कश्मीरमा १ जना नेपालीसहित २६ जना पर्यटकको ज्यान लिनेगरी भएको आतंकवादी हमलाका कारण भारत र पाकिस्तान एकअर्काविरुद्ध युद्धमै पुगे । २६ जनाको ज्यान लिने आतंकवादीलाई पाकिस्तानले आश्रय दिएको आरोपमा भारतले जबाफी आक्रमण गरेको थियो । विभिन्न ९ स्थानमा भारतले गरेको आक्रमणमा ३१ जनाको ज्यान गएको पाकिस्तानी अधिकारीहरूले दाबी गरेका थिए । भारतीय सेनाको आक्रमणमा मस्जिद र सर्वसाधारण नागरिक परेको पाकिस्तानी अधिकारीहरूले बताएका थिए । मस्जिद र सर्वसाधारणमाथि भारतीय आक्रमणको जबाफमा पाकिस्तानले पनि जबाफी आक्रमण गर्यो । केही दिन कश्मीरसहित भारत र पाकिस्तान युद्धमै होमिएका थिए । दुवै देशका सार्वजनिक गतिविधि, हवाई उडानसहितका गतिविधि रोकेर देश युद्धमा रहेको सन्देश दिइएको थियो । यद्यपि, अमेरिका, चीनलगायत देशहरूको दबाब र मध्यस्थतामा युद्धविराम भएको छ ।
भारत र पाकिस्तान युद्धविराम गर्न तयार भएका खबरले संसारलाई खुसी दिएको छ । तत्काललाई युद्ध टरेकामा बढी खुसी हुने देशहरूमा नेपाल अग्रभागमै पर्छ किनकि त्यो युद्धबाट धेरै नोक्सानी खेप्ने देशभित्र नेपाल पथ्र्यो । भारत र पाकिस्तान दुवै नेपालका दक्षिण एसियाली छिमेक हुन् । भारतसँग हाम्रो खुल्ला सीमा मात्र नभएर भारतीय सेनामै नेपाली युवकहरू छन् । युद्ध हुँदा भारतीय सेनाका तर्फबाट नेपालीहरूले युद्ध लड्नुपर्ने हुन्थ्यो । तसर्थ, युद्ध विरामको खुसियाली नेपाली समाजमा स्वाभाविक परिस्थिति हो ।
तर, हामीले युद्ध विरामको खुसी मनाएर मात्र पुग्दैन बरु यो युद्धका क्रममा देखिएका परिदृश्य र घटनाक्रमबाट नेपालले थुप्रै पाठ सिक्नुपर्ने छ । विशेषगरी छिमेक सम्बन्ध र मुलुकको परराष्ट्र नीतिबारे गम्भीर विमर्श आवश्यक देखिएको छ । कतिपयले सरकारले लिएका निर्णयहरूलाई सकारात्मक भनेका छन् भने कतिपयले सार्क अध्यक्ष राष्ट्रका हैसियतले खेल्नुपर्ने भूमिकामा नेपाल चुकेको विश्लेषण गरिरहेका छन् । हुनुपर्ने के थियो ? भयो के ? भन्नेबारे नेतृत्व पंक्तिले विमर्श गर्दा आगामी दिनका निम्ति सहज हुने छ । तर, कश्मीर युद्धबाट नेपालले अरू पाठ पनि सिक्नुपर्ने छ । राजनीति र धर्मको सीमारेखा प्रस्ट हुन नसक्नुको परिणाम हो, कश्मीर संकट । धार्मिक कट्टरतालाई राजनीतिक हतियार बनाइँदा भारत र पाकिस्तानबीचको तनाव कहिल्यै समाधान हुन नसक्ने जस्तो देखिएको छ । नेपाल जस्तो बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय मुलुकले कश्मीर घटनाबारे सिक्नुपर्ने यो अर्को महत्त्वपूर्ण शिक्षा हो ।