–नजरुल हसन फलाही
केही समयअघि भारतको कश्मीरमा भएको आतंककारी हमलामा २८ जनाले ज्यान गुमाउनुपरेको दुःखद् घटनाले सबैलाई स्तब्ध बनाएको छ । यस घटनामा १ नेपाली नागरिकको पनि दुःखद् निधन हुन पुग्यो । यो घोर अमानवीय, निर्दयी र कायरतापूर्ण आक्रमण थियो ।
जुन आतंकवादी मानसिकताले काश्मीरको घटना घटाइएको छ, त्यस्तै आतंकवादी मानसिकताका केही कट्टरपन्थी समूहहरूले हिन्दु धर्मको खोल ओढेर यस घटनालाई बहाना बनाई अनेक किसिमका उत्तेजित तथा अभद्र टिप्पणीहरू गरेर नेपालभित्र धार्मिक द्वन्द्व भड्काउने प्रयास गरिरहेका छन् ।
आतंकवादको कुनै धर्म हुँदैन । इस्लाम होस् वा हिन्दु धर्म वा कुनै पनि धर्मले हिंसा र द्वेषको समर्थन गर्दैन । कश्मीरमा केही आतंककारीहरूले कथित रूपले इस्लामको नाम लिएर मानवताविरोधी कार्य गरेजस्तै नेपालमा केही समूहहरू हिन्दु धर्मको नाममा मुस्लिम समुदायप्रति आक्रोश र घृणा फैलाउने प्रयास गरिरहेका छन् ।
अहिले उनीहरूले मुस्लिमहरूलाई आतंकित गरिरहेका छन् र बहुसंख्यक नेपाली जनतालाई मुस्लिमहरूका विरुद्धमा उक्साइरहेका छन् । शब्दमार्फत, अभिव्यक्तिमार्फत, सामाजिक संजालमार्फत उनीहरूले गरिरहेका यस्ता उत्तेजक गतिविधिहरू पनि आतंकवादकै स्वरूप हुन्, जसले समाजमा डर, द्वेष र विखण्डन निम्त्याउँछन् ।
संचार माध्यमहरूमा भनिएझैं यदि धर्म सोधेर पर्यटकहरूलाई मारिएको हो भने, त्यो गम्भीर विषय हो । तर, धेरै भारतीय मिडियाले यस दाबीको खण्डन गरेका छन् । घटनामा परेका तथा प्रत्यक्षदर्शीहरूले लुकेर हमला गरेका बताएका छन् । घटनामा ठूलो संख्यामा मुस्लिमहरूको पनि हताहत भएको छ ।
कश्मीरमा भएको यस घटनाबारे गम्भीर अनुसन्धान हुनु आवश्यक छ । यस घटनाको समय र प्रवृत्तिले यो कुनै विशेष आतंककारी उद्देश्य प्राप्त गर्न सुनियोजित षड्यन्त्र हुन सक्ने संकेत गरिरहेको छ । यसबारे भारतीय विश्लेषकहरूले समेत प्रश्न उठाएका छन् ।
अर्कातर्फ, ती आतंकवादीविरुद्ध कारबाही गरिएको कुरा पनि समाचारमा आएको छ । अर्थात्, उठाउनुपर्ने कदम पनि सम्बन्धित निकायले उठाएको छ । विश्लेषकहरूका शब्दमा त्यहाँ पर्यटकको सुरक्षा भारत सरकारले पहिल्यै सुनिश्चित गर्नुपथ्र्यो तर पर्यटकको घुइँचो लागेका ठाउँमा करिब आधा घण्टासम्म अप्रिय घटना भइरहँदा पनि सुरक्षा संयन्त्र पुगेको थिएन । आतंककारीलाई उम्कने अवसर दिइयो । यो गुप्तचर निकायको बिफलता हो ।
कश्मीर घटनापछि खासगरी तराई–मधेशमा ठूला–ठूला ब्यानर बनाई इस्लामविरोधी नारा लगाउँदै प्रदर्शनहरू भएका छन् । केही सांसदले सार्वजनिक मञ्चबाटै कश्मीरको घटनालाई आधार बनाएर नेपालका मुस्लिम समुदायमाथि निराधार आरोप लगाएका छन् । यस्तो आरोप–प्रत्यारोप निकै गम्भीर प्रकृतिको छ । नियोजित देखिन्छ । यसले समाजलाई थप गलत दिशातर्फ उद्यत गराउँछ ।
एउटा अन्तर्राष्ट्रिय घटनाको सन्दर्भमा एउटा सांसदले संवैधानिक निकाय मुस्लिम आयोगसँग जबाफ मागेका छन् । यो सरासर गलत र कानुनी अनभिज्ञताको नतिजा हो । अन्तर्राष्ट्रिय घटनाबारे परराष्ट्र मन्त्रालयले बोल्ने हो, कुनै संवैधानिक निकायले होइन ।
तर्क नै गर्ने हो भने, के टीकापुर घटनाबारे थारू आयोगले विज्ञप्ति निकालेको थियो र ? के म्यान्मारमा भएको नरसंहारबारे नेपाली बौद्ध समाजले माफी माग्नुपर्ने हो ? गुजरातमा गर्भवती महिलाको बलात्कारपछि पेट चिरेर बच्चा निकाली त्रिशूलमा लट्काएको घटनाप्रति नेपाली हिन्दु समाजले जबाफ दिनुपर्ने हो ? विदेशमा कुनै दलितले अपराध गर्दा नेपाल दलित आयोगले सफाइ दिनुपर्ने हो ?
निश्चित कुनै घटनालाई लिएर कुनै धर्म, जात, भाषा वा क्षेत्रका आधारमा द्वेष फैलाउने काम बन्द गरौं । चाहे इस्लामको नाममा होस्, चाहे हिन्दुको नाममा वा अन्य कसैको नाममा, आतंक फैलाउने, आतंकित नाराहरू लगाउने मानवका शत्रु हुन्, देशद्रोही हुन् । यस्ताबाट सचेत बनौं । अरूलाई सचेत गराऔं । शान्ति, सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिऔं । कुनै पनि धर्मविशेषका संवैधानिक संस्थाहरूमाथि अन्यायपूर्ण दबाब सिर्जना नगरौं ।
(लेखक इस्लामी संघ नेपालका अध्यक्ष हुन् ।)