सार्वजनिक विदासहित नेपालमा पनि १२१औं अन्तर्राष्ट्रिय श्रमिक दिवस बिहीबार मनाइएको छ । राजनीतिक परिवर्तनका उत्सवहरुकै रूपमा मनाइदै आएको अन्तर्राष्ट्रिय श्रमिक दिवसमा यसपटक पनि सडक प्रदर्शन, अन्तरक्रिया र सार्वजनिक बहस भयो । श्रमिकहरुको हक अधिकारकै बारेमा सरोकारवालाहरुले चिन्ता जनाएका छन् । यो दिवसको औचित्य नै श्रमिकहरुको हक अधिकारलाई सघन बनाउनु हो । सन् १८८६ को मे महिनामा अमेरिकी श्रमिकहरुले दैनिक ८ घण्टा कार्य समयको माग राखेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा गोली चल्यौं, कयौं प्रदर्शनकारीको ज्यान गयो । यद्यपि दैनिक १६ घण्टासम्म मजदुरहरुले काम गर्दै आएकोमा यो प्रदर्शनपछि ८ घण्टाको कार्य समय निर्धारण भयो । संसारभर अहिले ८ घण्टाकै कार्य समय निर्धारित छन् । त्यसैले अन्तर्राष्ट्रिय श्रमिक दिवस संसारभ मनाइदै आएको छ ।
कतिपयले श्रमिक दिवसलाई समाजवादी अभियान्ताहरुको अभियानसँग जोडेर प्रचार गर्छन् । उनीहरुका मत अनुसार समाजवादी कार्यदिशा बोक्नेहरुले श्रमिक दिवस र उनीहरुको दैनिक कार्य अवधिबारे वकालत गर्दै आएका छन् । यदि समाजवादीहरुकै एजेण्डा मान्ने हो भने पनि नेपालमा यो दिवस अर्थपूर्ण छ । किनकि नेपालको संविधानको प्रस्तावनाले नै समाजवाद उन्मुख समाजको कल्पना गरेको छ । सैद्धान्तिक कुरा छोडेर तथ्यहरुमै आधारित हुँदा पनि श्रमिकको आवाज देशको सवभन्दा बलियो र शक्तिशाली आवाज हुनुपर्छ । किनकि देश चल्ने मूल इन्जिन नै श्रमिक बनिसकेका छन् । सरकारी तथ्याङ्कहरुका अनुसार कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा सेवा श्रेत्रको योगदान ६२.४३ प्रतिशत छ । जीडीपीको दोस्रोमा कृषि २४.१२ प्रतिशत र तेस्रोमा उद्योग १३.४५ प्रतिशत छ । केही वर्ष अघिसम्म कृषि क्षेत्रको योगदान सवैभन्दा बढी थियो ।
मुलुकको ठूलो जनसंख्या कृषि क्षेत्रमै थिए । तर परम्परागत कृषि प्रणाली भत्किएर आम नागरिक सेवा र मजदुरी क्षेत्रतिर तीव्र रुपले तानिएका छन् । वैदेशिक रोजगारी अर्थतन्त्रको मूल क्षेत्र बनिरहेको छ । देशभित्र पनि बढ्दो उद्योग व्यवसाय, भौतिक पूर्वाधार निर्माण जस्ता क्षेत्रमा मजदुरी गर्नेको संख्या बढिरहेको छ । शहरीकरणले कृषकलाई मजदुरमा रुपान्तरित गरिरहेको छ । त्यसैले श्रमिक दिवसलाई विशेष रुपले सम्झन जरुरी छ । श्रमिकहरुको कल्याणलाई जोड दिएर नीतिगत व्यवस्था मिलाउन आवश्यक छ । तर अहिलेसम्म यो दिवसलाई औपचारिकताका निम्ति मात्र मनाउने गरिएको देखिन्छ ।