२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

नेपालमा बौद्ध परम्परा र धार्मिक समन्वय

२०८२ वैशाख २९ गते ०६:०५
नेपालमा बौद्ध परम्परा र धार्मिक समन्वय

–डा. उद्धव पुरी

नेपाल सनातन र बौद्ध धर्मको जननी भूमि हो । यी दुवै धर्मका भगवान् वा महान व्यक्तित्वहरू यसै भूमिमा जन्मेका छन् । सनातन धर्मका त अधिकांश वेद, पुराण र मन्त्रहरू पनि यहीँ तयार भएका हुन् । त्यसैले, भारत वर्षमा सत्ययुगदेखि परिचित देश नेपाल हो । यसलाई देव भूमि भनिएको छ ।

देवी देवताहरूकोे बास यही भएको छ । अहिले पनि प्राकृतिक रूपमा यति विशिष्ट हावापानी, मौसम वा मनमोहक वातावरण भएको स्थान सबैतिर भेटिँदैन । त्यसैले, नेपाल कुनै नयाँ देश होइन र यो वैदिकदेखि प्राचीन सभ्यताको इतिहास देखाउने खुल्ला संग्रहालय पनि हो ।

यहाँ मानिसको आगमन र बसोबासको पुरानै इतिहास छ । यहाँ संसारले मानेका प्राचीन धर्महरूमध्ये सनातन र बौद्ध धर्मको इतिहास छ । दुवै धर्म अहिलेसम्म पनि एकआपसमा समन्वयात्मक रूपमा चलिरहेका छन् । दुवैको धर्म र संस्कृतिको आध्यात्मिक एवं धार्मिक क्रियाकलापहरू गर्न नेपाल एक शान्तिपूर्ण धार्मिक एवं आध्यात्मिक भूमि बनेको छ । 

सनातन धर्मको शिव, विष्णु र बौद्धको गौतम बुद्धलगायत धेरै बुद्धहरू यहीँ छन् । उनीहरूको देवस्थल पनि यहीँ छ । दुवैका सांस्कृतिक गतिविधि र सांस्कृतिक सम्पदाहरू यहीँ छन् । दुवैको भाव मिश्रित कला कृतिहरू पनि यहीँ बनेका छन् । यस्तो धार्मिक र सांस्कृतिक समन्वय संसारको अरू देशहरूमा पाइँदैन किनभने नयाँ देशहरूमा धार्मिक विवाद र लडाइँ छ ।

कतैकतै शान्त देखिए पनि बहुमत भएका धर्म र संस्कृतिका मानिसहरूले अल्पमतमाथि दमन गरेका छन् र उनीहरूका धर्म र संस्कृतिका कुराहरू मेटाइरहेका छन् । 

नेपालको सनातन बौद्धबीच धेरै हदसम्म आपसी समन्वय भएको पाइन्छ । दुवै धर्मावलम्बीहरूले एकै साथ, एकै स्थानमा छुट्टाछुट्टै विधि र परम्पराले आफ्नो नियमति अभ्यास गर्छन् । दुवैले एकअर्काको अभ्यासलाई सम्मान र स्वीकार पनि गर्छन् । 

कतिपय अवस्थामा आफू सनातन हो कि बौद्ध हो भन्न पनि पर्वाह गर्दैनन् । त्यसैले, प्रायः सबैजसो मन्दिरसँग चैत्य जोडिएका छन् र चैत्यका नजिक सनातनी देवी–देवताहरू छन् । दुवैले दुवैको पूजा आराधना गर्छन् । चाडपर्वहरू मान्छन् । 

केवल फरक भित्री भेदमा देखिन्छ । दुवैले एकै थलो र एकै देवी–देवतालाई बेग्लाबेग्लै नाम र बेग्लाबेग्लै देवी–देवताका रूपमा मान्छन् । जस्तो कि स्वयम्भूको पश्मितर्फको चुचुरामा रहेको प्राचीन मन्दिरलाई सनातनीहरू सरस्वती मन्दिर मान्छ्न् भने बौद्धहरू मञ्जुश्री चैत्य मान्छन् ।

एकै स्थान र एकै देवलाई एउटाले महिला देवी र अर्कोले पुरुष देवता मानेको देखिन्छ । त्यहाँ सरस्वती र मञ्जुश्री दुवैका मूर्ति छैनन् । त्यो त्यसबेलादेखिको स्थल हो, जतिबेला मूर्ति निर्माणको प्रचलन पनि थिएन भन्ने छ ।

सरस्वती पूजाका दिन दुवै धार्मिक सम्प्रदायका मानिसहरू एकसाथ माघ शुक्ल वसन्त पञ्चमीका दिन त्यहाँ पुग्छन् । सनातनवालाहरू सरस्वतीलाई ज्ञानकी देवी वागेश्वरी मान्छन् भने बौद्धहरू मञ्जुश्रीलाई बोधिसत्व भनी वागेश्वराय मान्छन् । दुवैले आफ्नो विधि परम्पराअनुसार पूजा गर्छन् । विद्या र ज्ञान प्राप्ति र वृद्धिका लागि मान्छन् । 

