२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

‘जनप्रतिनिधि जनताका कामदार हुन्’

पुर्ण कुमार
२०८२ वैशाख १० गते १७:५१
‘जनप्रतिनिधि जनताका कामदार हुन्’

डोल्पा : कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा माओबादी केन्द्र संसदीय दलका नेत राजकुमार शर्माले जनप्रतिनिधि जनताका कामदार भएको बताएका छन् । बुधबार नेकपा माओवादी केन्द्र ठूलीभेरी नगर कमिटीको तेस्रो नगर अधिवेशनमा पूर्वमुख्यमन्त्री शर्माले ठूलीभेरीलाई विगतमा अन्य पार्टीहरूको ‘हब’ मानिँदै आएको भए पनि अबको नेतृत्व माओवादी केन्द्रले गर्ने विश्वास व्यक्त गरे ।

उनले विभिन्न दलहरूबाट असन्तुष्ट भइ माओवादीमा प्रवेश गर्नेहरूप्रति धन्यवाद ज्ञापन गर्दै भने, ‘देशैभरि माओवादीप्रति जनआस्था बढ्दो क्रममा छ । पहिलो चरणमा तराई, दोस्रोमा पहाड, र तेस्रो चरणमा हिमाली क्षेत्रमा संगठन विस्तारको अभियान चल्नेछ ।’

शर्माले सामाजिक विभेदहरू अझै पनि बाँकी रहेको उल्लेख गर्दै सशक्त जनचेतनाको विकास आवश्यक रहेगको बताए । ‘बजेट कसैले चाबी लगाएर ल्याएको होइन, जनताले बगाएको पसिनाबाट आएको हो,’ उनले भने, ‘जनताले काम गरिदिन्छ भन्ने आशामा भोट हाल्छन् । जनप्रतिनिधि भनेको जनताको कामदार हो, मालिक जनता स्वयं हुन् ।’

उनले जनप्रतिनिधिहरूको काम जनताले मूल्यांकन गर्नुपर्ने बताउँदै जनस्तरमा चेतनाको आवश्यकता औंल्याए । आफू मुख्यमन्त्री हुँदाको समयमा डोल्पालाई विशेष प्राथमिकतामा राखिएको जानकारी पनि शर्माले दिए ।

शर्माले दलित, महिला र सीमान्तकृत वर्गहरूको वर्तमान स्थिति विगतको तुलनामा निकै परिवर्तन भएको उल्लेख गर्दै माओवादी आन्दोलनको योगदान अपरिहार्य रहेको धारणा राखे । उनले विगतका जनआन्दोलनहरूको स्मरण गर्दै ती आन्दोलनहरूले पुरानो संरचनात्मक व्यवस्थाको अन्त्यमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । अधिवेशनले संगठन विस्तार, स्थानीय विकास र सामाजिक न्यायका सवालमा आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर