–अप्सरा गौतम
शिक्षा र राजनीतिलाई एउटै विषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका २ पांग्रा होइनन् । यी २ बीच निकै भिन्नता छ । झट्ट हेर्दा, विद्यालयदेखि उच्च शिक्षासम्म राजनीति व्याप्त छ । अब भाष्य नै सुधार्नुपर्ने देखिएको छ ।
शिक्षाले मानिसको अन्तरज्ञान उजागर गर्ने र मानिसलाई प्रशस्त उज्यालो मार्ग निर्देशन गर्छ, जसको परिणामस्वरूप त्यो देश र समाज अनि राजनीतिमा अमूल्य र गतिशील परिवर्तन आउँछ । शिक्षाको व्यक्ति र समाजसँग अन्तरसम्बन्ध हुन्छ भने समाजद्वारा नै राजनीति संचालन हुने गर्छ ।
त्यसैले, असल राजनीति र राजनीतिज्ञका लागि शिक्षाको ठूलो महत्त्व छ । शिक्षाबिनाको राजनीति अर्थहीन हुन्छ भने विकसित राजनीतिमा बौद्धिक समाजको आवश्यकता हुन्छ । बौद्धिक समाज शिक्षाबिना कल्पना गर्न सकिँदैन ।
राजनीतिक हस्तक्षेपका कारण नेपालमा शैक्षिक गतिविधि स्वतन्त्र रूपमा संचालित हुन सकेका छैनन् । शिक्षालाई राजनीतिमा मिसावट गरिँदा शैक्षिक गतिविधि नै प्रभावित भइरहेका छन् । विद्यालयदेखि विश्वविद्यालयसम्म पठनपाठन होइन, राजनीतिक गतिविधि हुन्छन्, जसको दुष्प्रभाव शैक्षिक संस्थाहरू सिक्ने थलो बन्न सकिरहेका छैनन् ।
शिक्षा त ज्ञानको ज्योति हो । शिक्षाले व्यक्ति र समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ । राजनीति त्यो हो, जसले देश र समाजलाई राज्यको नीतिभित्र रहेर परिवर्तन गराउँछ । राजनीतिको मूल उद्देश्य भनेको जनता, समाज र देशलाई आर्थिक साथै सामाजिक उन्नति, प्रगतितर्फ लैजानु हो तर अहिले राजनीति शिक्षण संस्थामा बढी हुने गरेको पाइन्छ ।
राजनीति गर्नेहरूले आफू नेतृत्वमा पुग्न शिक्षण संस्थालाई बढी प्रयोग गरेका पाइन्छ । आजभोलि राजनीति भन्नेबित्तिकै शिक्षण संस्था पनि परिचित हुन थालेको छ । अहिलेको अवस्था हेर्ने हो भने, गुणस्तरीय शिक्षा हासिल गर्न निजी विद्यालय नै जानुपर्छ भन्ने भाष्य सिर्जना भएको छ, जुन सरासर गलत हो ।
सरकारी र निजी छुट्याउने बहानामा सरकारी विद्यालयलाई कमजोर देखाउन थालिएको छ । सरकारी विद्यालय भनेको राजनीति गर्ने ठाउँ भन्ने भाष्य सिर्जना गर्ने शिक्षित वर्ग नै देखिएको छ ।
पछिल्लो समय शिक्षक, शिक्षिकामाथि कालोमोसो दल्ने, कुटपिट गर्नेेजस्ता घटनाहरू देखिएका छन्, जुन विद्यार्थी राजनीतिको विकृत रूपसमेत हो । हाम्रो देशमा प्रत्येक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव भएकाले राजनीतिकर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा असल भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्नेखालको शिक्षा आजको आवश्यकता हो ।
समयको मागअनुसार शिक्षाको विकास र विस्तार गर्न राजनीति केन्द्रित हुनुपर्ने हो । नेपालको सन्दर्भमा राजनीति भनेको हडताल, नाराबाजी, जुलुस, बन्द र अनशन जस्ता नकारात्मक कुरा मात्र हुन् भन्ने पाइन्छ । राजनीतिलाई एक फोहोरी खेलका रूपमा हेर्ने गरेको पाइन्छ, जुन गलत हो ।
