्रयोजनका निम्ति माओवादीले यो अभियान चलाएको देखिन्छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित माओवादी नेताहरुका सार्वजनिक अभिव्यक्ति र पार्टी निर्णयले पनि आफुहरु सच्चिएको प्रतिबद्धता जनाउने प्रयास भइरहेकै पुष्टि हुन्छ ।
विशेषगरी अध्यक्ष प्रचण्डले लगातार आफूहरु सच्चिएको बताइरहेका छन् । जनयुद्धका बेला र २०६४ सालको चुनावमा आफूसँग रहेको जनतासँग पार्टीको सम्बन्ध टाढा हुनुको गल्ती स्वीकारोक्ति पनि प्रचण्डले गरिरहेका छन् । विशेषगरी महिला, मजदुर, किसान, दलित, भूमिहीन, सुकुम्बासी, जनजाती, मधेशी, मुस्लिम समुदायसँगको सम्बन्धबाट पार्टी टाढा पुगेको उनको स्वीकारोक्ति छ । प्रचण्डको विश्लेषण तथ्यसंगत नै देखिन्छ । किनकि सशस्त्र विद्रोह र २०६४ सालको चुनावताका माओवादीले उपेक्षित वर्ग समुदायको पक्षमा चर्को आवाज उठाएको थियो । वर्गीय मुक्ति मोर्चा बनाएरै युद्ध लडेको थियो, राजनीतिक संघर्ष गरेको थियो ।
तर संसदीय राजनीतिमा सामेल भएसँगै माओवादीले आफ्नो एजेण्डा बिस्तारै छोड्दै गयो । नेतृत्व र नेताहरुको ध्यान निरन्तर सत्तामा गयो । चारपटक सरकारको नेतृत्व गरेको माओवादी एकप्रकारले सदावहार सत्तारुढ शक्तिजस्तो देखियो । २०७२ साल भदौमा सत्तामा गएको माओवादी गत वर्ष साउनसम्म (बीचको छोटो अवधि बाहेक) ९ वर्षसम्म सरकारमै बस्यो । सत्तादेखि सत्तासम्मको यात्रामा माओवादीले विगतका एजेण्डा बिर्सिएको थियो र निरन्तर शक्ति क्षयीकरण भोगिरहेको थियो । तर कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि माओवादी जनताको आँगनमा फर्किएको घोषणा सहित सच्चिने प्रतिबद्धता गरिरहेका छन् । यदि माओवादी सच्चिने निष्कर्ष सही हो भने लोकतन्त्र र स्वयं उसकै निम्ति पनि यो राम्रो निर्णय हो । किनकि संसदलाई बलियो प्रतिपक्ष चाहिएको छ भने समाजमा जिम्मेवार राजनीतिक शक्ति जरुरी परेको छ । माओवादीकै हकमा त सशस्त्र विद्रोहकालीन संघर्ष सम्झनु पनि जरुरी छ । त्यसैले माओवादीको यो अभियान मूलभूत रुपले स्वागतयोग्य छ । तर कार्यान्वयनमा भने फेरि पनि विश्वास गरिहाल्ने अवस्था छैन, यो शक्ति जुनसुकै बेला सत्ताको खेलमा फस्न सक्छ ।