बौद्ध धर्ममा बुद्ध र सनातनमा शिवको स्थान प्रमुख छ । बुद्धलाई सनातनवालाहरू आफ्नो भगवान् मान्छन् र अरू देवी–देवतालाई जस्तै पूजा पनि गर्छन् । कतिले त विष्णुका विभिन्न अवतारमा बुद्ध अवतारलाई पनि मानेका छन् ।

यता, सनातन धर्मका आराध्यदेव पशुपतिनाथलाई महायानी बौद्धहरूले पनि उत्तिकै आदरपूर्वक मान्छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । नेपालमा नवौं शताब्दीतिर तन्त्रमन्त्रको ज्यादै विकास भएको थियो । शैव तन्त्र बौद्ध तन्त्रको आफ्नो विशिष्ट स्थान बनाउन प्रतिस्पर्धात्मक लडाइँ भएको थियो भन्ने मानिन्छ । 

सनातन शैवमार्ग र महायान बौद्धको बज्रयानमा तन्त्रमन्त्रको महत्त्व रहन्छ । दुवैले आफ्नो मन्त्र शक्तिले नै पूजा आराधना गर्छन् । त्यस्तै, पशुपतिमा पनि यो चलन देखिन्छ । हरेक कात्तिक शुक्ल अष्टमीका दिन पशुपतिलाई बौद्धहरू बोधिसत्वका रूपमा बेग्लै पूजा गर्छन् ।

त्यसैगरी हरेक माघ शुक्ल चर्तुदशीका दिन पशुपतिलाई बुद्ध रूपको छाया दर्शन गराइन्छ । त्यसैगरी पशुपतिको शिव लिंगको दक्षिणतर्फको अघोर मुखलाई बोधिसत्वको रूप मानिन्छ । धेरैले यद नगरेको हुन सक्छ– पशुपति मन्दिरको बाहिरतर्फको दक्षिण भित्तामा एउटा ध्यानी वा स्थवीरवादी बुद्ध र उडिरहेको जस्तो आकाश योगिनी देख्न सकिन्छ । 

पशुपति बौद्ध र सनातनको समान्वयात्क धार्मिक स्थल हो भन्ने अर्को उदाहरण मन्दिरको पूर्वतर्फ बाग्मती नदीका किनाराको चट्टानको भीरमा २ गुफा छन् । ती गुफाहरू महायान बौद्ध धर्मका लागि अति नै महत्त्वपूर्ण अभ्यास स्थल हो, जहाँ नेपालबाट मात्र होइन, भारतबाट समेत बौद्धमार्गीहरू आउँछन्, जसलाई नरोपा र तिलोपा भनिन्छ ।

त्यही नजिकै चट्टान छ, जसले बाग्मतीलाई थुन्छ । मञ्जुश्रीले तलाउको पानी काटी पठाउँदा त्यहाँ पनि काटेका थिए । अन्यथा, उपत्यकाको सबै पनि बाहिर जान सक्दैन । मञ्जुश्रीले त्यही गुह्येश्वरीमा उनका साथमा रहेका २ श्रीमती र आफूसँग आएका अनुयायीहरू लगेर पूजा गरेका थिए । 

गुह्येश्वरी अर्थात् महादेवकी श्रीमती सतीदेवीको गुह्य अंग पतन भएको स्थान मानिन्छ भने बौद्धहरू गुह्येश्वरीलाई नैरात्म्य योगिनी भनी मान्छन् ।

नेपालमा बुद्ध पूर्णिमा वा जयन्ती र लुम्बिनी सबै नेपालीको पवित्र दिन र तीर्थस्थल हो । त्यसलाई मनाउन र मान्न सबै तयार हुन्छन् । नेपालमा रहेका मुसलमानहरू पनि यो परम्परागत र निरन्तर चल्दै आएको धार्मिक, सांस्कृतिक समन्वयमा सहभागीसमेत हुने गर्छन् । 

नेपालमा वैदिककालदेखि सनातन र बौद्धको आफ्नै गौरवमय इतिहास बन्दै आएको छ भने पछिल्लो समय वा मध्यकालदेखि मुसलमानहरू पनि यही मार्गमा जोडिएका छन् । नेपाल उपत्यका र त्यस बेलाका पहाडि राज्यहरूमा विभिन्न कारण र माध्यमबाट आएका मुसलमानहरू बौद्ध सनातन जस्तै नेपाली भएका छन् । उनीहरू आफ्नो धर्म र संस्कृति मान्छन् ।

बौद्ध सनातनको धर्म र परम्परामाथि पनि उत्तिकै सम्मानभाव राख्छन् । एकआपसमा चाडबाड मिलेर मान्छन् । मलामी र जन्त जान्छन् । ‘म नेपाली हुँ, नेपाल मेरो देश हो’ भन्छन् ।

तर, नेपालको विद्यमान धार्मिक संरचनामा पछिल्लो समय देखापरेको इसाईकरणले धेरै विविधीकरण गरिदिन थालेको छ । मित्रवत् र सम्मानित व्यवहारमा खेल्न र खेलाउन थालिएको छ ।

तर, सचेत हुँदै शान्त र सुन्दर नेपाल चाहने सनातन, बौद्ध र मुसलमानहरूले नेपाली समाजमा विद्यमान धार्मिक व्यवहारको समन्वयात्मक चरित्रभन्दा राम्रो र सुन्दर पक्ष अरू छैन भन्ने ठानेका छन् ।

ADV

सम्बन्धित खबर