राजनीति भनेको त आफैंमा एक विज्ञान हो । हामीले राजनीतिलाई राम्रोसँग अध्ययन–अनुसन्धान गर्यौं भने हामीले यसको महत्त्व बुझ्ने छौं । साँच्चै भन्ने हो भने, राजनीतिमा ऐतिहासिककालदेखि नै शिक्षाको ठूलो भूमिका रहिआएको छ ।
राणा शासन समाप्त हुँदा २ प्रतिशतभन्दा कम रहेको साक्षरता दर व्यवस्था परिवर्तनसँगै क्रमशः बढ्न थाल्यो । विभिन्न कालखण्डदेखि अहिलेको कालखण्डसम्म शिक्षा क्षेत्रमा भएको विकासका कारणले नेपालको साक्षरता दर ७६ दशमलव ३ प्रतिशत पुगेको छ । बिस्तारै शिक्षामा भएको विकासले गर्दा देशको राजनीतिको व्यवस्थामा पनि परिवर्तन आइरहेको छ ।
पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्था, गणतन्त्र व्यवस्था यो सबै शिक्षाको विकासका कारण नै राजनीतिमा भएको परिवर्तन हो तर, हाम्रो देशमा राजनीति गर्ने राजनीतिज्ञहरू भने कम शिक्षित छन् ।
अब विकास गर्नका लागि राजनीतिक मूल्य, मान्यतामा परिवर्तन ल्याउन युवा वर्गले राजनीतिमा प्रवेश गर्नुपर्छ । साथै, मानिसहरूलाई राजनीतिका नकारात्मक पक्ष मात्र होइन, सकारात्मक पक्ष पनि देखाउनु र बुझाउनुपर्छ । विद्यार्थीले कस्तो गुणस्तरको अपेक्षा गर्ने भन्ने आजको समस्या हो । शिक्षण संस्थाहरूमा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ ।
व्यावहारिक र नियमित आचारसंहिताको व्यवस्था कार्यान्वयन गरिनुपर्छ । राजनीतिकर्मीहरूले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताका कारणले शिक्षामा राजनीति गर्नेले उनीहरूको भूमिका के हुनुपर्ला भन्नेबारे सोच्नु जरुरी छ, जहाँबाट शिक्षामा हस्तक्षेपको राजनीति गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न टेवा पुग्छ । शिक्षामा राजनीति गरेर शैक्षिक वातावरणलाई तहसनहस बनाउने जोसुकैलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक बहिस्कारसमेत गर्ने नीति अवलम्बन गर्नुपर्ने हुन्छ ।
‘समृद्ध नेपाल : सुखी नेपाली’को सपना साकार पार्न दक्ष जनशक्ति उत्पादन गर्न साधन, स्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्छ । राजनीतिले शिक्षा नीति बनाउने र देशलाई विश्वसामु एक नमुना राष्ट्र बनाउन राजनीतिकर्मीको अहं भूमिका रहन्छ । राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनीकरण गर्नका लागिसमेत शिक्षाको अहं योगदान रहन्छ ।
शिक्षण संस्थामा आबद्ध शिक्षकदेखि उच्च पदाधिकारीहरूले विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर नीति, नियम, योजना निर्माण र कार्यान्वयन गरिनु अतिआवश्यक छ । सबैको कार्यदक्षताको मूल्यांकन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धिस्तरलाई प्रतिस्पर्धी श्रम बजारमा खपतका आधारमा प्रतिस्पर्धा गर्नुपर्छ ।
अब राजनीतिका नाममा आतंक फैलाएर शिक्षामा ह्रास आउने वातावरण अन्त्य गरिनुपर्छ । परम्परागत प्रवृत्तिबाट माथि उठेर समस्याको निकास खोज्न जरुरी देखिन्छ । संविधान, मुलुकको क्षमता र बालबालिकालाई केन्द्रबिन्दुमा राखेर शैक्षिक गतिविधिलाई संयमित र मर्यादित बनाउनु अहिलेको आवश्यकता हो ।